राैतहटः स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई आइतबार साँझ जिल्ला प्रहरी रौतहटले नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीसित सोधपुछ गरिरहेको छ । जिल्ला अदालत गौरमा चल्दै गरेको मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो ।
रौटहटका प्रहरी प्रमुख एसपी केदार ढकालले राउत पक्राउ परेको बताउनुभयो । उनका बारेमा अनुसन्धान भईरहेको ढकालले जानकारी दिनुभयो ।
राउतले कहाँ केके गरे भन्ने बारेमा सोधपुछ हुँदैछ, उहाँले भन्नुभयो, ‘अनुसन्धान पछि के गर्ने भन्ने यकिन हुन्छ ।’ साँझ परेकोले उनलाई जिल्ला प्रहरीमा राखिएको छ । हिरासतमै राउतले प्रहरीसित बादबिवाद गरेका थिए ।
पक्राउपछि राउतका समर्थकहरु र गठबन्धनका जिल्ला अध्यक्ष अशोक सिंहको नेतृत्वमा प्रहरी कार्यालय अगाडि केही समय धर्नामा बसेका थिए । पछिल्लो केही समय यता स्वतन्त्र मधेशको नारा दिंदै राउतले भडकिलो वक्तब्य दिंदै आएका छन् ।











