• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीज्यू त पूरै गल्नुभएछ, ओली सरकार दुई वर्ष टिक्दैन- राजपा



२३ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने सुन्नासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले सो पार्टीका शीर्षनेतालाई सोमबार साँझ बालुवाटार बोलाएका थिए । प्रधानमन्त्रीसँग डेढ/दुई घण्टा बिताएर फर्केका एक नेताले अनलाइनखबरसँग भने– प्रधानमन्त्रीज्यू त पूरै गल्नुभएछ, यो पाराले ओली सरकार दुई वर्ष टिक्दैन जस्तो लाग्यो ।

सरकारले आफ्ना मागहरु पूरा नगरेको गुनासो बोकेर प्रधानमन्त्रीलाई भेट्न राजपाका शीर्षनेताहरु महन्थ ठाकुरको नेतृत्वमा बालुवाटार पुगेका थिए । तर, ‘आफैं त महादेव कसले देला बर’ भनेजस्तो उल्टै प्रधानमन्त्रीले पो घण्टौंसम्म राजपा नेताहरुसँग गुनासोको पोको फुकाए ।

दुईतिहाई बहुमतसहितको शक्तिशाली भनिएको सरकारका प्रधानमन्त्री ओलीले आफूलाई काम गर्ने वातावरण नभएको गुनासो मधेसी नेताहरुसित पोखेको राजपा नेताको भनाइ छ ।

गुण्डा वा कुनै अपराधीलाई समात्यो भने न्यायालयले छाडिदिने गरेको प्रधानमन्त्री ओलीले राजपा नेताहरुसँग गुनासो पोखेका थिए । बलात्कार र हिंसाका घटना नरोकिएकोतर्फ राजपा नेताहरुले ध्यानाकर्षण गराउँदा गृह प्रशासनबाट आफूलाई सहयोग नभएको र प्रभावकारी काम हुन नसकेको गुनासो प्रधानमन्त्रीले पोखेका थिए ।

प्रधानमन्त्रीलार्इ भेटेर फर्केका राजपाका एक नेताले अनलाइनखबरसँग भने– ‘केपी ओलीमा पहिलेजस्तो कुनै दम्भ देखिएन । उहाँ पूरै गल्नुभएको र निराश अवस्थामा पुगेको हामीले पायौं । तपाईले ६ महिनामा केही काम गर्न सक्नुभएन भनेर आलोचना गर्दा पनि उहाँले प्रतिवाद नगरी सुन्नुमात्रै भयो । उहाँमा जोश उत्साह केही थिएन ।’

प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै राजपा नेताले भने– मैले काम गर्न खोजेको हुँ, तर कसैले साथ दिएन । देशको विकास गर्न चाहेको हुँ, गर्न सकिरहेको छैन ।’