५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबिच एकता



अ+ अ-

काठमाडौं । बृहत्तर वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबिच एकीकरण हुने भएको छ।
विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई(तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको हो। एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने छ। र, रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहनेछन्।

सिटिजन्स डिसकशन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह हो।

“राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपालीको नाम र शान” का लागि २०७१ सालमा भ्रष्टाचार विरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको हो।
सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुनेछन्। यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहने छ। एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ।

सिटिजन्स डिसकशन फोरमका संयोजक कर्ण बहादुर शाही भन्छन्, “विदेशीबाट परिचालित नभई नेपालीहरूबाटै स्वचालित राष्ट्रवादी शक्ति निर्माण नेपाली राजनीतिका लागि अत्यावश्यक भइसकेको छ। हामी त्यसैका लागि रूपान्तरणकारी नयाँ शक्ति निर्माणमा जुटेका हौँ। यो सुरुवात मात्र हो।”

राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी भन्छन्, “यो देशमा गत केही वर्षयता सङ्घीयता, धर्म निरपेक्षता, जातीयता तथा क्षेत्रीयताको भावनालाई उक्साएर सामाजिक दरार र विखण्डन ल्याउने प्रयास भयो र त्यसले देशको स्वाधीनता र सार्वभौमिकतालाई क्षयीकृत गरेको छ। त्यसलाई रोक्न सम्पूर्ण देशभक्त शक्तिहरू एकत्र हुनै पर्ने अवस्था आएको छ।”

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले रूपान्तरणकारी शक्ति निर्माणका लागि भएको यो एकता राष्ट्रिय राजनीतिको मार्ग परिवर्तन गरी देशको दूरगामी हित तथा विकास सुनिश्चित गर्ने दिशामा एउटा बलियो कदम भएको बताए। उनले यो देशमा शान्ति, स्थिरता, सुशासन र समतामूलक संवृद्धि चाहने र देशलाई शिरमा राख्ने सबै नागरिक, विभिन्न समूह तथा पार्टीहरूलाई निहित स्वार्थ, भ्रष्टता र कुशासनको चक्र तोड्नका लागि एकजुट हुन पनि आग्रह गरेका छन्।

अध्यक्ष मिश्रले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहका लागि प्रस्ताव गरेको र विवेकशील साझा पार्टीले हालै अनुमोदन गरेको “मार्ग परिवर्तनस् विचारभन्दा माथि देश” दस्ताबेजलाई एकीकृत पार्टीले अङ्गीकार गर्दै अघि बढ्नेछ। एकता घोषणा छिटै एक सार्वजनिक समारोहका माझ गरिने विवेकशील साझा पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो ।