२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

हुम्लाको लिमी उपत्यका: मान्छेसंगै भगवान पनि बसाई सर्दै ! (फोटो फिचर)

हुम्लाको लिमी उपत्यका: मान्छेसंगै भगवान पनि बसाई सर्दै ! (फोटो फिचर)
अ अ+ अ-

हुम्ला । ‘गाउँ गाउँमा सिंहदरबार र दैलोमा स्थानीय सरकार’ को नारा लगाएपनि दुर्गम हिमाली क्षेत्रका स्थानीयहरु न्युनतम आधारभुत सेवाको अभावमा बसाईं सर्न बाध्य भएका छन् ।

जलवायु परिवर्तजन्य समस्या र त्यस्ता समस्या खेप्न बाध्य आफ्ना नागरिकलाई सरकारले विशेष सहुलियत प्रदान गर्न नसक्दा अहिले हिमाली क्षेत्रका बस्तीहरु रित्तिन थालेका हुन् ।

कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको लिमी उपत्यकाको जाङ अहिले रित्तो भएको छ । २०५५ सालमा ६५ घरधुरी रहेको जाङका स्थानीयहरु बसाईं सरेर अन्यत्र गएका हुन् । अहिले गाउँमा ३ परिवारको मात्रै बसाईं छ । उनीहरु पनि बसाई सराईका लागि तयारी अवस्थामा छन् । बाटो माथि र बाटो तल दन्तलहर जसरी ढुंगाले कुँदिएका घरहरुमा ताल्चा लागेको छ । खेतीयोग्य फाँटहरु बाँझो छन् । अन्न बालीको लागि उर्वर जाँङका अधिकांश खेतीयोग्य जमिन घाँसले ढाकिएको छ । घाँसे मैदानको बीचमा काम गर्दै गरेका स्थानीय मिङमा थिङ्लेले तामाङ गाउँमा मान्छे नै नभएपछि खेती कसरी हुन्छ भनी प्रश्न गर्छन् ।

उनी भन्छन् ‘खेतमा ‘उवा’(एक प्रकारको हिमाली जौ) नहालेपछि केही हुँदैन । बीउ नहालेपछि केही हुँदैन । म एक्लै छु । खेत जोत्ने मान्छे छैन । सबै खेत छ । तर सबै घाँसै घास छ । नजोतेपछि के हुन्छ । सबै सरिसक्यो काठमाडौं तिर । ’

अर्का स्थानीयको गुनासो पनि मिङमा थिङलेले भन्दा फरक छैन । ‘गाउँमा मान्छे नै नभएपछि खेती कसरी हुन्छ ? ऊ सबै घरहरु रित्तो छ । हामी ३ घर मात्रै छौँ यहाँ । हामी पनि कहिले कता जाने भनेर बसिरहेका छौ । ’ बस्ती बीच ठडिएका बन्द घरहरुलाई देखाउँदै उनले भने,‘बस्ती सरिसक्यो । गाउँमा रहेको गुम्बा सार्ने सल्लाहा गर्न मान्छेहरु आएका छन् । धर्मशालामा मिटिङ छ । मान्छेहरु त्यहीँ भेटिन्छन् । मान्छे नै छैन यहाँ ।’ हिउँदमा घोडालाई खुवाउने घाँस उखेल्न व्यस्त भएका उनको अनुहारमा बस्ती खाली हुँदाको दिग्दारी प्रस्ट देखिन्थ्यो । ‘गाउँ त राम्रै छ । तर सबै काठमाडौं गइसके । ’

खाली भएको बस्तीका बारेमा धेरै बोल्न मन थिएन उनलाई । फेरि घाँस उखेल्नमै व्यस्त बने । अनकन्टार स्थान । सम्पर्कका लागि न सञ्चार छ न सवारी साधनको पहुँच । न त स्वास्थ्यउपचारको सुविधा । सिंगो लिमी उपत्यकाका तीन गाउँ मध्येको पहिलो गाउँ जाङमा बाँकी रहेका ३ घरपरिवारका सदस्यमा दुष्कर बन्दै गएको जीवनप्रतिको भय स्पष्ट देखिन्थ्यो । अनिश्चित गन्तव्यको भीमकाय ढुंगाले थिचिएको जस्तो अनुहारमा नैराश्यता सजिलै पढ्न सकिन्थ्यो ।

गुम्बा व्यवस्थापनका लागि आयोजना गरिएको बैठकमा सहभागी हुन जाङ पुगेका स्थानीय कुन्चोक पेम्बा लामा सरकारले हिमाली क्षेत्रका जनतालाई नहेरेका कारण बसाई सर्न बाध्य भएको दुखेसो गरे । उनले भने ‘समस्यै समस्या छ । न यहाँ स्वास्थ्य चौकी छ । बिरामी भएपछि हेलिकोप्टर हायर गर्नुपर्‍यो भने २० लाखसम्म खर्च हुन्छ । त्यो गाउँलेले तिर्न सक्दैनन् । शिक्षा प्राइमेरि स्कुल छ । अहिले त स्कुल पनि खालि हुन लागिसक्यो । उपचारका लागि चीनको ताक्लाकोट जानुपर्छ । उनीहरु (चीनीया) नेपाली सीमाभित्र मनपरि छिर्छन् तर हामीलाई छिर्न कडाई गरिन्छ । हाम्रै प्रशासनले हामीलाई कडाई गर्छ । सीमा पास लिन गाह्रो छ ।’

संघीयता आयो । राज्य सत्ताको बागडोर जनताका छोराछोरीले गरे तर लिमीबासीका लागि ती सबै दन्त्य कथा जस्तै छन् । उनले भने ‘आधारभुत सुविधा भएको भए आफ्नो जन्मस्थान छोडेर जान कसलाई मन हुन्छ र ? गाउँ गाउँमा सिंहदरबार पुगेको कुरा सबैले सुनेको हो । लिमी बासीले त्यो महशुस गरेको छैन । यहाँ त सरकारले आँखै देखेको छ जस्तो लाग्दैन । त्यही कारणले त मान्छेहरु बिस्थापित भएका छन् । सुविधायुक्त भएको भए को पो जान्छ र आफ्नो गाउँ छोडेर ? यस्तो रमाईलो ठाउँ छ । सरकार ठाउँ ठाउँमा आएको होला तर लिमीमा आएजस्तो मैले महसुस गरेको छैन ।’

स्थानीय तम्जी पेमा लामा सरकारले नहेरेपछि आफूहरु बसाई सर्न बाध्य भएको बताउँछन् । ‘ठाउँ एकदम राम्रो नै हो । पहिला ६० /६५ घरहरु थिए । मान्छे पनि धेरै नै थियो । पहिले हिउँदमा चौरीहरु तिब्बतमा चर्न जान्थ्यो, वर्षातमा हाम्रै गाउँमा चथ्र्यो । सरकारले नहेरेर गह्रो भयो । आफ्नै देशमा याकहरु,च्याङ्ग्रााहरु चराउनु भन्यो । चरनको लागि अर्को ठाउँ दिन्छौ भन्यो । तर चरनको व्यवस्था भएन । हामीले च्याङग्रााहरु, याकहरु बेच्यौँ । याकहरु त हिउँमा नै बस्ने जनावर हो । अन्त लगेर चरन नै हुँदैन । बाच्नै सक्दैन । सरकारले पानी, बाटो केही हेरेन । ’ मुलुकको राजनीतिक अस्थिरताप्रति जानकार उनले कुनैपनि सरकारले लिमीवासीको समस्या सम्बोधन नगरेको गुनासो गरे ।

 

लिमीमा कुनैपनि राजनैतिक दलको संगठन छैन । स्थानीय सरकारको नेतृत्वमा स्वतन्त्र उम्मेदवार आएका छन् । तर राजनितिक स्थिरता भने उनीहरु पनि चाहन्छन् । लामा भन्छन् ‘ जुन सरकार आएपनि हामीलाई हेरेको छैन । सरकार त २ /२ बर्षमा नै नयाँनयाँ आउँछ । घरको परिवार एकजना बिरामी भयो भने हेलिकप्टर ल्याउँदा १४/१५ लाख जान्छ । पहिला ६५ घरधुरी थियो । अहिले ३ परिवार मात्रै छ । बस्ती सरेपछि गुम्बा पनि सार्नुपर्ने भयो । काठमाण्डौको सुन्दरी जलस्थित गुम्बामा नै यहाँको गुम्बा पनि सार्ने निर्णय गरेर सामान सार्ने तयारीमा लागेका छौ । ’

२०७२ सालमा नेपालको संविधान जारी भएपछि दलहरुले गाउँ गाउँमा सिंहदरबार भन्दै मुलुकका सबै क्षेत्रमा विकासको मूल फुट्ने आश्वासन बाँडे । संघीयता कार्यान्वयको पहिलो ५ वर्ष सकिएर दोश्रो कार्यालयमा प्रवेश गर्दे गर्दा पनि ती दूरदराजका सर्वसाधारणले संघीयताको अनुभुति गर्न सकेनन् । नेपालकै सबै भन्दा ठूलो गाउँपालिका नाम्खाको वडा नम्बर ६ अन्र्तगतका तीनवटा गाउँ मध्येको एउटा गाउँ जाङ रित्तो भएपछि त्यसको झण्डै १० र १५ किलोमिटर दूरीमा रहेका हल्जी र तील गाउँमा पनि बसाईसराई प्रभाव पर्नसक्ने खतरा बढेको छ । वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ हिमाली क्षेत्रको बसाई सराई सुईटर फुकाले जस्तै हुने र एउटाले फुकालेपछि अर्कोले पनि फुकाल्ने भएकाले अन्य दुई गाउँमा पनि यसको प्रभाव पर्न सक्ने खतरा औल्याउछन् ।

उनले भने ‘ यो चाईना सिमानामा पर्यो । लिमी लाप्चाको नाकामा हामी बसिरहेका छौ । न यहाँ कुनै सुरक्षा निकाय छ । यहाँको सिमा सुरक्षा लिमिवासीले मात्रै गरेका छन् । अब यो जाँङबासीहरु तल जान थालेको छ । यो बर्ष यिनीहरु (जाँङका स्थानीय) गयो भयो त्यसपछि उता गाउँ(तील)को पनि जाला । त्यसपछि हाम्रो यो (हल्जी)को पनि जाला । पछि पछि पूरा लिमि नै तल झर्‍यो भने त यहाँ त सुरक्षा पनि छैन । केही पनि छैन । यो विषयमा संघ र प्रदेश सरकारले विशेष हेर्नुपर्ने देखिन्छ । ’

गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात लगायत न्युनतम आधाभुत सेवाको अभावमा स्थानीयहरु बसाईंसराई गर्न बाध्य भएका हुन् । आर्थिक उपार्जनको बलियो आधारसँगै, स्वास्थ्य, शिक्षा र यातायात पुर्वाधारको सहज व्यवस्था नगर्ने हो भने हिमाली क्षेत्रको बसाईसराईलाई नियन्त्रण गर्न सजह देखिँदैन ।

चीनको सबै भन्दा नजिकको सीमा लाप्चामा कुनैपनि सुरक्षा सयन्त्र छैन । सिमिकोट देखि झण्डै १ सय ५ किलोमिटरको दुरीमा कुनैपनि सुरक्षा निकायको उपस्थिति छैन । जाँङ र हल्जीको बीचमा नेपाल प्रहरीको सुरक्षा चेक पोष्ट छ । जसले न त सिमा सुरक्षामा प्रभावकारी उपस्थिति जनाउन सकेको छ न त गाउँलेको सुरक्षामा भुमिका निर्वाह गर्न सकेको छ । अहिले सो क्षेत्रमा लिमी बासी नै सीमा सुरक्षाकको रुपमा रहेका छन् । बसाईंसराई पछि गाईगोठ जानेहरु हुँदैनन् । खर्क जाने हुँदैनन् । यसले सीमा सुरक्षामा पनि प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।