६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
अ+ अ-

काठमाडौँ । आफूलाई बिहान शनिश्चरे अस्पताल पु¥याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो । जेनजी आन्दोलनका सहिद ज्ञानिन्द्र (गोपाल) सेढाईंका पिता धनपति सेढाईंलाई त्यो दिनको घटना सम्झँदा मन भारी हुन्छ । बोलाउने नाम गोपाल रहेका ज्ञानिन्द्र सेढार्इं एक साहस, सरलता र मित्रताका समर्पण भावका युवाका रुपमा स्थानीय रुपमा लोकप्रिय हुनुहुन्थ्यो ।

मुटुको टुक्राजस्तो छोरो गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मारिएपछि पिता धनपति र ७७ वर्षीया आमा गुनमाया सेढाईंका आँखा रसाउन थालिहाल्छ । पुत्र शोकले आमा गुनमायाका आँखा ओभाएका छैनन् । झापाको अर्जुनधारा नगरपालिका–११, विर्तामोडका सहिद गोपाल सेढाइँका आमा गुनमायाकोमा रासस प्रतिनिधि पुगेर घटनाका बारेका कुराकानी गर्न थालेपछि छोराको फोटो छातीमा राखेर उहाँले बिलौना गर्नुभयो, “मेरो गोपाल कहिले फर्कन्छ ?” सहिद गोपाललाई आन्दोलनका क्रममा बिर्तामोडमा गोली लागेको थियो । गोली लागेपछि नजिकैको बिएण्ड सी मेडिकल कलेजमा उपचारार्थ लगिएको थियो । अन्य घाइतेसँगै उपचार भइरहेका बेला गम्भीर घाइते गोपालको दुःखद् निधन भएको थियो ।

गत भदौ २४ गते बिहान रक्तदान गरेका गोपाल सेढाइले दिउँसो घर फर्किएर बुबालाई औषधि लिन शनिश्चरे अस्पताल पु¥याउनुभएको थियो । बुबासँगै घर फर्किएर आमा र बुबासँगै बसेर खाना खाएर गोपाल बाहिर निस्किनुभएको थियो । त्यसदिन गोपाल जागिरमा नगएर साथीहरूसँग बिर्तामोड बजारमा निस्कनुभएको थियो । त्यही क्रममा उहाँको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । करिब २ः३० बजे गोली लागेको थियो भने ४ः०० बजे अस्पतालले गोपाललाई मृत्यु घोषणा गरेको थियो । छातीमा गोली लागेका कारण गोपालको मृत्यु घटनास्थलमै भएको उहाँका साथी रामचन्द्र भण्डारीको भनाइ छ । अहिले पनि गोपालको गाउँ शोकमा छ । गाउँका सबै युवा शोकमा छन्, गोपालको परिवारमा छाएको शोकले बुबाआमाका आँखाबाट आँसुहरू अझै पनि रोकिएका छैनन् ।

योग गुरु गोपालका आमा गुनमाया मात्रै होइन, परिवारका सदस्य र स्थानीयवासी पनि शोकमा परे । विर्तामोडको एक साधारण परिवारलाई यस्तो कहिल्यै नसोचेको दुःख प¥यो भनेर छरछिमेकले पनि दुःख व्यक्त गर्न छाडेका छैनन् । गोपालको निधनले अर्जुनधारा नगरको सामाजिक उत्तरदायित्व, युवाको मनोबल, राजनीतिप्रतिको दृष्टिकोण र स्थानीय नेतृत्वको भूमिकालाई झक्झक्याइदिएको छ । गाउँ–सहरका चोकमा उठ्ने प्रश्नहरू, आमाबुबाको आक्रोश, दिदीको पीडा र साथीहरूको मौनता–सबै मिसिएर शोकमा चुर्लुम्म डुबेको थियो ।

नेपालभर असुरक्षा, भय र पश्चाताप फैलिएको त्यो समयमा अर्जुनधारा–११ को यो बस्ती भने शोकमा डुबेको थियो । दुःखद् घटनाको दिन सम्झँदै आमा गुनमाया भक्कानिँदै भन्नुहुन्छ, “ऊ बिहानै चिया खाएर निस्कन्थ्यो, गाईलाई घाँस हाल्थ्यो । आफ्ना घरायसी काम सकेर घर नजिकैको आयुर्वेदिक अस्पतालमा जागिरमा जान्थ्यो । बेलुका फर्किन्थ्यो । मलाई आमा के खानुभयो भनेर सोध्यो । अब यसरी मलाई सोध्ने गोपाल नफर्कने भयो…। बुढेसकालको हाम्रो सहारा सधैँका लागि अन्त्य भयो ।”

आमाको कुरा सुन्दा गोपालले बोक्ने सामाजिक चेतना, न्यायप्रतिको आकाङ्क्षा र युवाको भूमिकामा उहाँले दिएको महत्व स्पष्ट झल्किन्छ । अहिले आमा गुनमायाको मनमा पनि सहिदको चाहनाबमोजिम अब राजनीतिक नेतृत्वले मुलुकको निकासमा काम गरोस् भन्ने गहिरो अपेक्षा रहेको छ । नेपाल सरकारले जेनजी आन्दोलनमा मारिएका झापाका ज्ञानिन्द्रसहित ४५ जनालाई सहिद घोषणा गरेको छ ।

गोपालका ८३ वर्षीय बुबा धनपति सेढाईंको भने “मेरो छोरा दोषी नहुँदा उनलाई गोली किन हानियो ?” भन्ने प्रश्नको जवाफ खोजिरहनुभएको छ । गोपालका बुबा धनपतिले पुरानो घर देखाउँदै भन्नुभयो, “ऊ सेन्टी बेराको घरमा बसेर पढ्यो । यही घरबाट कलेज गयो अनि काठमाडौँमा पढाइसकेर घर फर्कियो र आफू बस्नको लागि चार वर्षअघि पक्की घरमा बस्ने रहर पालेर दाजुलाई सहयोग माग्यो र घर बनायो । हामी बुढेसकालका साहारा भएर उसकै आश्रयमा बसेका थियौँ । अब यही घरबाट उसको मङ्सिरमा बिहे गर्ने तयारी हुँदै थियो । सबै चकनाचुर भयो ।”

गोली लागेर छोरो कहिले नफर्कने गरी आफूहरुलाई छाडेर गएपछि धनपतिको सबै सपना सपनामै सीमित भएको छ । छोराको नाम लिनासाथ स्वर भारी हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “उ त भीडको बीच नारा लगाउँदै हिँडेको रहेछ । प्रहरीले हानेको गोलीले छातीमा लागेर पुर्लुक्कै ढल्यो रे । सँगै भएका साथीहरुले बिएनसी अस्पताल पु¥याएछन् तर गोपाल फर्किएन…”

यो आन्दोलनले राजनीतिक दलहरूलाई भन्दा बढी सर्वसाधारण युवालाई जोखिममा पारेको उहाँको बुझाइ रहेको छ । “हामीले राज्यलाई कर तिरेका छौँ, सुरक्षा मागेका छौँ, गोलीकै सामना गर्न होइन ।” बुबाको यो पीडा केबल व्यक्तिगत भावनामा मात्रै सीमित छैन, यसले स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मका संयन्त्र–प्रशासन र सुरक्षा निकायहरूलाई नै सुशासनको प्रश्नमा ध्यान दिन प्रेरित गरेको छ ।

गोपालकी दिदी तुलसा उहाँलाई भाइभन्दा बढी साथीका रुपमा सम्झनुहुन्छ । “म रिसाउँदा हाँसेर सम्झाउँथे । म भन्थेँ, समाज बदल्नुपर्छ । संसार यस्तै हो । तर उनी भन्ने गर्थे, ‘‘हामीले नै बदल्नुपर्छ, अरुलाई पर्खेर हुँदैन ।” आज उनी समाज बदल्ने हिम्मत गरेर सदाका लागि हामीबाट टाढा भएका छन् ।” अर्जुनधाराका नगर प्रमुख बलदेव गोमदेन पनि प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिने धेरै उपाय हुँदाहुँदै सुरक्षाकर्मीले यसरी गोली चलाउँदा गोपालजस्ता निर्दोष युवाको ज्यान गएकामा असन्तोष जनाउनुहुन्छ । उहाँले भन्नुभयो, “गोपाल जस्तो शान्त स्वभावको युवकको ज्यान जानु केबल एक शोक मात्र होइन, हाम्रो पालिकाको विश्वास र सुरक्षाको विषय हो । हामी झापालीले दिनेश राजवंशी र गोपाललाई गुमाएका छौँ, हामीले समाजलाई फेरि सुरक्षित महसुस गराउने वातावरण बनाउनैपर्छ ।”

सहिद गोपालका साथी सुजन सेवाकोटी गोपाल नहुँदा आफूहरुको समूह नै भत्किएको बताउनुहुन्छ । गोपालका सबैभन्दा नजिकका साथी शिवाकोटी आफ्नो अति मिल्ने साथी गुमाउँदा स्तब्ध भएको बताउनुहुन्छ । “हामी  साथीभाइहरु सधैँ विर्तामोडका चिया र कफी पसलमा भेट्थ्यौँ । अनि सचेत युवा समाज र आगामी आन्दोलनकाबारेमा कुरा गथ्र्यौं । गोपाल सधैँ भन्ने गर्थे, “हिंसा नगरौँ, आवाज बुलन्द गरौँ । तर विडम्बना उनैले हिंसाको प्रत्यक्ष शिकार भएर ज्यान गुमाउनुप¥योे ।”

सुजनका अनुसार गोपाल इमान्दार, सरल र मिलनसार हुनुहुन्थ्यो । आफ्नो धारणा स्पष्ट राख्ने र साथीहरूलाई देशको पछिल्लो अवस्थाबारे सम्झाउने उहाँको आदत थियो । अर्का साथी माधव झा गोपालको मृत्युले युवापुस्तालाई डर होइन अझ दृढ भएर लाग्न प्रेरणा मिलेको बताउनुहुन्छ । ‘मिसन विर्तामोड’ अभियान चलाउने झा गोपालसँग धेरै नजिकमा नभए पनि भेटघाटमा देश बनाउने अभियानकै कुरा गरेको सुनाउनुहुन्छ  । “उनको मृत्युपछि  विर्तामोड र अर्जुनधारा शोकमा डुबेको छ । आवाज दमन गर्ने कि आवाज उठाउने भन्ने उनको मृत्युले अब हाम्रो पुस्तालाई सशक्त रुपमा आवाज उठाउन बल दिएको छ ।”

माधवका अनुसार गोपालको मृत्युले झापाका युवाबीच एक किसिमको राजनीतिक चेतना बढाएको छ । अधिकारका लागि जिम्मेवार भएर उठ्नुपर्छ भन्ने चेतना वृद्धि भएको छ । अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनाम यो घटना केबल एक परिवारको दुःख होइन,  आफ्नो सिङ्गो वडाको दुःख भएको बताउनुहुन्छ । पहाड आठराइदेखि नै पारिवारिक सम्बन्धमा भएको यो सेढाईं परिवार झापा आजदेखि पनि आफूहरूकै आत्मीय सम्बन्धमा सहकार्य गर्दै अघि बढेको र यो घटनाले आफूलाई स्तब्ध बनाएको उहाँको भनाइ छ । रासस