३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपाल र मलेसियाबीच श्रम समझदारी

नेपाल र मलेसियाबीच श्रम समझदारी
अ+ अ-

–अशोक घिमिरे

काठमाडौँ, १२ कात्तिकः नेपाली कामदारलाई अतिरिक्त आर्थिक भार नपर्ने गरी नेपाल र मलेसियाबीच श्रम समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरानबीच भएको मन्त्रिस्तरीय वार्तापछि आयोजित कार्यक्रममा उहाँहरूले कामदार भर्ना, रोजगारी र फिर्तासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारीअनुसार मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, प्रवेशाज्ञा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत खर्च रोजगारदाताले नै व्यहोर्नुपर्नेछ । विगतमा नेपाली कामदारसंग लिइदै आएको अतिरिक्त शुल्क समझदारीपछि नलाग्ने गरिएको छ । समझदारीअनुसार मलेसियामा कार्यरत नेपाली कामदारले आफ्नो परिवारको निकटम् सदस्य (बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा बढीमा १५ दिनका लािग स्वदेश आउन पाउनेछन् ।

कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानूनले कामदारको सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारका हकमा समेत लागू हुनेछ । भविश्यमा मलेसिया सरकारले बीमासम्बन्धी नयाँ योजना लागू गरेमा सो योजना नेपाली कामदारका हकमा समेत लागू हुने भएको छ । वैदेशिक रोजगारीका क्रममा कामदारको अङ्गभङ्ग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूतावासलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुनेछ ।

नेपाली कामदारलाई मलेसियाको श्रम कानूनबमोजिम समान तहमा काम गर्ने अन्य विदेशी कामदारलाई दिइए सरहको संरक्षण मलेसिया सरकारले प्रदान गर्नेछ । दुवै देशका सरकारले आ¬–आफ्नो देशमा कामदार, रोजगारदाता र श्रमिक आपूर्तिकर्ताको कार्य अनुगमन एवं नियमन गरी थप व्यवस्थित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ समझदारीअनुसार कामदारको करार अवधि दुई वर्ष तोकिएको छ । यसअघि कामदारको करार अवधि तीन वर्ष थियो । कामदारको पारिश्रमिक प्रत्येक महीनाको ७ तारिखभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । मलेसिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने सुनिश्चिता हुनुका साथै अतिरिक्त समयमा काम गरेबापत थप पारिश्रमिक एवं सेवा–सुविधा प्राप्त हुने व्यवस्था गरिएको छ ।

समझदारीपत्रमा रोजगारदाताले कामदारका लागि उचित वातावरण र वासस्थानका साथै व्यवसायजन्य स्वस्थ्य तथा सुरक्षाको समेत प्रबन्ध गर्नुपर्ने उल्लेख गरिएको छ । रोजगारदाताले नेपाली कामदारलाई मलेसियाको विमानस्थलमा पुगेको छ घण्टाभित्र गन्तव्यस्थलमा लैजानु पर्नेछ ।समझदारीपत्रमा महिला कामदारको हकमा विशेष ध्यान दिँदै थप सुरक्षा, संरक्षण र रेखदेख गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै कामदार र रोजगारदाताबीच श्रमसम्बन्धी कुनै विषयमा विवाद भई सम्बन्धित निकायमा मुद्दा विचारणीय रहेसम्मका लागि मलेसियामा बसोबास गर्न पाइनेछ ।

समझदारीपत्र कार्यान्यवयनका सन्दर्भमा कुनै समस्या उत्पन्न भएमा द्विपक्षीय छलफल र सहमतिमा समाधान गर्न सकिने छ । समझदारीपत्रको प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउन दुवै देशका सरकारी पदाधिकारी संलग्न भएको संयुक्त कार्यसमूह (जेडब्लुजी) गठन गर्ने सहमतिसमेत भएको छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै छ महीनादेखि रोखिएको मलेसियाको बन्द रोजगारी खुल्ने भएको छ । समझदारीअनुसार गठन हुने कार्यसमूहले छिट्टै कामदार आपूर्तिको प्राविधिक पक्षबारे टुङ्गो लगाउनेछ ।

नेपाल सरकारले विभिन्न शीर्षकमा कामदारसँग अवैध रूपले शुल्क लिँदै आएका एजेन्सी खारेजीसँगै छ महीनादेखि मलेसियाका लागि श्रमिक आपूर्ति ठप्प भएको थियो । मलेसिया सरकारले प्रवेशाज्ञा शुल्कबापत रू ७०० मात्र तोकेकामा विभिन्न एजेन्सीले स्वास्थ्य परीक्षण गर्न ३९ वटामात्र स्वास्थ्य संस्थाको एकाधिकार कायम गरी तोकेभन्दा बढी शुल्क लिँदै आएका थिए ।

बायोमेट्रिक प्रणालीको नाममा प्रति कामदार रु चार हजार ५००, स्वास्थ्य परीक्षणार्थ सफ्टवेयरमा नाम दर्ता गर्ने गरी मिग्रामका नाममा रू तीन हजार ४००, राहदानी सङ्कलन गरी नेपालस्थित मलेसियाको दूतावासम्म पु¥याउने प्रयोजनका लागि वन स्टेप सेन्टर (ओइससी)को नाममा रू दुई हजार ८००, इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आइएससी) को नाममा तीन हजार २०० तथा प्रवेशाज्ञा प्रक्रियाबापत (भिएलएन)को नाममा रू तीन हजार २०० गरी प्रतिकामदार रू १९ हजार ३२३ (मुअकर) सहित गैरकानूनीरूपमा लिने गरेका थिए । छ महीनाको अवधिमा कामदार आपूर्तिलाई सहज बनाउन भन्दै दुई मुलुकका अधिकारीबीच पाँच पटकसम्म कूटनीतिकस्तरमा छलफल हुनुका साथै दुई देशबीच तीन पटकसम्म श्रम समझदारीको मस्यौदा आदानप्रदान भएको थियो ।

मस्यौदालाई अन्तिम रुप दिन गत महीना नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो । गत असोज १२ गते मलेसियाको पुत्रजयामा नेपाली पक्ष र मलेसियाली पक्षबीच समझदारीपत्रका अन्तरवस्तुमा सहमति जुटेको थियो । नेपाल र मलेसियाबीच करीब दुई दशकदेखि श्रम सम्बन्ध रहे पनि आहिलेसम्म श्रम सम्झौता हुन सकेको थिएन । विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन ।

नेपाल र मलेसियाबीच रहेको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन यो समझदारीपत्र कोशेढुङ्गा सावित भएको मन्त्रालयको विश्वास छ । नेपालीका लागि मलेसिया सबैभन्दा ठूलो श्रम गन्तव्य मुलुक हो । वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीमध्ये मलेसियामा करीब ३० प्रतिशत कार्यरत छन् । अझै पनि मलेसियामा करीब पाँच लाख नेपालीले काम गरिरहेका छन् जसमा सबैभन्दा बढी सुरक्षा गार्ड छन् ।

श्रम समझदारीले नेपाल–मलेसिया सम्बन्धमा नयाँ आयामः मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम प्रदान गरेको बताउनुभएको छ ।

मलेसियाली समकक्षीसँग कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि आयोजित पत्रकार सम्मलेनमा उहाँले भन्नुभयो, “दुई देशबीच भएको समझदारीले नेपाल र मलेसियाबीचको सम्बन्धलाई उन्नतस्तरमा विकास गर्नेछ । यो एउटा ऐतिहासिक क्षण हो । यो ज्यादै सकारात्मक र सुखद् छ ।”