जोकिम न्हामिरे
मोन्टेपुज, मोजाम्बिक, १ असोज (रासस-एएफपी) ः मोजाम्बिकको उत्तरी क्षेत्रका गाउँलेहरुले माणिक, पद्मराग, मणी, रत्नजस्ता विभिन्न नामले चिनिने बहुमूल्य रुबीको उत्खनन् गर्न थालेको एक दशक बितिसकेको छ । परम्परागत स्थानीय शासक क्रिस्टीना जोकिमले यो रुबी गाउँलेका लागि विषाक्त भाँडो मात्र भएको बताउनुभयो ।
रुबीबाट धनदौलत र पुरस्कार पाउनुको साटो यहाँका गाउँलेले उत्पीडन र हिंसामात्र होइन स्थानीय प्रशासनले रुबीको प्रलोभनमा खेतीपाती गर्नबाट स्थानीयबासीलाई रोकेको छ ।
रुबीको भण्डार रहेको एन्थोरो गाउँ सबैजसो लडाकू समूह (ग्याङ) को पहिलो निशानामा पर्ने गरेको छ । प्रहरीको समेत संलग्नतामा यो समूहले स्थानीयका घरहरु भत्काउनुका साथै मानिसहरुलाई त्यहाँबाट लखेट्न शक्तिको प्रयोग गरेको पाइएको छ ।
करिब १२ हजार घरपरिवार रहेको यो गाउँमा प्रवेश गर्ने सडकमा गाउँलेलाई आतङ्कित पार्ने दर्जनौं सङ्केतहरु राखिएका छन् ः “तिमीहरु एमआरएमको खानी क्षेत्रमा बसोबास गरिरहेका छौ । यहाँ खेतीपाती गर्न, घर बनाउन वा कुनै उत्खनन् गर्न निषेध गरिएको छ ।”
लन्डनस्थित जेमफिल्ड्स कम्पनीबाट प्रबद्र्धित मोन्टेपुज रुबी माइनिङ (एमआरएम) ले सन् २०११ मा ३६ हजार हेक्टर जमिनमा रुबी उत्खनन् गर्ने अधिकार पाएको थियो ।
एकजना काठको काम गर्ने स्थानीयबासीले नौ वर्षअघि बहुमूल्य रातो रुबी रहेको पत्ता लगाएसँगै मोजाम्बिकमा रुबीको खोजी र उत्खनन् तिब्र बनेको हो । यहाँ विश्वको करिब ८० प्रतिशत रुबी उत्पादन हुने गरेको छ ।
सन् २०१४ देखि जुन २०१७ को अवधिमा एमआरएमले मोजाम्बिकले आठ पटक रुबीको खानी सञ्चालन गर्न लिलामी गरिसकेको छ । सरकारी विवरण अनुसार यसबाट मोजाम्बिकले २८ करोड अमेरिकी डलर राजश्व प्राप्त गरेको छ ।
“यो गाउँमा हाम्रो जीवन अति आरामदायी थियो, तर गाउँमा उत्खननका कार्य शुरु भएयता सबै परिवर्तन भइसक्यो,” क्वीन क्रिस्टिनाले बताउनुभयो । “सरकारले हामीलाई पुनर्वास गराउने भन्दैछन्, उनीहरुले हामीलाई खेतीपाती गर्न, नयाँ घरहरु बनाउन पनि दिएका छैनन् । धेरै मानिसले प्रहरीको यातना, भोकमरी, आगजनीका कारण आफ्ना घरगाउँ छाडेका छन् । केही मानिसमात्र जबर्जस्ती यो गाउँमा बसिरहेका छन् ।”
एन्थोरो गाउँका सर्वसाधारणको जीवन कष्टसाध्य भए पनि यहाँ रुबीका कारोबारीको रवाफ हेर्दै लोभलाग्दो छ । केहीले बिहेबारीमा दुलहीलाई २१ हजार डलरसम्मका औंठी पनि दिएका छन् ।
काबो डेल्गाडो प्रान्तको मोन्टेपुज जिल्लामा अवस्थित एन्थोरोमा खानेपानी वा विद्युतको सुविधा छैन । यहाँका घरहरु काठ र सुकेका घाँसपरालले बनाइएका छन् ।
गाउँको वरिपरि एउटा सुरक्षा घेराबारा लगाइएको छ, र गाउँलेको ओहोरदोहोर निगरानी गर्न एउटा मात्र प्रवेशद्वार राखिएको छ ।
बाक्लो जङ्गल काटेर बसाइएको एन्थोरोमा आँप, नरिवल र अम्बाका बोटबिरुवा रोपिएका छन् । गाउँका फोहोर नालामा कुखुरा कराएको आवाज सुन्न सकिन्छ ।
सरकारी सेवाको नाममा यहाँ एउटा प्रहरी पोष्ट मात्र छ । यहाँ नागरिक प्रहरी होइन, विशेष सैनिक प्रहरीहरु तैनाथ छन् । क्रिस्टिनाको विचारमा प्रहरीहरु नै यहाँका स्थानीयबासीलाई पुनर्बास गराउनुको साटो अन्यत्र आफुखूशी पलायन होऊन् भन्ने चाहन्छन् ।
“मेरो आग्रह नै यहाँका गाउँलेलाई पुनर्वास गर्नुपर्छ भन्ने हो । हामी यो नर्कबाट मुक्ति चाहन्छौं । हामीले सदैब यो विषयलाई सरकार समक्ष उठाइआएका छौं, तर सरकारले कहिल्यै जवाफ दिँदैन,” क्रिस्टिना भन्नुहुन्छ ।
एमआरएमको ७५ प्रतिशत हिस्सा जेमफिल्ड्सले लिएको छ र बाँकी हिस्सा सैनिक जनरल राइमुन्डो पाचीनुआपाको अर्धस्वामित्वमा रहेको मोजाम्बिक कम्पनी एम्वीरिटी लिमिटाडाको छ । उनी सत्तारुढ फ्रेलिमो पार्टीका वरिष्ट सदस्य पनि हुन् ।
एन्थोरोबाट १० मिनेटमात्र टाढा रहेको उत्खनन कम्पनीको मुख्य शिविरमा विद्युत, खानेपानी, रेष्टुरेन्ट र स्वास्थ्य चौकी रहेको छ ।
एन्थोरोका बासिन्दा एमआरएमको प्रभाव इलाकाका बसोबास गर्ने हजारौंमध्येकै हुन् । यी मानिसहरु मोजाम्बिकको कानुन अनुसार पुनर्बासको पर्खाइमा रहेका छन् ।
“हामीसँग अब खेतीपाती गर्ने जग्गाजमिन छैन । उत्खनन गर्ने कम्पनीलाई हामीलाई रोक्दछ । हामी स्वतन्त्र किसिमबाट हिँडडुल गर्न पनि पाउँदैनौं किनभने कम्पनीले यताउता हिँड्न रोक लगाइरहेको हुन्छ,” अर्का सामुदायिक नेता जोआ कारिमोले दुःखेसो पोख्नुभयो ।
“हाम्रो घरमा आगो लगाउनेहरु प्रहरी र कम्पनीका सुरक्षा गार्ड नै हुन् ।” उहाँले आरोप लगाउनुभयो ।
प्रहरीले भने गाउँलेको आरोपमा सत्यता नरहेको बताएको छ ।
गाउँलेको पक्षबाट करिब १०० जना मोजाम्बिकका नागरिकले स्थानीयबासीको मानव अधिकार उल्लङ्घन भएको आरोपमा बेलायतमा मुद्दा दायर गरेका छन् । मुद्दा दर्ता गर्नेहरुले स्थानीय प्रहरी र सुरक्षागार्डले गाउँलेमाथि गोली चलाएको, कुटपिट गरेको र कानुन विपरीत थुनामा राखेको आरोप लगाएका छन् । चारवटा परिवारले आफ्ना छोराहरुलाई प्रहरीले गोली हानेर हत्या गरेको उजूरी दिएका छन् ।
जेमफिल्ड्सले अदालती प्रक्रियामा रहेको विषयमा एएफपीलाई कुनै प्रतिक्रिया नदिने जनाएको छ तर कम्पनीले स्थानीयबासीका चासो र सरोकारलाई गम्भीरतापूर्वक लिएको र कुनै पनि किसिमको हिंसा वा दुव्र्यवहार आफ्ना लागि स्वीकार्य नहुने जनाएको छ ।
कम्पनीले एन्थोरोका १०५ परिवारलाई एक करोड डलरको एक परियोजना मार्फत गाउँ नजिकै पुनर्वास गराइने जनाएको छ । नयाँ बस्तीमा खानेपानी, विद्युत, स्कुल, बजार, मस्जिद र चर्च बनाइनेछ ।
जेमफिल्ड्सले गत अप्रिलमा आवास निर्माणका लागि शिलान्यास गरिसकेको र आगामी दुई वर्षभित्रै घरहरु निर्माण भइसक्ने पनि जनाएको छ । स्थानीय सरकारले पनि आवास निर्माणमा भइरहेको ढिलाइप्रति कम्पनीमाथि दबाब सिर्जना गरेको छ ।
“उनीहरुले यही वर्ष घर निर्माण शुरु गरिसक्नु पर्ने थियो, त्यही कारण हामीलाई चिन्तित बनाएको छ,” जिल्ला सरकारी कार्यालयका एक अधिकारी फाबिओ नामिभाले बताउनुभयो ।
फाबिओ भन्नुहुन्छ, “तर कम्पनीले पनि त हाम्रा लागि केही गरिरहेको छ, कर बुझाउँछ र घुम्ती शिविर र रोजगारी तालिम दिन्छ । यसबाट समुदायले फाइदा पनि लिइरहेका छन् । एउटा मात्रै सबाल भनेको पुनर्बासको हो ।”
एकजना गाउँले जेरोनिमो अमाडेको विचारमा रुबीले गाउँबासीलाई अन्यत्र सारेको मात्रै छ । “मैले सायद क्षतिपूर्ति पाउँछु र मैले यो थातथलो छाड्नुपर्ने छ,” उहाँले भन्नुभयो । “मैले यहाँ मानिसहरु मारिएको देखें, धेरै घरहरुमा आगो लगाइयो । यो सबै हाम्रो जमिनमा पत्ता लागेको यो अभागी रुबीकै कारण हो ।”