६ मंसिर २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान चर्कों बिरोध र समर्थनको शिकार



अ+ अ-
  • दिल साहनी

नेपाली संसारको यो असार महिना कि धानको कुरा गरेर बित्ने भयो । कि संविधानका कुरा गरेर । हुन सक्दछ धान र संविधानले नेपाली जीवनलाई निकै प्रभाव पारेको छ । यतिबेला धानका कुरा केही कम भएका छन् । धेरै नै कम भएका छन् । असारको पन्ध्रह गएर पनि होला । सिंगो असार नगए पनि । यस्तो पनि हुन सक्दछ संविधानको कुराले धानका कुरालाई ओझेलमा पारिदिएको छ । गौण तुल्याइदिएको छ ।
संविधानसभाले बल्ल बल्ल नेपालको संविधानको मस्यौदा बाहिर ल्याई पनि सक्यो । पहिलो मसौदा जनता सामु ल्याउनु पनि चानचुने कुरा भने अवश्य होइन । हुन त भावी संविधानको मसौदा राजनैतिक दलले पाँच छ बर्ष अघि नै ल्याउनु पर्दथ्यो । तै पनि छ सात बर्ष लगाएर भए पनि सांसदहरूले संविधान बाहिर ल्याए । संंविधानको मसौदा बाहिर ल्याए । यसलाई उनीहरूको निकै ठूलो सफलता मान्नु पर्दछ । सगरमाथामा आरोहण गरे जस्तै सफलता । आखिर दोस्रो संविधानसभाबाट पनि हाम्रा राजनैतिक दलहरूले संविधानको मसौदा पनि बाहिर ल्याउन सक्दैनन् होला जस्तो लागेको थियो । तर ल्याए । शायद उनीहरू धन्यवादका पात्र पनि बनेका होलान् ।
अब त संविधान आउने भयो भनेर जनता खुशी नै होलान् जस्तो लाग्दछ । जनताले राजनैतिक दललाई धारे हात लगाउँर्दै गाली गलौज गर्न छोडे होलान् जस्तो लाग्दैछ । तर पनि के पनि साँचो हो भने अब त संविधान आउने भयो भनेर केही मानिसहरू बत्ती बालेर त्यसको स्वागत गर्न बसेका भए पनि केही मानिसहरू त फेरि दिया सलाई लिएर पनि बसेका छन् । यसको अर्थ यही हुन्छ संविधान आए पछि त्यसलाई बत्ती बालेर स्वागत गर्ने र त्यसलाई दिया सलाई पारेर जलाउने काम साथसाथै चल्ने छ । परिवेश यस्तो देखिएको छ । परिवश यसरी बिकसित हुँदै गएको छ ।
मलाई लाग्दछ यस्तो संविधान नेपालको संविधानको इतिहासमा कहिले लेखिएको थिएन । राणाहरूले संविधान लेखे । त्यसको विरोध त भयो । तर त्यस्तो चर्को बिरोध भएन । राजाले संविधान लेखे । त्यसको बिरोध त भयो । तर त्यसको त्यस्तो चर्को विरोध भएन । पंंचहरूले पनि संविधान लेखे । उनीहरूले लेखेको संविधानको बिरोध त भयो । तर त्यस्तो चर्को बिरोध भएन । बहुदलवादी वा संसदवादीहरूले पनि संविधान लेखे । उनीहरूले लेखेको संविधानको बिरोध त अवश्य भयो । तर पनि त्यति चर्को बिरोध भएन । मलाई लाग्दछ ६०१ सांंसदहरूले लेखेको यस संविधानको त स्वागतभन्दा पनि बढी चर्को बिरोध हुन्छ होला । जब कि यस संविधानको कत्ति पनि बिरोध होइन बत्ती नै बालेर स्वागत नै स्वागत हुनु पर्दथ्यो । यस कारणले कि यस संविधानको खास विशेषता नै हाम्रो संविधान राम्रो संविधान बनाउनु थियो । सबैले अपनत्व अनुभुत गर्ने संविधान बनाउनु थियो । तर यतिबेला बिचार गर्दा यो संविधान सबैले अपनत्व अनुभव गर्ने भन्दा पनि कसैले अपनत्व अनुभूत नगर्ने संविधान बन्छ कि जस्तो अवस्था सृजित भएको जस्तो देखिन्छ । संविधान लेख्नेहरूले पनि आफूले चाहेको जस्तो संविधान नलेखेको जस्तो देखिन्छ । कता कता कसैको करकापमा गरेको कागज जस्तो देखिन्छ यो संविधान त ।
राजतन्त्रवादीहरूलाई यो संविधान मान्य छैन । किनकि यो संविधान राजतन्त्रात्मक होइन गणतन्त्रात्मक बन्दैछ भन्ने छ । मधेसवादी दलहरूलाई यो संविधान मान्य छैन किनकि यसमा संघीयताको स्वरुप छैन । किनकि ८ बटा संघीय राज्यको परिकल्पना गरे पनि कुर्नै नामांकन छैन । कुनै सीमांकन छैन । यस अर्थमा त यो संविधान दश गजा जस्तो देखिन्छ । संघीयता र केन्द्रिताबीचको दशगजा ।
जनजातिलाई यो संविधान मान्य छैन । उनीहरूलाई लागिरहेको छ यसले जनजातिले परिकल्पना गरेका संघीय राज्यको कुनै खाका दिएको छैन । यो संविधान जनजातिप्रति अनुदार छ ।
कुनै पनि माओवादीलाई यो संविधान मान्य छैन । यस कारण कि माओवादीहरूको संलग्नता र सहभागिता बिना बनिरहेको छ यो संििवधान । उनीहरूलाई पाखा राखेर लेखिएको छ यो संविधान । उनीहरूले बगाएको रगतको उपेक्षा गरेर लेखिएको छ यो संविधान । शहीदहरूको सपनाको अबमूल्यन गरेर लेखिएको छ यो संविधान । त्यसैले पनि उनीहरू १६ दलबाट बक्स भएको संविधानलाई अस्वीकार गर्न सक्दछन् । गरिरहेकै छन् ।
महिला खुशी छैनन् यस संविधानको मसौदाबाट । उनीहरूको भनाइ छ यो संविधानमा महिला र पुरुषलाई समान स्थानमा राखिएको छैन । संविधान महिलाको हकमा भेदभावकारी छ ।
पत्रकार खुशी छैनन् यस संविधानबाट । उनीहरू खुलेआम भनिरहेछन् यस संविधानले पत्रकारमाथि अंकुश लगाउने प्रावधान राखेको छ । यस संविधानले भोलि पत्रकारलाई जेल हाल्न सक्दछ । नेल हाल्न सक्दछ । उनीहरूको कलममा बिर्को लगाउन सक्दछ ।
यस संविधानबाट राप्रपा खुशी छैन । राप्रपा चाहन्छ नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्दछ । यो संविधान नेपाललाई हिन्दु राष्ट्र घोषित गर्न राजी नभएको हुनाले यो उसको लागि सुपाच्य संविधान हुन सक्दैन ।
कांग्रेसले लेखेको हो यो संविधान । कांग्रेस नै खुशी छैन यस संविधानबाट । उसलाई लागिरहेको छ यो त कता कता काटीकुटी कम्युनिष्टको जस्तो संविधान बन्ने भो । यस कारण कि यसमा बहुलवाद छैन । संविधानमा नेपाललाई हिन्दु राज्य घोषित गरिएको छैन । समाजवाद शब्द समेत राखिएको छ । रुसले समाजवाद मानेन भने कांग्रेसले किन समाजवाद मान्ने ? वी पीले जनतालाई आकर्षित गनै समाजवाद भने पनि कांग्रेस कहिले पनि समाजवाद समर्थक हुनै सक्दैन । त्यही भएर कांग्रेस सत्तामा गए पछि यसले समाजवादका जग बनेका सरकारी स्वामित्वमा भएका उद्योग धन्दालाई धमाधम नीजीकरणको नीतिले ध्वस्त पार्यो ।
एमाले पनि यो संविधानबाट खुशी छैन । ऊ खुशी त्यतिबेला हुन्थ्यो जब यस संविधानमा बहुदलीय जनवादका शब्दावलीहरूले ठाउँ पाउँथे । संविधानमा बहुदलीय जनवादका शब्दाबली पर्ने होइन भने भोलि उसले कदापि मदन भण्डारीको सपना पुरा गर्न सक्दैन । फेरि उसले आफ्नो सिद्धान्तलाई लागु गर्न सक्ने कुनै ढोका पनि खुला भएको देख्दैन । बहुदलीय जनवादको लागि त उसले अर्को क्रान्ति गर्नु पर्ने भो । अर्को संविधान लेख्न पर्ने भो । यो झमेलाको काम हो ।
एमाओवादी यस संविधानबाट खुशी छैन । यो संविधान एमाओवादीको इच्छा अनुसार बनेकै छैन । यो राष्ट्रपतीय प्रणालीमा आधारित छैन । उही भारतीय शासन प्रणालीको कर्बन कपी जस्तो छ यो संविधान । राष्ट्रपति पनि संसदबाट चुनिने । प्रधानमंत्री पनि संसदबाट चुनिने । राष्ट्रपति निमित्त नायक जस्ता हुने । प्रधानमंत्री हिटलर बन्न सक्ने । हिटलर हुन नसके कसैको पुच्छर हुन सक्ने । संघीय राज्यको संख्या पनि कांग्रेस वा एमाले भने जस्तै थोरै हुने । आफूले संसदीय व्यवस्थाभन्दा केही अघि बढेको र जनवादी व्यवस्थाभन्दा केही पछि हटेको संविधान लेख्न चाहेको । तर संविधान आखिर उँट जस्तो हुन पुगेको देखियो ।
चीजलाई यसरी हेर्दा यो संविधान लेख्नको लागि लेखेको जस्तो संविधान जस्तो देखिन्छ । दोबाटोमा टपरीमा राखेर पात्ला फाल्न लेखेको संविाधान जस्तो देखिन्छ । १६ दलले यसलाई जबरजस्ती संविधानसभामा स्थापित गर्न खोजे पनि यो चारैतिरबाट बिस्थापित हुन सक्ने संभावना दिन दुना रात चौगुना बढेर गएको छ ।
जस्तो संविधान बाहिर ल्याए पनि सकभार ज्यादाभन्दा ज्यादा दलहरूलाई समेटेर यो संविधान बाहिर आउनुृ पर्दथ्यो । कुरो त्यसो नभएर अन्ततः यो संविधान १६ दलको संविधान भएर संविधानसभाभित्र हुलियो । फेरि यो १६ दलकै संविधान भएर जनताको घर दैलोमा प्रवेश गर्दै छ । थाहा छैन कतिले यसलाई बत्ती बालेर स्वागत गर्ने हुन् कतिले यसलाई लौरो लाएर धपाउने हुन् । मुलुकलाई नेतृत्व दिन सक्ने दल वा नेता नभएर नै यस्तो भाडभैलो हुन थालेको हो ।
संविधान मुलुकमा शान्ति स्थापना गर्न चाहिएको हो । चीरकालसम्म शान्ति स्थापना गर्न नसके पनि केही कालसम्म शान्ति स्थापना गर्न संविधानसभाबाट संविधान ल्याउन खोजिएको हो । तर संविधानसभा पनि संविधानसभा जस्तो भएन ।, संविधान पनि जसरी लेखिनु पर्दथ्यो त्यसरी लेखिएन । यसैले यस संविधानको चारैतिर बिरोध र समर्थन हुन सक्दछ । यस संविधानको बिराध र समर्थनले फेरि अर्को द्वन्द्व पनि जन्माउन सक्दछ । नयाँ द्वन्द्व । अझ चर्को द्वन्द्व । यो कुरा हाम्रा अदुरदर्शी नेताले बुझ्न सक्दैनन् । बुझे पनि बुझ पचाउँछन् । यसैले यो मुलुक सधैं द्वन्द्वको ज्वालामुखीमाथि बसेको देखिन्छ ।
निश्चय पनि संविधानमा बहुमतको छाप लाएर बाहिर आए पछि कतिलाई कुसीं छोड्नु पर्ने पीरले अहिलेदखि नै पिरोलिरहेको छ । कतिलाई यो संविधान आए पछि सिंहदरवारमा जति भयानक भूकम्प आए पनि त्यहाँ आफ्ना तस्बीर पनि थप्न पाइन्छ भन्ने खुशीले उन्मादित पारिरहेको छ । जे होस् हजार ठक्कर खाएर भए पनि संविधान बाहिर आए पछि बाहिरिनेहरू बाहिरिने छन् । भित्रिनेहरू भित्रिने छन् । यस परिवर्तनलाई ठूलै परिवर्तन मान्नु पर्दछ । कुनै परिवर्तन नभएको यस घडीमा आखिर ।

 

Source : www.ekhabarnepal.com