२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनमा साढे सात करोड खर्च हुने अनुमान



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा रु सात करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । चितवनको नारायणी किनारमा यही मङ्सिर १० गते उद्घाटन र ११ र १२ गते सौराहामा बन्दसत्र हुने सो महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिअन्तर्गतको आर्थिक समितिका संयोजक विष्णु रिमालले केन्द्रीय कमिटीको दायित्वमा उक्त रकम पर्ने अनुमान गर्नुभएको हो । महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटलमा हुँदैछ । 

सो होटलमा करिब एक हजारदेखि एक हजार २०० सम्म प्रतिनिधिका लागि व्यवस्थापन गरिएको छ । थप प्रतिनिधिका लागि व्यवस्थापन गरिने जनाइएको छ । महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि चयन भइसकेका छन् भने त्यसको पाँच प्रतिशतसम्म मनोनीत हुनेछन् ।
       
“यो महाधिवेशनमा कति खर्च लाग्ला भन्ने आँकलन हामीले यसअघिका तीन वटा महाधिवेशन र एउटा विधान महाधिवेशनलाई हेरेर गरेका छौँ”, रिमालले भन्नुभयो । उहाँका अनुसार गत आठौँ महाधिवेशनमा करिब रु दुई करोड २५ लाख र नवौँ महाधिवेशनमा रु चार करोड २५ लाख खर्च भएको थियो । गत असोजमा ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा छ हजार चार सय ३५ प्रतिनिधिको उपस्थिति हुँदा करिब रु पाँच करोड खर्च भएको थियो । यी तीन महाधिवेशनको अङ्कलाई तुलना गरेर यो महाधिवेशनमा केन्द्रले दायित्व बोक्नुपर्ने लगभग सात करोड ५० लाख होला भन्ने आँकलन गरिएको नेता रिमालले बताउनुभयो । 

 एमालेले महाधिवेशनका लागि रसिद काटेर आर्थिक सङ्कलन नगरी पार्टी सदस्य र शुभेच्छुकबाटै अनलाइन प्रणालीबाट स्वेच्छिक सहयोग सङ्कलन गरिरहेको छ । एमालेले प्रत्येक पार्टी सदस्यलाई न्यूनतम सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्न आह्वान गरेको छ ।

एमालेमा पछिल्लो पटक नवीकरण भएका पार्टी सदस्यको सङ्ख्या आठ लाख ५५ हजार ४५३ छ । नेता रिमालले भन्नुभयो, “यसरी सदस्यबाट न्यूनतम् रकम लिएर महाधिवेशन गर्ने यो नेपालमा रहेका पार्टीका लागिसमेत उदाहरणीय अभियान हुनेछ भन्ने हामीले ठानेका छौँ । यसले पारदर्शितालाई पनि टेवा पुग्ने अपेक्षा गरेका छौँ । हामीले यो पटक यति रकम चाहियो भनेर कसैलाई पत्र काटेका छैनौँ, रसिद छापेका छैनौँ । यो प्रयोग हामीले नयाँ गरिरहेका छौँ ।”

प्रतिनिधि चयन अन्तिम चरणमा

महाधिवेशनका लागि हालसम्म ६७ जिल्लाबाट प्रतिनिधि चयन भएका छन् । एमाले केन्द्रीय कार्यालयमा बिहीबार साँझसम्म प्राप्त अनौपचारिक विवरणअनुसार अब १० जिल्लामा मात्रै प्रतिनिधि चयन हुन बाँकी छ । कैलाली र बझाङमा प्रतिनिधि चयनमा विवाद भएर रोकिएको छ भने बाँकी जिल्लामा प्रतिनिधि चयनको कार्य भइरहेको छ ।

हालसम्म ६७ जिल्लाबाट अहिलेसम्म एक हजार १८२ जना प्रतिनिधि छनोट भइसकेका छन् । तीमध्ये खुलाबाट ७४०, महिला ३०४, उत्पीडित १३६ र २ जना मजदुरबाट चयन भएका छन् । एमालेले पार्टीका हरेक निकायमा ३३ प्रतिशत महिला सुनिश्चित गरेसँगै प्रतिनिधि छनोटमा महिला उपस्थिति उल्लेख्य रहेको छ । एमाले सङ्गठन विभागले प्रतिनिधिको अभिलेखीकरण गरिरहेको छ ।

वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सबै जिल्लामा प्रतिनिधि छनोट भएको छ भने प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी र रौतहट तथा सुदूरपश्चिम प्रदेशका बाजुरा र कैलालीमा प्रतिनिधि छनोटले पूर्णता पाउन बाँकी छ । रासस