काठमाडौँ, भदौ १० । नेपाली काँग्रेसको अनुशासन समितिले सभासद् अमरेशकुमार सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
कैलाली जिल्लामा सामाजिक सद्भावमा खलल पु-याउने गरी अभिव्यक्ति दिएकोले स्पष्टीकरण सोधिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।
कैलालीको टिकापुरमा केही दिनअघि सिंहले दिएको अभिव्यक्तिका विषयमा चौतर्फी आलोचना भएपछि काँग्रेस स्पष्टीकरण सोध्न बाध्य भएको हो । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सिंहले कैलाली घटनाको केही दिन अघि सामाजिक सदभावमा खलल पार्ने अभिब्यक्ति दिएको केही दिनभित्रै उनीहरुले भने अनुसार नै हिंसात्मक घटना भएको हो ।
सिंह र यादवलाई सो घटनाको मतियार मानेर कारबाही गर्न पनि चौतर्फी दवाब छ । उनीहरुको दिएको अभिब्यक्ति सम्बन्धी अडियो गृहमन्त्री बामदेव गौतमले संसदमा पनि पेश गरेका छन् । स्पष्टिकरण औपचारिकताका लागि हो वा स्पष्टिकरणपछि काँग्रेसले कारबाही प्रक्रिया अघि बढाउँछ त्यो भने हेर्न बाँकी नै छ ।