३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बहुमत नै नेकपाको चुनौति बन्यो, भोट दिनेले कुट्न सक्छन् !

बहुमत नै नेकपाको चुनौति बन्यो, भोट दिनेले कुट्न सक्छन् !
अ+ अ-

८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्की (सुरेन्द्रकुमार कार्की) बौद्धिक नेताका रुपमा परिचित छन् । रुम्जाटार, ओखलढुंगामा जन्मेका उनी ०२८ सालदेखि राजनीतिमा आवद्ध भएका हुन् । प्रतिनिधिसभामा उनी झापाबाट निर्वाचित सांसद हुन् ।

शिक्षण र पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका कार्की यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री पनि बने । ०७० को संविधानसभामा समानुपातिकबाट सभासद बनेका उनी पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भए ।

झापाको सडकलाई अफ्रिकन सुन्दरीको गालाजस्तै चिल्लो बनाइदिने निर्वाचनका बेला गरेको भाषणले चर्चित कार्की अहिले पार्टी नेतृत्वको खुलेर आलोचना गर्ने थोरै नेतामध्येका एक हुन् ।

दुई तिहाई बहुमत पाएर पनि नेकपा नेतृत्वको सरकारले किन काम गर्न सकेन भन्ने प्रश्नको जवाफ खोज्न हामी वौद्धिक नेता कार्कीको निवासमा पुगेका थियौं । यो प्रश्नको जवाफमा उनले इन्डोनेसिया, निकरागुवा, ब्राजिल र भेनेजुएलाको घटना हेर्न आग्रह गर्दै भने– ‘कम्युनिष्ट पार्टी बलियो हुनु आफैंमा खतरा उत्पन्न हुन सक्छ ।’

प्रस्तुत छ, पार्टी एकीकरण, सरकारको कार्यशैली, चुनावी प्रतिवद्धता लगायतका विषयमा अनलाइनखबरले धुम्बाराहीस्थित कार्कीनिवासमा पुगेर गरेको कुराकानीको सम्पादित अंशः

निर्वाचनका बेला यहाँहरूले विगतमा सरकार अस्थिर हुँदा विकास निर्माणका काम गर्न सकेनौं भन्नुभएको थियो । त्यही भनेर बहुमत माग्नुभयो । जनताले बहुमत मात्रै होइन, झण्डै दुईतिहाई मत दिए । तर, अपेक्षाकृत रुपमा जनपक्षीय काम भएन । अत्यधिक बहुमत हुँदा काम गर्न के कस्तो चुनौति हुँदोरहेछ ?

अब हामीलाई कसैले हल्लाउन सक्दैन र सरकार ढल्दैन भन्ने सोच नै कमजोरी भइदियो कि ? कम्युनिष्ट पार्टी बलियो हुनु आफैंमा खतरा उत्पन्न हुन सक्छ । म यस्तोमा सम्भावनाभन्दा बढी चुनौति देख्छु ।

हाम्रा अगाडि यही कारणले निम्तिएका खतरानाक चुनौतिहरू छन् । इन्डोनेसिया, निकरागुवा, ब्राजिल, भेनेजुएलाको घटना हेर्दा बलियो हुँदा नै खतरा हुँदोरहेछ भन्ने देखिन्छ ।

सधैं निगरानीमा बसेका, बाध्यतामा काम गर्दै आएका थियौं । विगतमा राजाको डरले वा सेनाको डरले दलहरू एक हुन्थे । सकारात्मकरुपमा आफैं एक हुँदैनथ्यौं ।

हामी सबै नेताहरू गुट खेलाउँदै आएका हौं । आफ्नोलाई च्याप्ने र अरुलाई लडाउने बानी परेका हामीले यो देश नै हाम्रो जिम्मामा आइसक्यो भन्ने अनुभूत नै गर्न सकेका छैनौं । दुई तिहाई बहुमतको नेतृत्व गर्दा पनि मनस्थितिमा चाहिँ हिजोकै अवस्थामा छौं कि ?

दुई तिहाई भएपछि किन चाहियो मार्क्स ? किन चाहियो लेनिन ? अब त हामी नै चलाउँछौं भन्ने सोचले यहाँ पुर्‍याएको हो । त्यही मनस्थितिले गर्दा नै दैनिक राजनीतिबाट माथि उठ्न सकेनौं भन्ने लाग्छ ।

विगतका निर्वाचनमा एमाले र माओवादी दुबैको संख्या घटबढ भइरहने, जनताले आशा गरेका थिए । गरिबका निम्ति शब्दावली त मार्क्सवादसँग छ । गरिबको भावना बोल्ने भाषा मार्क्सवादसँग छ । नेपालमा गरिबी छ । त्यसले जनता मार्क्सवादी भन्ने पार्टीसँग प्रभावित हुने नै भए ।

सकारात्मक रुपमा भन्दा दुईवटै कमजोर भएर पार्टी एकता भयो । एउटा खराब र अर्को राम्रो भएको भए यो एकता नै हुँदैनथ्यो ।

तर, पार्टी नेतृत्व चाहिँ विचार, सिद्धान्त, आचरणमा कमजोर हुँदै आए । जब कि विचारको आवरण बोकेपछि त्यसले धेरै ठाउँमा गाइड गर्न थाल्छ । सर्वसाधारणलाई पनि समाजसँगको सम्बन्धले जथाभावी गर्न नदिएजस्तै ।

समस्या नेताहरुको नियतमा छ कि क्षमतामा ?

हामी कहाँ धेरै गहिरो ज्ञानको इतिहास छैन । हाम्रो आफ्नै ज्ञानको भण्डार छैन । बुद्ध सीमानामा जन्मिए, उनको ज्ञान हामीतिर भन्दा तलतिरै बढी प्रचार भयो । कपिलमुनि, जनकहरूको ज्ञान पनि त्यतै गयो । अहिलेसम्म पनि हामीलाई किरातको इतिहास के हो भन्ने थाहा छैन । मिथिलाकै इतिहास थाहा पाउने हामी कति छौं ?

एकातिर ज्ञानको परम्परामा हामी धनी छैनौं भने अर्कोतिर अरुको ज्ञान त झन लिने कोशिसै गरेनौं । जर्मनबाट रसियन, रसियनबाट अंग्रेजी, अंग्रेजीबाट हिन्दी, हिन्दीबाट नेपाली हुँदै आएका केही किताब पढेर धारणा बनाउनेहरू बढी भयौं ।

आजकल सोझै अंग्रेजीमा पहुँच भएको वर्ग निस्किएको छ । तर, समस्या कहाँ छ भने त्यो वर्गलाई मार्क्सवादतिर ल्याउनै सकेनौं । मार्क्सवाद पूर्ण छ । यसमा थपथाप वा विकासको गुञ्जायस छैन भनेर व्याख्या गरेपछि युवा पुस्ता आर्कषित हुने कुरा पनि भएन । जहाँ आफूले थप गर्न वा सिर्जना गर्न पाउँदैन, त्यो वादमा युवा किन जान्छ ? किन लोभिन्छ ?

मार्क्सवादीहरूकै बोलीचाली सुन्दा सबै कुरा जानेजस्तो, सबै बुझेजस्तो गर्छन् । तर, मार्क्सवाद आफैंमा ‘अपूर्ण प्रोजेक्ट’ हो । थुप्रो कमजोरी छन्, यहाँ । थुप्रो ठाउँमा मौन छ मार्क्सवाद । त्यहाँ जहिले पनि विकासको सम्भावना छ ।

मैले के भन्ने गरेको छु भने बुढापाकातिर हेरेर हामीले राम्रो गर्‍याैं, लड्यौं । राजतन्त्र समाप्त गर्‍याैं । सामन्तबाट पछार्‍याैं भनौं । तर, युवाहरूतिर हेरेर जब हाम्रो भेट पुँजीवादसित भयो भनौं । पुँजीवाद जब्बर रहेछ । हामीले पुँजीवादलाई पछार्न सकेनौ । बरु उसैले हामीलाई प्रदुषित गरिदियो ।

खास पुँजीवाद पनि होइन, अहिले आएको जुन दलाल पुँजीवाद छ, यसले नै हामीलाई प्रदुषित बनाउन सक्यो । सक्छौ दलाल पुँजीवादसँग लड, सक्दैनौ भने यसैलाई नियति मानेर जाउ भनेर युवालाई भनिदिनुपर्छ । तब युवा पिँढी मार्क्सवादमा आउँछ । युवा त कसैले नहिँडेको बाटो हिँड्दा रमाउँछ । उसलाई ‘एडेभेन्चर’ मन पर्छ । कसैले नगरेको काम गर्दा गर्व मान्छ ।

त्यो वर्ग, हाम्रै सर्कुलर हुबहु मान्न, हाम्रै मन्त्र दोहोर्‍याउन त किन आउँछ र ? हाम्रै छोराछोरी मार्क्सवादबाट विमुख हुनुको कारण यही हो ।

पुँजीवादलाई पछार्न सक्यो भने त्यसपछि समाजवाद छ । जुन मानवीय छ । होइन भने पुँजीवादसँग घुँडा टेक भन्न सक्नुपर्दछ ।

यहाँले मार्क्सवादी दृष्टिकोणअनुसार नेतृत्वले छलफल चलाउन सकेन भन्नेमा जोड दिइरहनुभएको छ । एमाले र माओवादी केन्द्र एकीकरणको संक्रमण नसकिएर पनि सैद्धान्तिक बहसलाई समय नमिलेको पो हो कि ?

प्राथमिकताको सूचीमा नपरेर पनि हो । चुनाव जितेर आएका पार्टीका सांसदहरूलाई तपाईँहरू नेपाललाई कस्तो नीति चाहिन्छ छलफल गर्नुस् भन्न त सकिन्थ्यो । यहाँ पनि मार्क्सवादलाई रेडिमेड चिजकैरुपमा बुझियो । हामीले मार्क्सवाद पढेकै छौं । यी हामीले नै टिकट दिएर जितेर आउनेले के जानेका छन् र ? हामीले नै जानेका छौं भन्ने सोच देखियो । इतिहासका निर्माता जनता हुन् भन्ने जुन आधारभूत मार्क्र्सवाद हो, त्यो नै बुझिएन वा बेवास्ता गरियो । इतिहास त हामी ठूला मान्छेहरूले बनाउने हो भन्ने गलत बुझाइ भयो ।

नेकपा बन्नुअघि दुबै पार्टीमा सैद्धान्तिक समस्या नै थिएन त ?

माओवादीको हकमा भन्ने हो भने युद्ध बढ्दै गएपछि राजनीतिक कुरालाई भन्दा फौजी कुरालाई महत्व दिन थाल्यौं । जब कि फौजी विषयलाई पनि जहिल्यै राजनीतिको अधिनमै राख्नुपर्थ्यो ।

पछि एमालेसँग भेट भयो । ०४६ सालपछिको उसको अवस्था के रहेछ भने एमाले बनेपछि केही पनि त्याग गर्नु नै नपर्ने । त्यो एउटा पेशा बनिसकेको रहेछ ।

०६३ पछि माओवादी पनि त्यही ठाउँमा पुग्यो । जनयुद्धमा भएको परिवर्तनशील कुरालाई संस्कृति बनाउन सकेनौं । प्रणाली माथिबाटै बिग्रियो । कतिपय निर्णयहरू पार्टी कमिटीबाट भएनन् । नेताको चाहना अनुसारका निर्णय भए । जब कि हरेक निर्णय कमिटीको निर्णयअनुसार हुनुपथ्र्यो । यो पनि त्यसैको निरन्तरता हो । चुनाव खर्च दिनुपर्‍याे भने नेताले श्रीमतीसँग मागेर दिनु त कुनै प्रणाली होइन नि ।

एमाले र माओवादी मिलेर नेकपा बनेपछि पनि केही त्याग गर्नै नपर्ने भयो । जस्तो– कम्युनिष्ट भएवापत किरिया गरिँदैन । त्यसो गर्दा नातागोता पुराना विचार भएका मान्छे त रिसाउँछ नि । उसले कम्युनिष्ट भएवापतको त्याग हो भनेर आलोचना सहन तयार हुन्छ ।

तर, हामीले यस्तो कम्युनिष्ट पार्टी बनाऔं मञ्चमा उभिएर चे ग्वेभारा, लेनिनको भाषण गर्न पनि पाइने र साँझमा श्राद्ध, काजकिरिया, घेवा, पितृ गर्न पनि पाइने । तपाईँलाई थाहा छ ? अहिले अधिकांश मन्दिरको प्रबन्ध समितिको अध्यक्ष कम्युनिष्टहरूको हातमा छ ।

पार्टीमा छलफल नहुनुको असर नेतृत्व तहमा मात्रै पर्छ कि कार्यकर्तासम्म आइपुग्छ ?

पुँजीपतिले शोषण गर्ने क्रममा आफ्नै मानवीयता पनि गुमाउँछ । जो शोषणमा परेको हुन्छ, त्यो पनि मानव बन्न पाउँदैन । यो भनेको प्रत्येक मानवलाई पूर्ण मानव बनाउने मार्क्र्सको सपना विरुद्धको कुरा हो ।

हाम्रो सन्दर्भमा भन्दा पार्टीमा छलफल नहुनुको नोक्सान गाउँ–गाउँका कार्यकर्तालाई मात्रै भएको छैन । टोलका कार्यकर्ता मात्रै विराग, नैराश्यको शिकार भएको छैन । नेता पनि त्यसको शिकार भएको छ । उसले जुन तागत पाउनुपर्ने हो, त्यो नै पाइरहेको छैन ।

अहिलेका नेतृत्वमा भएको अधिकार स्थायी हो र ? अर्को कुरा, नेपालको राजतन्त्रको इतिहासको सबैभन्दा तागतिलो भन्ने राजा महेन्द्रको आफ्नै सहोदर छोरालाई जनताले पाँच वर्ष पनि शान्तिले बस्न दिएनन् । अनि हामीले राजा बनेको स्वाङ पार्दा हामीलाई बस्न देलान् ?

हाम्रो ढाँचा त लगभग राजा बनेकै जस्तो छ । हाम्रो हिंडाइ, बोलाइ, भेट गराइ र दशैं मनाइसम्ममा पनि मान्छेले औंला उठाउन थाले ।

हिजो ढुंग्री, फुली दिएर जनयुद्ध गर भनेका जनता आज मन्दिर बनाउन २५ हजार देउ भनिरहेका छन् । यसको दायित्वबोध त हामीमा हुनुपर्‍याे नि ।

तर, एकथरिको तर्क के छ भने नेताहरुले फुको सातु नै खानुपर्छ, च्यात्तिएकै चप्पल र पहिरनमा हिँड्नुपर्छ भन्ने छ र ?

मैले त्यस्तो भनेको होइन । जनताको अगाडि पारदर्शी भइदिए पुग्छ । फिडेल क्यास्ट्रोको एउटा उदाहरण दिन चाहन्छु । उनी शिगार खान्थे । ठूलो भाषण गरेर शिगार त्यागेको घोषणा गरे । भाषणमा ‘क्युबाली जनताको स्वास्थ्यलाई ख्याल गरेर शिकार त्यागें’ भने । तर, फेरि एक दुई वर्षपछि माफ, गर्नुहोला जनता मैले तलतल खप्नै सकिनँ र फेरि शिगार खान थालेँ भने । जनताले चुपचाप माफी दिए । जनताले माफी दिन्छन् नि ।

फाटेको जुत्ता लगाएर ढोंग गरिरहनै पर्दैन । जब कि हामीमा पाखण्ड वा स्टन्ट गर्दा ठूलो भइन्छ भन्ने सोच छ । मन्त्रीहरू नै स्टन्ट गर्न उद्दत हुन्छन्, क्या । राम्रो कामका लागि त प्रणाली बनाउनुपर्‍याे । त्यसका लागि उसलाई इन्पुट चाहिन्छ । त्यो इन्पुट राजनीतिक स्रोतबाट आउँछ । ज्ञानको स्रोतबाटै विमुख बनाउँदाको परिणाम हो यो । ज्ञान र शक्तिको स्रोत भनेको जनता हो । त्यहाँबाट कटेपछि फिडब्याक कहाँबाट पाउने ?

जनतासँग हजारौं वर्षको अनुभव छ । जनतासँग जुन विलक्षण क्षमता छ, त्यो त तपाईँले किताब पढेर भेट्नुहुन्न ।

सरकारले आफ्ना निर्णय कार्यान्वयन गर्न नसक्नुमा सैद्धान्तिक कारण पनि छ भन्न खोज्नुभएको हो ?

पक्कै पनि । सिण्डिकेट, ठेकेदारलाई कारवाहीलगायतका महत्वपूर्ण निर्णयमा सरकार कमजोर हुनुको कारण नै उसँग भएको पूरा तागतको प्रयोग नहुनु हो ।

जुन पार्टीको १० लाख कार्यकर्ता छ । ती सबै सक्रिय भयो भने न पार्टी, सरकार बलियो देखिने हो । पार्टी बलियो हो कि होइन भन्ने कुरा त उसको गतिविधिबाट देखिन्छ नि ।

इतिहासमा सजिलो अवसर आइरहन्छ । त्यसलाई जानीजानी त्यागेर पौडिन तयार हुनुपर्दछ ।

बहुमत भएको बेलामा त पार्टी झनै जागरुक हुनुपर्ने हो । नेतृत्वले यो एकदमै महत्वपूर्ण समय हो । कार्यकर्तालाई तपाईँहरू सबैभन्दा सक्रिय हुनुपर्ने बेला यही हो भन्न सक्नुपर्ने हो । दुई तिहाईको सरकार हुँदा काठमाडौंमा मजदुर, किसानको जुलुस, विद्यार्थीको नाराबाजी देखिनुपर्ने हो । जसले गर्दा सम्बन्धित मन्त्रीलाई जनवादी नीति तर्जुमा र लागू गर्न सजिलो हुन्थ्यो ।

लाखौं यातायात मजदुर सिण्डिकेट भत्काउन भनेर नारावाजीमा उत्रेको भए सिण्डिकेट सजिलै खारेज हुन्थ्यो । खारेज गर्ने मन्त्रीको निर्णय राम्रो देखिन्थ्यो । पार्टी र सरकार एकैपटक लोकप्रिय बन्थ्यो ।

हाम्रा कार्यकर्ता तल सुस्ताएर बसेका छन् । पाँच वर्षपछिको तयारी गरेर । चुनाव आउँछ अनि त्यतिबेला जिताउँला भनेर । जबकि अरुचाहिँ सक्रिय छन् । हामीले सबै अवयबलाई निस्क्रिय हुँदा नै माथि दुईजना नेता सक्रिय भएजस्तो देखिएको हो ।

हजारौं मत ल्याएर चुनाव जितेका जनप्रतिनिधि छलफलमा भाग लिने र दशौं लाख कार्यकर्ता नीति निर्माण कस्तो हुनुपर्छ भनेर सक्रिय हुँदा त तागत देखिहालिन्थ्यो नि । यो तागत देखिएको भए त सरकारले चाहेको सबै कुरा लागु हुन्थे ।

तर, जनता चु्पचाप बस्दैनन् । राम्रो विकल्प पाएनन् भने नराम्रो विकल्प लिएर पनि आउँछन् । जनता त गतिशील छन् ।

यसबाट मोहन वैद्य वा नेत्रविक्रम चन्द जस्ता समूहले लाभ लिने सम्भावना पो छ कि ?

माओवादीबाट अलग हौं भनेर बसेका समूहले पनि नेकपाले जस्तै गरिरहेका छन् । स्वाद उही भयो भने त काँक्रा जित चिरा पारे पनि त्यसको अर्थ हुँदैन नि ।

उहाँहरूले पनि पहिला नै फलाना नेता ठूलो भनेर प्रोजेक्सन गर्नुभएको छ । फलाना समूह भनेर नेताकै नाम जोडिएको छ । अरु नेता नै नभएको त्यो कस्तो अचम्मको पार्टी होला त ?

पहिलाको साहित्य पढ्दा थाहा हुन्छ, लेनिनको मात्रै नाम आउँदैनथ्यो । लेनिनसँगसँगै ट्राट्स्की, बुखारिनको पनि नाम आउँथ्यो ।

चाहे वैद्य हुन्, चाहे विप्लव, उहाँहरू झन अप्रजातान्त्रिक अभ्यासमा जानुभएको छ । संघर्ष गर्ने, लडाई गर्नेलाई किन प्रजातन्त्र चाहियो ? लडाइँको बेलामा प्रजातन्त्रलाई तिलाञ्जली देऊ अरे ! चीनमा सेनामा जनवाद भन्ने किताब लेखियो । माओत्सेतुङले एकपटक सबै बिल्ला हटाइदिए । एउटै रासन सिस्टम गरिदिए । अलग्गै अधिकृत मेस थिएन ।

त्यसैले अहिलेसम्म यस्तो शक्ति आउने देखिएको छैन । त्यही भएर नेतृत्वलाई हाम्रो विकल्प छैन भन्ने परेको छ । तर, कहिलेकाँही खतरा के हुन्छ भने चेहराहीन विकल्प आइदिन्छ । जस्तो इरानमा आयो । त्यहाँको राजालाई त भीडले नै फ्याँकिदियो । जतिबेला इरानमा नेताहरू या मारिएका थिए, या भ्रष्ट भइसकेका थिए । नेपालमा पनि त्यस्तो अवस्था नआउला भन्न सकिँदैन ।

जनता सचिवालयको बैठक सकिएको छैन । स्थायी समितिको एकता भइसकेको छैन । नेतालाई रुघा लागेर बैठक बस्न सकेन भनेर पर्खिएर बस्छन् र ? कम्युनिष्ट पार्टीको माथिदेखि तलसम्म एकता होस् । भातृ संगठनको विवाद समाप्त होस् । अनिमात्रै छलफल, बहसहोस् भनेर जनता पर्खेर बस्दैनन् । आजित भए भने जनता उठेर आउँछन् । अनि हामी सामना गर्न सक्दैनौं । त्यस्तो बेलामा हामीलाई भोट दिनेले नै कुट्न सक्छ ।

संसारमा आज पनि पुँजीवाद विजयी छ । जसलाई कम्युनिष्ट नाम मात्रैले पनि बिझाउँछ । १९६० को दशकमा इन्डोनेसियामा तीस लाख पार्टी सदस्य र एक करोड समर्थक सदस्य थिए । २० लाख कम्युनिष्ट मारिए । हसिया हथौडा प्रिन्ट भएको टिसर्ट बेचेको निँहुमा एकजनालाई दश महिना जेल सजाय भयो । त्यो अवस्था नआउला भन्न सकिँदैन ।

चुनावका बेलामा यहाँले झापामा ग्राभेल सडकलाई ‘अफ्रिकन ब्यूटी’ को गालाजस्तो चिल्लो बनाउँछु भन्नुभएको थियो । त्यो प्रतिवद्धता पूरा भयो त ?

द ब्ल्यूईस्ट आई भन्ने उपन्यासमा के छ भने एउटा काली केटीकी आमा गोराको घरमा काम गर्न जान्छिन् । गोराको हाताभित्र छिर्नासाथ आमा एकदमै नरम, हँसिली हुन्छिन् । गोराकी छोरीहरूलाई हाँस्दै मुस्कुराउँदै खेलाउँछिन् पनि ।

जब फर्केर आफ्नो आँगनमा पुग्छिन् । त्यही आमा आक्रामक, रिसाहा, आक्रोशित हुन्छिन् । उपन्यासमा काली केटीको मनोविज्ञान केलाइएको छ । नीलो आँखा र गोरो छाला भएका व्यक्ति श्रेष्ठ हुन् ? बजारमा पाइने खेलौनाको आँखा पनि नीलो नै किन हुन्छ भन्ने विषय नै उपन्यासको सार हो ।

म पनि त्यो किताबबाट प्रभावित छु । त्यही सन्दर्भमा मैले चुनावका बेला सडक अफ्रीकन सुन्दरीको गालाजस्तो चिल्लो हुनुपर्छ भनेको हुँ । खास वर्ण राम्रो वा नराम्रो हुँदैन भन्ने अर्थमा पनि त्यो विम्व प्रयोग गरेको हुँ ।

त्यतिबेला मैले हरेक बच्चालाई प्रतिदिन एक गिलास दूधको व्यवस्था हुनुपर्छ पनि भनेको थिएँ । मेरा एकजना शुभचिन्तकले निजीरुपमा यो प्रयत्न गरिसक्नु पनि भएको छ ।

एउटा विद्यालयमा नर्सरीमा पढ्ने ६८ जना विद्यार्थीले पढ्न गएको दिन एक गिलास दुध पाउँछन् । यो त निजी क्षेत्रको प्रयास भयो । त्यो काम अहिले व्यक्तिले गर्‍याे । सहकारी मित्रहरूलाई पनि यस्तो काम गर्नुस् भनिरहेको छु । तर, सरकारले नै नगरी यो कामले पूर्णता प्राप्त गर्दैन ।

चुनाव जितेर आएपछि हाम्रा सरकारहरू बने । तर, हिजो डा. रामशरण महतले बनाएको बाटोभन्दा फरक गोरेटो पहिल्याउन सकेनौं । कहीँ कतै ‘पोइन्ट अफ डिपार्चर’ नै भेटेन । त्यहाँबाट अलग्गिएर यो है बाटो भन्न सकेको स्थिति छैन ।

भनेपछि, यहाँहरूको आर्थिक समृद्धिको प्रतिवद्धता पनि चुनावी नारामै सीमित हुनेभयो ?

सबैलाई डोर्‍याउने मूल विषय भनेको राजनीति नै हो । तर, यहाँ जानाजान राजनीतिको सबै अध्याय समाप्त भन्ने हल्ला चलाइएको छ । राजनीतिको कुरा नगरौं, विकासको मात्रै कुरा गरौं भनियो । आर्थिक प्रगतिको मात्रै कुरा गरौं भन्ने कुरा नियोजित रुपमा ल्याइयो । त्यसमा हाम्रा मान्छेहरू पनि फसे ।

तर, अर्थतन्त्र भनेको राजनीतिको सानो हिस्सा मात्रै हो । व्यापक कुरा राजनीति नै हो । मार्क्सको जुन शिक्षा छ, त्यसलाई निर्धारणवादी भएर बुझिदिँदा र व्याख्या गर्दा यस्तो समस्या आएको हो ।

आर्थिक सम्बन्धले नै सबै कुरा तय गर्दछ भन्ने कुरालाई एकोहोरो अर्थमा बुझिदिए । अर्थतन्त्रको घोडालाई एक्लै हिंड्न दियो भने त त्यसले कँही लगेर पछार्छ–पछार्छ । त्यसैले अर्थतन्त्रलाई राजनीतिकै लगाम चाहिन्छ ।

आर्थिक समृद्धिको मोडेल मात्रै भनेर पुग्दैन । गुजरात मोडल जहाँ ठूला ठूला महल बने तर छ करोड मान्छेलाई बास बस्ने ठाउँ छैन । अर्कोतिर केरला मोडल जहाँ ठूला महल त बनेका छैनन् । तर, मान्छे सबै घरमैमा बस्छन् । त्यसैले कुन मोडल रोज्ने भन्ने कुरा पनि महत्वपूर्ण छ ।

सारमा भन्दा अहिले पनि सोझ्याउनुपर्ने राजनीति नै हो । राजनीतिले दिशा नलिएसम्म बाँकी केही हुँदैन ।

(अनलाइन खबर डटकममा अन्तर्वार्ता छ ।)