• ८ आश्विन २०७९, शनिबार
  •      Sat Sep 24 2022
Logo
Latest
★   डा केसीको अनसन तोडियो, सरकारसंग १० बुँदे सहमति -सहमति पत्र सहित ★   खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने यमको सपना ★   आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ ★   चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने ★   देशभर ७४ जनामा सङ्क्रमण, एकको निधन ★   पूर्वाधार क्षेत्रको विकास विस्तारमा पूर्वाधार पत्रकारहरूको पनि महत्वपूर्ण भूमिका ★   ‘प्रेम गीत ३’ ले भारतमा पहिलो दिनमा कति कमायो ? ★   युरोप पुगेर चन्द्र ढकालले भने- यहाँको समृद्धि नेपाल भित्र्याऔँ ★   संस्थापन पक्षसँग कोइराला पक्ष आक्रोशित, समानुपातिकको उम्मेदवारी चयनमा एकलौटी गरेको आरोप ★   काँग्रेस संस्थापन पक्षसँग कोइराला पक्ष आक्रोशित

मटेलाको झोलुङ्गे पुल



सुनिल उलक

राणा प्रधानमन्त्रीहरुमा चन्द्रशम्शेरले भने धेरै बिबाह गरेनन् । केवल १५ वर्षको उमेरमा चन्द्र लोकभक्त लक्ष्मी देवीसंग बिबाह गरेका थिए । बि.सं. १९६१ माघ ३० गते चन्द्र लोकभक्त लक्ष्मी देवीको देहान्त भए पछि बि.सं. १९६२ मा बालकुमारीसंग बिबाह गरेका थिए । बालकुमारीसंग बिबाह गर्दा उनि बनारसमा बस्दथे । तर उनको माइती गाउँ जाजरकोट थियो । उनी जाजरकोटी राजा जङ्गबहादुर शाहकी नातिनी थिइन् । जाजरकोट दरवार पुग्न भेरी नदी तर्नुपर्ने बाध्यता थियो । वर्षातमा भेरीलाई डुङ्गाबाट पनि तर्न समस्या हुन्थ्यो । अझ गाउँलेको लागि त अझ कठिन थियो ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले देशैभर अति आबश्यक ठाउँमा पक्की आधुनिक झोलुङ्गे पुलहरु निर्माण गर्न थालेको थियो । राणाकालमा आफ्नो क्षेत्रमा आधुनिक पक्की झोलुङ्गे पुल निर्माणको लागि पनि अहिलेको झै माथिल्लो निकाय सम्म पहुँच हुनुपर्थ्यो । अन्यथा दुर्गम स्थानहरुमा पुलको आबश्यकता रहेको थाहा नै हुदैनथ्यो ।

जाजरकोटको भेरी नदीमा पुल राख्नको लागि चन्द्रशम्शेरकी रानी बालकुमारीले चन्द्रशम्शेरलाई आग्रह गरे । जसले गर्दा चन्द्रशम्शेरले तत्कालिन इञ्जिनियर कुमार नरसिंह राणालाई पुलको डिजाइन गर्न लगाए । पुलका सामग्रीहरुको लागि सम्पूर्ण जिम्मा बेलायतको स्कटल्याण्डमा रहेको जोन एम हेन्डरसन कम्पनीलाई नै दिइएको थियो ।

चन्द्रशम्शेरको अगुवाइमा बि.सं. १९५४ देखि नेपालमा झोलुङ्गे पुल राख्ने अभियान नै चलाएका थिए । यि झोलुङ्गे पुलहरु केवल काठमाडौको लागि बनाइएका थिएनन् । दुर्गम गाउँहरुमा पनि राखिएका थिए । ४० वर्ष अगाडिसम्म पनि गुलजार नभएका गाउँहरु नजिकैका खोलाहरुमा पनि झोलुङ्गे पुलहरु बनाइएका थिए । झोलुङ्गे पुलको लागि आबश्यक फलामे सामानहरुको लागि नजिकैको भारत होइन । यूरोपको एक छेउमा रहेको स्कटल्याण्डको उत्तरी शहर एबरडीनसंग नाता गाँसिएको थियो । भौगोलिक रुपले भनौ भने ७००० किमी भन्दा टाढा थियो । तर त्यहाँ देखि आजभन्दा ११८ वर्ष अगाडि फलामे सामग्रीहरु ल्याएर नेपालमा झोलुङ्गे पुलहरु बनाइएका थिए । अहिलेका दलिय नेताहरुमा त्यतिको सोच भेटिदैन ।

नेपालमा पहिलो झोलुङ्गे पुल बि.सं. १९५७ मा नुवाकोटको त्रिशुली नदीमा बनाइएको थियो । त्यसबेला झोलुङ्गे पुलका सम्पूर्ण निर्माण सामग्रीको जिम्मा भने स्कटल्याण्डको एबरडीनमा रहेको लुइस हार्पर एण्ड कम्पनीलाई दिइएको थियो । यस कम्पनीले बि.सं. १९६७ सम्म १० वर्षको अवधीमा नेपालमा जम्मा ७ वटा आधुनिक झोलुङ्गे पुलको निर्माण गरे । बिभिन्न कारणवश लुइस हार्पर एण्ड कम्पनीले बि.सं. १९६७ पछि झोलुङ्गे पुलको निर्माण सामग्री बनाउन बन्द गरे । तर नेपालले भने लुइस एण्ड हार्पर कम्पनी बन्द हुनु केही अगाडि नै स्कटल्याण्डको एबरडीनमा रहेको अर्को कम्पनी जोन एम हेन्डरसनलाई आधुनिक झोलुङ्गे पुल निर्माणको जिम्मा दिएको थियो । यस कम्पनीले भने नेपालमा सय भन्दा बढी झोलुङ्गे पुल बनाएका थिए ।

जोन एम हेन्डरसन कम्पनी, एबरडीन, स्कटल्याण्डमा रहेको पुल तथा अन्य कामको लागि आबश्यक फलामका लट्ठा तथा केबलहरु तैयार बनाउने कम्पनी थियो । यस कम्पनीका एक्ला मालिक जोन मैकडोनाल्ड हेन्डरसन एक प्रतिभाशाली इञ्जिनियर थिए । केही न केही नयाँ प्रयोग गरिरहने यि इञ्जिनियरले सन १८६६ मा आफ्नै कम्पनी खोलेर बिभिन्न निर्माण सामग्रीहरु तैयार गर्न थालेका थिए । १८८० सम्म आइपुग्दा फलामे पुलका सामग्रीहरु तैयार गर्न थालका थिए भने १९२७ मा आइपुग्दा पानीजहाज कारखाना पनि शुरु गरेका थिए ।

जोन एम हेन्डरसनले नेपालमा पहिलो झोलुङ्गे पुल सिन्धुली र रामेछापको बिचमा सुनकोशी नदी माथि खुर्कोटमा बि.सं. १९६४ बनाएका थिए । यसरी झोलुङ्गे पुल बनाउने जिम्मा पाएको जोन एम हेन्डरसनले जाजरकोटको मटेलामा पनि भेरी नदी माथि झोलुङ्गे पुल बनाउने जिम्मा पायो । डिजाइनका लागि इञ्जिनियर कुमार नरसिंह राणालाई जिम्मा दिइए पनि पुलको सर्भे गर्न भने बेलायती इञ्जिनियरहरु नै आएका थिए ।

झोलुङ्गे पुलका लागि आबश्यक सामग्रीहरु स्कटल्याण्ड देखि कलकत्ता सम्म पानी जहाजमा ल्याइएको थियो भने कलकत्ता देखि भारतीय शहर बहराइच सम्म रेलमा ल्याइएको थियो । बहराइचबाट भारतीय सिमा कोइलावास सम्म भारतीय मजदूरहरुले बोकेर ल्याइएको थियो । कोइलावासबाट मटेला सम्म भने हात्ती तथा जाजरकोटे जनताहरुले बोकेर ल्याएका थिए । सम्पूर्ण सामग्री ढुवानी गर्न स्थानिय जनता र २० वटा हात्तीलाई झण्डै दुइ महिना लागेको थियो । सयौ स्थानिय जनताले दुइ छाक खाना मात्र खाएर निशुल्क पुल निर्माणमा श्रमदान गरेका थिए ।

९० मीटर लामो यो पुल बि.सं. १९८२ मा तैयार भएको थियो । पुल तैयार भए पछि जनताहरु धेरै खुशि भएका थिए । राणा प्रधानमन्त्री चन्द्रशम्शेरको जयजयकार गरेका थिए । मटेलाको पुल नामले अहिले पनि प्रख्यात यो झोलुङ्गे पुल हाल भने जिर्ण हुन थालेको छ । हाल भेरी नगरपालिका वडा नं ११ मा रहेको यस पुलको समयमा नै संरक्षण तथा पूनर्निर्माणमा समयमा नै ध्यान नदिने हो भने मटेलाको पुल पनि इतिहासमा नै हराउन सक्नेछ ।

चन्द्रशम्शेरले मटेलाको पुल निर्माणको समयमा नै खलङ्गावासीलाई पिउने पानीको पनि समस्या रहेको अवगत गराए पछि खलङ्गामा १० वटा कलधारा पनि निर्माण गराएका थिए । बुदबुदीमा पानीको ट्याङ्की निर्माण गराइ खलङ्गा बजारमा बि.सं. १९८४ मा पानी आपूर्तिको ब्यबस्था गरिएको थियो । जाजरकोट दरवारमा एक, चन्द्रशम्शेरको ससुराली हरिबिक्रम शाहको घरमा एक, ठाँटीबजारमा एक तथा अन्य सर्वसाधारण जनताका लागि ६ वटा सार्वजनिक कलधारा जडान गरिएको थियो ।

(सुनिल उलकको फेसबुक वालबाट साभार)