• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल जारी छ: मन्त्री चौधरी ★   कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु ★   वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन ★   सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन ★   पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न ★   नयाँ दिल्लीको म्याक्स अस्पतालमा आरजु देउवाको शल्यक्रिया ★   टरवाइनको परीक्षण अन्तिम चरणमा ★   विश्वकपको यात्रा गर्नु खुशीको क्षण: प्रशिक्षक मोन्टी देसाई ★   २०८१ माघ ११ मा चलचित्र ‘अञ्जिला’ रिलिज हुने ★   गोर्खा सैनिकले उठाएका मुद्दा न्यायोचित रुपमा सम्बोधन हुने गृहमन्त्री लामिछानेको अपेक्षा

राष्ट्र विकासमा ईंटा थप्न मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ



टिबी कार्की –
सचिव तथा उपाध्यक्षका प्रत्यासी, एनआरएन –

सन् १९७४ जनवरीमा मोरङको उर्लाबारीमा जन्मिएर खाडी मुलुक कतारमा सफल ब्यवसायी बन्नुभएका टिवी कार्की एनआरएन अभियानको सुरुवातदेखि नै सक्रिय हुनुहुन्छ । एनआरएनका वर्तमान कार्य समितिका सचिव कार्की कुशल र सक्रिय मात्र होइन, एनआरएनका हरेक अभियानमा सरिक हुँदै आउनु भएको छ । एनआरएन कतारको सदस्य, आइसीसी सदस्य हुँदै एनआरएन आइसीसीको सचिव पद सम्हालिरहनुभएका कार्की अहिले एनआरएन आइसीसीको बैदेशिक रोजगार कार्यदलको संयोजक पनि हुनुहुन्छ । एनआरएन अभियानको दौरानमा उहाँको कार्यकालमा बैदेशिक रोजगारको क्षेत्रमा उल्लेखनीय काम भएका छन् । उहाँकै कार्यकालमा वैदेशिक रोजगारका विषयलाई लिएर सरकार र सरोकारवाला निकायमा २२ पटक भन्दा बढी डेलिगेशन गएर धेरै बुँदाहरुमा सुनुवाई भइसकेको छ । एनआरएनहरुलाई नेपाली नागरिकताको निरन्तरता, सामूहिक लगानी, एनआरएनको परोपकारी कार्यमा जोडदार साथ दिँदै आउनु भएको छ, उहाँले । नेतृत्वमा अब्वल मानिएका कार्की एनआरएनए अभियानमा मध्यपूर्वका उदयमान नक्षत्रका रुपमा देखा पर्नुभएको छ । एनआरएनको संस्थागत विकास, एनआरएनमार्फत राष्ट्र विकास, परोपकारी कार्य गर्न र एनआरएनको अभियानलाई निरन्तरता दिनका लागि कार्कीले आगामी नेतृत्वका लागि एनआरएनएको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । उहाँसँग एनआरएनको अभियान, उपाध्यक्ष पदको उम्मेदवारीका विषयमा केन्द्रीत रहेर गरिएको यो छोटो कुराकानी-

 गैरआवासीय नेपाली संघको यही अक्टोबरमा हुन गैरहेको नयाँ नेतृत्वका लागि तपार्इंले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ, तपाईको उम्मेदवारी के का लागि ?
– म अहिले एनआरएनको सचिव हुँ । सचिवका रुपमा मैले जति गरें, सबैलाई छर्लंग छ । एनआरएन अभियानमा सुरुवातदेखि नै संलग्न छ । अबका दिनमा पनि यही अभियानमा सक्रिय दिने अठोट लिएको छु । बाहिर बसेर भन्दा संस्थाभित्रै बसेर यो अभियानलाई सशक्त रुपमा अगाडि सकिन्छ । त्यहीकारण मैले सचिवबाट उपाध्यक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको हो । फेरी एनआरएनको यो अभियानमा मेरो लामो अनुभव पनि छ । एनआरएनएको संस्थागत सुदृढिकरण, सवलीकरणका साथै विदेशमा रहेका ३० लाखभन्दा बढी नेपालीहरुको दुःखसुखको साथी बन्न, अनि राष्ट्र विकासमा ईंटा थप्न मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।

० तपाई वर्तमान कार्यसमितिमा सचिव हुनुहुन्छ, यसबीचमा तपाईले के काम गर्नुभयो र फेरी संघको नेतृत्वमै दावेदारी दिइरहनुभएको छ ?
– संघको उद्देश्य र मेरो कार्य क्षेत्रले निर्देश गरे बमोजिम एनआरएनलाई सँधै एकतावद्ध र संगठित पार्ने अभियानमा निरन्तर सक्रिय रहें । खासमा मेरो जिम्मेवारी वैदेशिक रोजगार कार्यदलको संयोजक हो, त्यसको नेतृत्वकर्ताको रुपमा मैले बैदेशिक रोजगारीमा रहेका २३ लाखभन्दा बढी नेपालीको सुरक्षित आप्रावासन कसरी गर्न सकिन्छ भन्ने सवालमा दिनरात नभनी काम गरिरहें । यिनै विषयलाई लिएर सरकार र सरोकारवाला निकायमा २२ पटक भन्दा बढी त डेलिगेशन नै गइयो । हाम्रा धेरै मागहरु पूरा भएका छन्, केही हुँदैछन् पनि । केही अपूरा कामहरु आगामी कार्यकालमा गर्ने मेरो योजना छ ।

० धेरै काम गरें त भन्नुभयो, के काम भएका छन् ?
– हाम्रो पहलमा ओमान र बहराइनमा नेपाली दुतावासको स्थापना भइसकेको छ । दुतावास स्थापना भएका ठाउँमा देखिएको कर्मचारीको अभाव समाधानका लागि भएका पहल पनि सफल भएका छन् । कतिपय देशमा अझै कर्मचारीको संख्या अपुग छ । हरेक दुतावासमा एनआरएन डेक्स स्थापना भइसकेको छ । नेपालवाट विदेश जाँदा पुनः श्रम स्वीकृति लिने काम सहज र सरल भएको छ । बैदेशिक रोजगार प्रबद्र्धन बोर्डवाट विदेशमा मृत नेपालीहरुको शव स्वदेश फर्काउनका लागि छिटो—छरितो बनाउन सकिएको छ । विदेश फर्किंदा ल्याइएका सामानहरुमा भन्सार लिन नहुने आवाज सुनुवाइ भइ कार्यान्वयन भएको छ । मेरै कार्यकालमा मैले गर्नुपर्ने एक परोपकारी कार्यअन्तर्गत मोरङ इटहरा र गोविन्दपुरमा पाँच लाख रुपैंया हस्तान्तरण गरिसकेको छु ।

० तपाईहरु नेतृत्वको लडाई लडिरहँदा संघ भने स्थापना भएको १० बर्षसम्म पनि नेपालमा दर्ता हुन सकेको छैन, किन ?
– हो, अझै संघ दर्ता गर्न नसकिएकै हो । हाम्रो विधान र नेपाल सरकारको ऐन बाझिएको छ । मलाई लाग्छ अब आउने कार्यकालमा राज्यले आºनो ऐनमा परिबर्तन गरी सहज रुपमा संघ दर्ता गर्ने बाटो खोल्नेछ ।

० अहिलेसम्म उपाध्यक्ष पदका लागि धेरैको उम्मेदवारी आएको छ, उपाध्यक्षका लागि म नैं योग्य छु भन्ने आधार के छ तपाईसँग?
– स्थापनाकालदेखि निरन्तर म एआरएनको हरेक अभियानमा सक्रिय छु । संस्थाले सुम्पेको हरेक जिम्मेवारी सफल रुपमा कार्यान्वयन गरेको छु । एनआरएनका हरेक काममा अहोरात्र खटेको छु । एनआरएनको अभियानलाई नयाँपन र शसक्त बनाउन लागि मैले हरतरह कोसिस गरेको छु । एनआरएनका अग्रज तथा साथीहरुले मेरो अनुभव, मेरो कार्य दक्षता र विगतमा मैले गरेका कामका आधारमा सर्वसम्मत मलाई उपाध्यक्षमा चयन गर्नुहुनेछ भन्ने मेरो आत्मविश्वास छ ।

० तर एनआरएनहरु एजेण्डा बनाउँछन अनि हल्लामात्र गर्छन भन्ने आरोप बर्षौंदेखि लाग्दै आइरहेको छ, तपाइसँग यी एजेण्डा पूरा गर्ने आधार के छन त ?
– सत्य हो, यस्ता आरोप लाग्छन् । तर, सबैको हकमा यो लागू हुँदैन । म काममा विश्वास गर्छु । संघ स्थापनाको यो एकदशकसम्म हामीले संस्थाको परिचय, समस्या पहिचान र सञ्जालको निर्माणमा समर्पित गर्यौं । संगठन सुदृढिकरणको अतिरिक्त लगानीका आधारहरु तयार गर्नमा खर्चियौं । अबको दशक एनआरएनको लगानी दशक रहनेछ । सीप, ज्ञान र पूँजीको लगानी गरेर देश निर्माणमा संसारभरिका थुप्रै एनआरएनहरु लगानीका लागि जुटिसक्नु भएको छ । हामीले एनआरएन इन्भेष्टमेन्ट कम्पनीमा मात्रै झण्डै एक अर्ब रकम जम्मा गर्ने निश्चित गरेका छौ । अव एनआरएनहरुले देखिने गरी काम गर्छन, ढुक्क हुनुस् ।

० अन्त्यमा विश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई तपाईं के भन्न चाहनुहुन्छ ?
– विश्वमा छरिएर रहनुभएका सम्पूर्ण गैरआवासीय नेपाली मित्रहरुप्रति मेरो सम्मान छ । हामी संघमार्फत विश्वभरका गैरआवासीय नेपालीहरुलाई एकसुत्रमा बाँध्ने अभियानमा छौं । मलाई तपाईंहरुले काम गर्न एक कार्यकाल सचिव बनाउनुभयो, अब उपाध्यक्ष पदमा पनि यहाँहरुको साथ, समर्थन र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु । मैले यो पद गरिमामय सम्मानमात्र होइन, जटिल जिम्मेदारी समेत ठानेको छु । अन्त्यमा सम्पूर्ण गैरआवासीय तथा नेपाल भित्र रहनुभएका दाजुभाइ, दिदीबहिनीहरुलाई विजया दशमी तथा शुभ दीपावाली र इदको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।