७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

मार्क्स, केरा र अलैंची

मार्क्स, केरा र अलैंची
अ+ अ-
अभि सुवेदी
समाजवाद भनेको नेपालमा र अरूतिर पनि साधारण न्याय, श्रमको सम्मान र त्यसको उपभोग गर्न पाउने अधिकार हो । त्यत्ति त मिलाउनुपर्ने होइन र ? सम्झेंँ, मार्क्सले मजदुरमाथि लेखे पनि किसानहरू पनि उनका सिद्धान्तले समेटेकै वर्गमा पर्छन् । नेपालका किसान र विपन्नको विषयमा उनको सिद्धान्तको मूलजरो समातेर अरू सोचेंँ । अनि लेख्न मन लाग्यो । यो लेख त्यही हो ।

पहिले कार्ल माक्र्सको विचारका केही मूल कथन फेरि पढेंँ । क्यापिटलमा सन् १९३९ मा मात्र छापेर यसमा छैटौं अध्याय भनेर राखेको ‘उत्पादनका छिटोछिटो तरिकाको परिणाम’ भन्ने खण्ड छ । यसमा माक्र्सले भनेका कुराले मलाई छोइबस्छ । साहित्यकार भएकोले छुने कुरा खोजिरहन्छु । माक्र्सले मानिसको मूल्य गरेको कुरा यसमा महत्त्वपूर्ण छ । मलाई त्यत्ति कुरामा चाख छ । माक्र्सले माथि उल्लेख गरेको अध्यायमा लेखेका छन्, ‘पुँजीवादीले मजदुरलाई पेल्छ, तर यो पेलाइको अर्थ अर्को छ । यो निष्प्राण वस्तुले मानिसमाथि अधिकार गरेको कथा हो । मृत श्रमले जीवन्त श्रमलाई अधिकार गरेको कथा हो । यो उत्पादनले उत्पादकमाथि गरेको अधिकार हो ।’

माक्र्सले भनेको कारखानाको पुँजीपति र श्रमिकजस्तो नभएर यहाँ किसानको कुरा उठ्यो । त्यसो त क्यापिटलमा माक्र्सले किसानको विषयमा पनि नलेखेका होइनन् । अठारौं शताब्दीको अन्त्य र उन्नाइसौं शताव्दीका सुरुका वर्षहरूमा बेलायतका किसानलाई अति थोरै ज्याला दिएर काम लगाइएको कुराको वर्णन गरेका छन्, तिनले । मेसिन वा यन्त्रसँग अपरिचित ती विचरा साना किसानहरू, तिनका छोराछोरीलाई कठोर मिलमा काम गर्न लगिएको र साना ज्यालादारी बनाइएको वर्णन छ, त्यहाँ । त्यस्तो ज्याला अति थोरै हुन्थ्यो ।

विस्तारै तिनलाई कृषि श्रमबाट बञ्चित गरियो, जसले गर्दा ती अति गरिब भए । यसरी किसानहरू शक्तिहीन भए, अनि भूमिपतिका दास समान भए । माक्र्सले कृषकहरूलाई जमिनबाट निकालेको विश्लेषण क्यापिटलको सत्ताइसौं अध्यायमा गरेका छन् । तर मलाई नेपाली किसानको चरित्र फरक लागेको हो । ती साना छन्, स्वाभिमानी छन्, तर शोषित छन् । माक्र्सले वर्णन गरेकै अनभिज्ञ किसान ती होइनन् । ती कृषि उत्पादन गर्छन्, तर राज्यको सुरक्षा र तिनका श्रमको महत्त्वको रक्षा नगरिएको अवस्थामा छन् ।

मैले यसपालि पाएको केही फुर्सदमा माक्र्सको क्यापिटल यसरी पढेको कारण माक्र्सले देखेको कारखाना मालिक र मजदुरको सम्बन्धको विषय नभएर उपेक्षित बन्दै गएका किसानहरूको अवस्था बुझ्ने प्रयास हो । साधारण तर महत्त्वपूर्ण उदाहरण लिन्छु । बाहिरबाट अवैध आउने केराले केरा बिक्री नभएर विलौना गरिरहेका साना नेपाली किसानका समाचार देखेंँ मैले । निकै ठूला भूभागमा लगाएका तिनका केरा नेपाल शासन गर्ने सबै तहका सरकारका निम्ति अदृश्य थिए । अलैंची लगाउने किसानका त्यस्तै हविगत हेरेंँ । हामी लिम्बुवानमा अलैंचीलाई पहिचानको बाली मान्छौं । त्यसो त अरूतिर पनि अलैंचीको खेती गरिन्छ । खाडी मुलुकबाट फर्केर आफ्नै खेती गरेर राम्रो गरेका युवाका केही समाचार आए ।

तर तिनका उत्पादन बजारसम्म पुर्‍याउन नसकेका कथा सुने अनि देखेँ, ती शून्यमा काम गरिरहेका छन् । धेरै कथा छन् । यो संकेतसम्म हो । अनि सोध्न मन लाग्यो, ‘कमिनिष्ट दर्शनमा उत्पादनमा संलग्न श्रमिकको व्यक्तित्व र सिर्जनशील हुने उसको अवस्था के हो ? किसान, मजदुरको प्रतिष्ठा केमा छ ? त्यस्तै विपन्न किसानको व्यक्तित्व कहाँ छ ? उसले फलाएका धान, केरा, अलैंची, सुन्तला, स्याउ र उसले बाली लगाएर तयार पारेका उखुको नै ऊ मालिक होइन भने ऊ को हो ? यिनै कुराको कमिनिष्ट सरकारले कसरी हेर्छ र संविधानमा लेखिएको समाजवादमा त्यस्को वर्णन त छ, तर व्यवस्था कसरी हुन्छ ?’ म यी सबै कुराको सोझो उत्तर लेख्न सक्ने अर्थशास्त्री होइन, तर एक भावनात्मक चिन्ता भने राख्ने मानिस हुँ ।

एउटा अर्को कुराले पनि मलाई छुन्छ । त्यो हो, भक्तिवस्तु, प्रतिमा वा ‘फेटिस’को विषय । मलाई माक्र्सले लेखेको यो कुराले सोचमा पारिबस्छ । माक्र्स लेख्छन्, ‘श्रम गर्नेबाट तिनले नै उत्पादन गरेका वस्तु टाढा हुँदै जान्छन् । श्रमिकले ती प्रयोजनीय वस्तु वा कमोडिटीमा आफ्नो इच्छा र आफ्नो आत्मा राखेका हुन्छन् । तिनले त्यही देख्छन् ।

ती उत्पादन गरेका वस्तुले नै मानिसलाई किन्छन् कि जस्तो पो देखिन थाल्छ । अनि ती आफ्नो आत्मा र इच्छा राखेका वस्तुलाई तिनबाट अलगिएका, एक्लिएका श्रमिकले, माक्र्सका शव्दमा, ‘फेटिस’ वा भक्तिभाव जगाउने प्रतिमा पो हुन् कि जस्तो देख्छन् ।’ मैले नेपालमा कमिनिष्ट शासन गर्ने र जताततै त्यो शक्ति लिएर बसेकाहरूलाई त्यो बेला सोध्न मन लागेका प्रश्न सरल छन्– आफूले लगाएका उखु कारखानामा पसेपछि किसान तीबाट अलग भए त ? आफ्नो उखुको मूल्य नपाएका किसानका निम्ति चिनी ‘फेटिस’ भयो त ? केरा उत्पादन गरेर बजारमा अर्कैको अतिक्रमण भएका असुरक्षित किसानको बाली, अदुवा र अलैंची उत्पादनमा अनेक गरेर लागेका श्रमिकको उत्पादन पनि बजारको व्यवस्था नगरिदिँंदा ‘फेटिस’ नै भयो त ?

नेपालमा माक्र्सवादीहरूले पहाडै पल्टाउनुपरेको पनि छैन । किसान, विपन्न मानिसका श्रमको सम्मान र तिनका उत्पादन तिनका आफ्ना नभएर सामन्त शैलीका मालिकका हुने अवस्था परिवर्तन गरिदिनुपर्‍यो । अर्थशास्त्री भाइहरूले लेख्लान् । भनिदेलान्, नेपालमा श्रम, श्रमिक, उत्पादनमा मानिसले प्रयोग गर्ने अधिकारको बुझिने स्वरूप भ्रष्ट रूपमा परिचालित पुँजी, त्यसको राजनीति, शासन पद्धति, चुनावमा प्रयोग हुने अराजक पद्धतिले गर्दा अब नबुझिने भएकै हो त ? समाजवाद भनेको नेपालमा र अरूतिर पनि साधारण न्याय, श्रमको सम्मान र त्यसको उपभोग गर्न पाउने अधिकार हो ।

त्यत्ति त मिलाउनुपर्ने होइन र ? अब ती सबै कुरा ल्याङफ्याङ भएकै हो त ? भूमि हिजोको रहेन । मलको प्रयोग र बिउबिजनको कारणले त्यो मर्दै गएको छ । वन्दना शिवले काठमाडौंमा एउटा प्रस्तुतिमा भनेको सम्झिन्छु, ‘किसानहरू मल, बिउ, यन्त्र सबैतिरबाट व्यापारी र अन्तर्राष्ट्रिय खेलको चक्करमा परिरहेका छन् ।’ नेपालका कमिनिष्ट सरकारले माक्र्सका एकाध माथि भनिएका कुरामात्रै बुझिदिएर अहिलेको समयको चुनौती अनुसार काम गर्नैपर्ने हो । तर अर्थ र अर्थनीतिका अर्कै चरित्र, अर्कै स्वरूप देखिन लागेका हुनाले सायद त्यो सरल विषयले अब काम दिँंदैन कि त ?

यो दसैंको बेलामा अरू केही अनौठा अनुभव भए । तरङ्ग चले । ध्वनि उठे । नेपाल र बाहिर फराकिलो जगत अनेकौं आकारमा देखियो र पढियो । एकपछि अर्को भ्रम, समाधानका थोरै समस्याका धेरै विषय पढेंँ । लेख्ने ठाउँ पुग्दैन ।

युभाल नोह हरारी नामका इजरायली तेजिला प्राध्यापकको ट्वेन्टिवान लेसन फर द ट्वेन्टि फस्ट सेन्चुरी (२०१८) किताब पढ्नु, शृङ्खला नमिलेको पश्चिमी र यताकै जगतमा भएका घटना हेर्नु र पढ्नु, हत्याका क्रमहरू हेर्नु, बालकहरू चढेका बसमा ठूला शक्तिशालीका बम खस्नु, बालकहरू भोकभोकै खिइँंदै गएर विलाएका दृश्यहरू हेर्नु, उत्तरी ध्रुवका हिउँका विशाल फाँट पग्लिंँदै गएको र छिटोछिटो कुद्ने विशाल टाउफुन–आँधीहरू अमेरिका, एसिया र युरोपका किनारी सहरहरूलाई भुत्ल्याउँदै अघि बढ्नु, अमेरिका र अरू मुलुकमा आम सञ्चारमाथि आक्रामक भाष्यका प्रयोग हुनु यसपालिको दसैंमा किञ्चित विचारको तहबाट पनि राम्ररी हेरेर बोध गरेका विषय भए, मेरानिम्ति ।

हजारौं मानिस आफ्ना देशमा परिस्थिति असह्य भएर अर्को सम्पन्न मुलुकतिर लागेका दृश्यले भन्छन्, फेरि एकपटक सीमाहरू अनि राजनीतिक र वैचारिक सिद्धान्त अर्थहीन हुँदै गएका छन् । आफ्नै वरिपरि हेर्दा बढी अर्थ खुल्छन् ।

यसपालिको वर्षा ठूलै थियो । कोशी नदीको बाढीले प्रताडित वर्षौंदेखि अदृश्य भएर बसेका मानिसका सीमान्त पीडाका दृश्य हेरेंँ । तिलाठीमा भूमि, बाँध र तरङ्ग भोग्ने जनताका पुनरावृत्ति हुने सीमान्त हविगत केही टिभीका प्रतिभाशाली रिपोर्टरहरूले गएर खिचेका समाचार भर्खरै हेरेको थिएँ ।

लाग्यो, यसपालिको मनसुन र बाढी जेनतेन उनीहरूले धाने होलान् । यसपालिको वर्षा पनि जेनतेन धानेका, जीवन्त आर्काइभ सदृश भइसकेका प्राकृतिक प्रकोपले विस्थापित मानिसका पीडाका कथा, देशैभरि पुरा नभएका सडक, भवन र ठेक्काका वर्णन र दृश्य अनि बलात्कार र हत्याका समाचारका पुनरावृत्ति सुनेर बस्दा एकाध कुरा मेरो मनमा उठे । ती प्रश्नको उत्तर खोज्न मैले केही सिद्धान्तको सहारा लिएँ । छलफलका धेरै विषय छन् । यहाँ लेख्न सकिँंदैन ।

हाम्रा राजनीतिक दृष्टिका रचनाकार को हुन् ? यसको उत्तरमा हेगेल र माक्र्सीय शैलीको गतिशील इतिहासका प्रेरणाले अद्र्धमुदित आँखा भएका विपन्न वर्ग र किसानका निम्ति काम गर्ने माक्र्सवादी नेताहरू खोजिरहनुभन्दा कसले लोकतन्त्र, मान्छेका अधिकार र गरिब, निस्सहाय मानिसका निम्ति काम गर्ने नीति र सोच राख्छन् र के गर्दैछन्, त्यत्ति कुराको उत्तर खोज्नुमा मात्र समयको सदुपयोग गरिएको ठहर्नेछ । तर नेपालमा माक्र्सवाद एक भाष्यमात्रै भएको हो कि त ?

कान्तिपुर दैनिकबाट साभार

प्रकाशित : कार्तिक १७, २०७५ ०७:५४