२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लायन एयर दुर्घटनाग्रस्त, १८८ यात्रुको अवस्था अज्ञात



अ+ अ-

जकार्ता:  इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्य सहित एक सय ८८ जना रहेको अधिकारीहरुले बताएका छन् ।

इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग राडारको सम्पर्क टुटेको थियो । उक्त जहाज समुद्रमा खसेको भेटिएको छ ।

भिडियो फुटेजमा समुद्रको पानीमाथि हवाईजहाजबाट चुहिएको तेल देखिएको छ । उडान नं. जेटी–६१० को उक्त हवाईजहाजमा १७८ जना वयस्क, एकजना शिशु, दुई बालबालिका, दुईजना पाइलट र पाँचजना चालक दलका सहयोगी रहेको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् ।

यो बिमान राजधानी जकार्ताबाट पाङ्काल पिनाङ द्वीपका लागि उडेको थियो ।

इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीका प्रवक्ता युसुफ लतिफले दुर्घटनाग्रस्त बिमानमा सवार यात्रु एवं बिमानको अवशेषको खोजी भइरहेको बताउनुभयो । उहाँले राडारसँगको सम्पर्क टुट्नुअघि बिमानले जकार्ता नै फर्कनका लागि अनुरोध गरेको समेत जानकारी दिनुभयो । तर जहाज फर्कन नपाउँदै जाभा समुद्रमा खसेको बताइएको छ ।

इन्डोनेसियाका हजारौं द्वीपसँगको सम्पर्कका लागि हवाईजहाज नै सबैभन्दा बढी प्रयोग गरिने यातायातको साधन हो, तर हवाई सुरक्षामा मामिलामा इन्डोनेसिया कमजोर मानिन्छ । हालैका वर्षहरुमा इन्डोनेसियामा हवाई दुर्घटनाको संख्या बढ्दै गएको छ ।

गत अगष्टमा पूर्वी इन्डोनेसियामा भएको हवाई दुर्घटनामा आठ जना मारिएका थिए । त्यसबखत दुर्घटनामा एकजना १२ वर्षीय बालकमात्र बाँच्न सफल भएका थिए ।

अगष्ट २०१५ मा भएको अर्को दुर्घटनामा बिमानमा सवार सबै ५४ जनाको मृत्यु भएको थियो । त्यस्तै २०१४ मा एयर एसियाको बिमान दुर्घटनाग्रस्त हुँदा १६२ जनाको ज्यान गएको थियो ।

इन्डोनेसियामा हाल सञ्चालनमा रहेको लायन एयर सस्तो बजेट एयरलाइन्स हो । यो बिमान कम्पनीका जहाजहरु पटकपटक दुर्घटनामा परेको पाइएको छ ।

सन् २०१६ को मे महिनामा दुईवटा लायन एयरका बिमानहरु जकार्ताको सुकार्नो–हाट्टा विमानस्थलमा एकअर्कासँग ठक्कर खाएका थिए । सन् २०१३ मा एउटा लायन एयर जेट बालीको समुद्रमा खसेर दुर्घटनाहुँदा बिमान नै दुईटुक्रा भएको थियो । यो दुर्घटनामा कसैको मृत्यु नभएपनि धेरै यात्रु घाइते भएका थिए ।