२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

 चीनबाट नेपाललाई दुई अर्ब ५५ करोडको मानवीय सहायता प्राप्त



अ+ अ-

काठमाडौँ, १० कात्तिक (रासस) चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई करिब रु दुई अर्ब ५५ करोड सहायता उपलव्ध गराउने भएको छ ।

चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र उहाँका चिनियाँ समकक्षी वेइ फेङहेले सहायतासम्बन्धी सम्झौतामा आज बेइजिङमा हस्ताक्षर गर्नुभयो ।

आगामी पाँच वर्षमा उक्त सहायता प्राप्त हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । त्यसअघि दुवै देशका रक्षामन्त्रीले आपसी हित र चासोका विविध विषयमा विचारविमर्श गर्नुभएको थियो ।

प्रतिरक्षा विश्वविद्यालय स्थापनामा सघाउन अनुरोध

उपप्रधानमन्त्री पोखरेलले नेपालमा सैन्य विश्वविद्यालय स्थापनामा सघाउन गर्नुभएको अनुरोधलाई उहाँका चिनियाँ समक्षीले सकारात्मक रुपमा लिदै दुवै देशका सेनाबीचको सहकार्य र साझेदारीमा जोड दिनुभएको थियो ।

उक्त दूतावासले जारी गरेको विज्ञप्तिअनुसार नेपालको उक्त अनुरोधप्रति सहमति जनाउँदै चीनले आपसी परामर्शमा सहयोगको विस्तृत विवरणलाई अन्तिम रुप दिइनेछ ।

उपप्रधानमन्त्री पोखरेलले सैन्य प्रशिक्षण, मानवीय सहायता, विपद् व्यवस्थापन, चिकित्सा उपकरण, शान्ति सैन्य सञ्चालनलगायत पारस्परिक चासोका विषयमा छलफल गर्दै सहयोगको अपेक्षा गर्नुभएको थियो । एकचीन नीति तथा तिब्बत मामिलामा नेपालबाट निरन्तर सहयोग प्राप्त भएकामा चिनियाँ रक्षामन्त्रीले नेपालको सराहना गर्नुभयो ।

भेटवार्तामा दुवै देशका रक्षामन्त्रीले आपसी भ्रमण आदानप्रदानबाट नेपाल र चीनबीच उच्च राजनीतिक तहमा आशा, विश्वास र भरोसा अभिवृद्धि हुने बताउनुभएको उक्त दूतावासले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसैवर्ष गर्नुभएको चीनको औपचारिक भ्रमणबारे पनि दुई देशका रक्षामन्त्रीबीच छलफल भएको थियो ।