१४ असार २०८३, आईतवार
,
Latest
अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि सहकारी नै चाहँदैनन् समर्थन मूल्यमा धान खरिद गर्न



अ+ अ-

झापा । सरकारले तोकेको समर्थन मूल्यमा धान खरिदका लागि जिल्लाका दुईवटा सहकारीले मात्र अनुमति लिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाले करिब एक महिनाअघि जारी गरेको सूचनामा दुईवटा संस्थाले मात्र आवेदन दिएका हुन् । यसले जिल्लाका सबै किसानले धानका उचित मूल्य नपाउने देखिएको छ ।

परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले गौरादहको महारानीझोडा साना किसान सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था गौरीगञ्जले मात्र कार्यालयमा निवेदन दिएकामा दुवैले पाएको बताउनुभयो । उहाँले सरकारले किसानलाई धानखेतीमा प्रोत्साहन गर्ने उद्देश्यले समर्थन मूल्य तोकीदिए पनि स्थानीय सरकार र कृषि सहकारीहरूको बेवास्ताका कारण समस्या भइरहेको बताउनुभयो ।

यस वर्ष सरकारले मोटा धानको समर्थन मूल्य रु दुई हजार ७५२ र मध्यम धानको रु दुई हजार ९०२ तोकेको छ । यसले किसानलाई राहत मिल्ने र बिचौलिया हाबी हुन नपाउने अवस्था सिर्जना भए पनि समर्थन मूल्यमा धान किनिदिने संस्थाको अभावमा केही समस्या भएको उहाँले बताउनुभयो ।

“सरकारले राम्रो कामको सुरुआत गरेको छ । किसानले धानको उचित मूल्य त पाउने भए तर यस विषयमा स्थानीय सरकारले आ–आफ्ना पालिकाका कृषि सहकारीसँग सहजीकरण नगरिदिँदा उनीहरु समर्थन मूल्यमा धान खरिद गर्न अनुमति लिनै आएनन्”, उहाँले भन्नुभयो । उहाँले स्थानीय सरकारले समेत किसानलाई राहत प्रदान गर्न आफैँ तोकेको मूल्यमा धान खरिद गर्न सक्ने भए पनि बेवास्ता गरिरहेको बताउनुभयो ।

गत वर्ष चारवटा सहकारीमार्फत सरकारले तोकेको समर्थन मूल्यमा किसानको धान खरिद गरिएको थियो । उहाँका अनुसार समर्थन मूल्यमा धान खरिद गरिदिने संस्थालाई सरकारले व्यवस्थापन खर्चवापत प्रतिक्विन्टल रु ११२ दिँदै आएको छ । उहाँले किसान अब सचेत भइसकेका र सरकारले तोकेको मूल्यमा समेत जानकारी राख्ने हुँदा धान खरिदमा बिचौलिया भने हाबी हुन नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले जिल्लामा कृषि सहकारी संस्थाले कृषिमा आधारित भएर काम गर्ने भनिए तापनि बचत र ऋणको मात्र कारोबार गर्ने गरेको आरोप लगाउनुभयो । कृषिलाई लक्ष्य गरेर खोलिएका सहकारीले समर्थन मूल्यमा धान खरिद गर्ने हो भने आफ्ना शेयर सदस्य र किसान दुवैलाई राहत मिल्ने उहाँले बताउनुभयो । उहाँले शेयर सदस्यले उत्पादन गरेका सामग्रीको प्रशोधन, बजारीकरण र भण्डारण सहकारी आफैँले गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँका अनुसार एउटा संस्थाले कम्तीमा पाँच हजार मेट्रिक टन र बढीमा १५ हजार मेट्रिक टनसमेत धान खरिद गर्न पाउने परियोजनाले व्यवस्था गरेको छ । महारानी झोडा कृषि सहकारी संस्थाका व्यवस्थापक चिरञ्जीवी भण्डारीले सहकारीले तिहारअघिदेखि नै किसानको समर्थन मूल्यमा धान खरिद गर्न सुरु गरेको बताउनुभयो । उहाँले परियोजनाले तोकिदिएको गौरादह, ४, ५ र ७ नं क्षेत्रका सबै किसानको धान खरिद गर्ने बताउनुभयो ।

उहाँले आफ्नो क्षेत्राधिकारबाट बाहिर गएर धान खरिद गर्न नमिल्ने हुँदा चाहेर पनि सबै किसानको धान खरिद गर्न नपाइने जानकारी दिनुभयो । झापा धानखेतीका लागि प्रमुख जिल्ला मानिन्छ । यहाँ ८७ हजार पाँच हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । रासस