१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषादी हालेर मौरी मारेपछि किसान त्रसित



अ+ अ-

काठमाडौँ, १३ कात्तिक: दाङमा विषादी हालेर किसानको ४४ गोलामौरी मारिएपछि मौरी चराउन पुगेका किसान त्रसित भएका छन् । अन्य किसानका मौरीमा समेत सोही घटना दोहोरिन सक्ने आङ्का किसानमा छ । नेपाल मौरीपालक महासङ्घले यस्तै अवस्था रहे पेशाबाटै पलायन हुनुपर्ने अवस्था आउने भन्दै व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेलले चराउन राखिएको मौरीको गोलामा विष हालेर मार्नु किसानविरुद्धको अपराध भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न सरकारलाई आग्रह गर्नुभयो । पौडेलले पीडितलाई उचित क्षतिपूर्ति दिन समेत सरकारसँग माग गर्नुभएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा मौरी चराउने क्रममा चितवनको कालिका नगरपालिका–९ का किसान विकास नेपालको ४४ गोला मौरी विषादी हालेर नष्ट गरिएको महासङ्घले जनाएको छ । “मेरो ४४ गोलाभित्रै विष हालेको पाइयो, करीब २२ लाखको क्षति भएको छ, १८ गोला बेचेँ” नेपालले रासससँग भन्नुभयो । यस्तै अवस्था रहे व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउने नेपाल दुःखेसो गर्नुहुन्छ ।

महासङ्घका अध्यक्ष पौडेलका अनुसार अन्य मौरीमा क्षति नपुगोस् भनेर कात्तिक ४ गते विषादीले मौरी मरेपछि उक्त घारलाई सोमबार जलाएर नष्ट गरिएको हो । उक्त घटना पहिलो भने होइन । दाङमा पटक÷पटक यस्ता घटना भइरहेका छन् । विगतमा लक्ष्मी मानन्धरको मौरीका घार समेत यसैगरी नष्ट भएको थियो ।

विसं २०७३ मा पनि दाङको रामपुरमा खेम न्यौपाने र विष्णु भुसालको मौरीका गोला यसैगरी नष्ट गरिएको महासङ्घका अध्यक्ष पौडेल बताउनुहुन्छ । “व्यावसायिक मौरीपालनले गति लिन लागेको बेला यस्ता घटनाले हामीलाई आहत बनाएको छ,” पौडेलले भन्नुभयो, “दोषीलाई कारवाही नगरिए अपराधिक मनोवृत्ति बढ्छ र किसान निरुत्साहित हुन्छन् ।”

दाङ, मौरीको चरनका लागि मुख्य जिल्ला मानिन्छ । चितवन, काठमाडाँैलगायत तराईका जिल्लाबाट अहिले दाङमा मौरी चराउने किसानको भीड छ । तोरी र चिउरी पहिले नै फूल्ने भएकाले दाङमा चितवन, काठमाडाँै, मकवानपुर, सर्लाही, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहीलगायत जिल्लाका किसान मौरी चराउन पुग्ने गर्दछन् । दाङमा अहिलेको मौसममा चराउन विभिन्न जिल्लाबाट करीब ३० हजार गोला मौरी लगिएको अनुमान छ ।

चिउरीको मौसममा विभिन्न जिल्लाका किसान चितवनमा पनि मौरी चराउन पुग्छन् । नेपाल मौरीपालक महासङ्घ चितवन शाखा अध्यक्ष रोशन पण्डित बेलाबेलामा यस्ता घटना भइरहेको भन्दै मौरीको सुरक्षा गर्न सरकारसँग आग्रह गर्नुहुन्छ ।

महासङ्घका अनुसार नेपालमा अहिले पाँच हजार ५०० व्यवसायी मौरीपालक किसान छन् । अघिल्लो वर्षको तथ्याङ्कमा नेपालमा दुई हजार ४०० मेट्रिक टन मह उत्पादन भएको छ ।