७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

अमेरिकी मध्यावधि निर्वाचन, ट्रम्पको अग्निपरीक्षा

अमेरिकी मध्यावधि निर्वाचन, ट्रम्पको अग्निपरीक्षा
अ+ अ-

सोमनाथ लामिछाने

 संयुक्तराज्य अमेरिकामा यही नोभेम्बर ६ अर्थात् कात्तिक ६ गते मङ्गलबारका दिन मध्यावधि चुनाव हुँदैछ । यो चुनाव अमेरिकी प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति हुन लागेको हो । हाल अमेरिकी दुवै सदनमा बहुमतमा रहेको रिपब्लीकन पार्टीले बहुमत जोगाउने कसरतमा सम्पूर्ण शक्ति लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एवम् चुनावी मत सर्वेक्षणमा रिपब्लीकन पार्टीले फेरि दुवै सदनमा बहुमत ल्याउन सक्ने देखाएका छन् । अमेरिकी ४३५ सदस्यीय तल्लो सदन प्रतिनिधिसभामा हाल रिपब्लीकन पार्टीको २३५ र डेमोक्र्याटिक पार्टीको १९३ स्थान छ । सात स्थान रिक्त छ । यस पटक यी सबै स्थानमा चुनाव हुँदैछ ।

तर १०० सदस्य रहने माथिल्लो सदन सिनेटमा ३५ स्थानका लागि चुनाव हुँदैछ । अमेरिकी नीति निर्माणमा निकै महत्वपूर्ण मानिने सिनेटमा हाल रिपब्लीकन पार्टीको ५१, डेमोक्र्याटिक पार्टीको ४७ र स्वतन्त्र २ स्थान छ । अर्थात् सिनेटमा रिपब्लीकन पार्टीको बहुमत छ । यस चुनावमा ३५ स्थानका लागि मात्र चुनाव हुनेछ । अमेरिकी सिनेटमा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यका लागि चुनाव हुने संवैधानिक प्रावधान छ । यस चुनावमा डेमाक्र्याटिक पार्टीले प्रतिनिधित्व गरेका २३ स्थान, रिपब्लीकनले प्रतिनिधित्व गरेका आठ स्थान र स्वतन्त्र दुई स्थानका लागि चुनाव हुनेछ । साथै रिक्त भएका दुई स्थानमा पनि चुनाव हुनेछ । यसैगरी, अमेरिकाका विभिन्न ३६ राज्य र तीन वटा अधिकृत क्षेत्र (टेरिटोरिज)मा गभर्नर पदका लागि चुनाव हुँदैछ ।

चुनावको महत्व

अमेरिकी संसदको चुनावको नतिजा खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अत्यन्त महत्वपूर्ण रहेको छ । यो चुनावमा संसद्मा रिपब्लीकन पार्टीले बहुमत गुमाएमा राष्ट्रपति ट्रम्पका धेरैवटा महत्वाकाँक्षी योजना अलपत्र पर्नेछन् । डेमोक्र्याटले बहुमत हासिल गरेको खण्डमा राष्ट्रपति ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपतीय चुनावका सम्बन्धमा भइरहेको छानबिनले नयाँ मोड लिने र अन्ततः संसद्मा महाभियोगको प्रस्तावसम्म आउने अडकलबाजी भइरहेका छन् । त्यहीकारण राष्ट्रपति ट्रम्प दिनरात चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ । ट्रम्पले चुनावी सभामा खासगरी डेमोक्र्याट पार्टीका सबैजसो नीतिको कडा शब्दमा आलोचना गर्नुभएको छ । खासगरी उदार अर्थव्यवस्था र आप्रवासी नीतिमा डेमोक्र्याटिक पार्टीले लिएका नीति मुलुकको अहितमा रहेको उहाँको ठम्याइ छ । होन्डुरसबाट पलायन भएका करिब सात हजार मानिस अमेरिका प्रवेश गर्ने भन्दै मेक्सिको–अमेरिका सीमातर्फ अघि बढेको र तिनीहरुलाई डेमोक्र्याट्सले मद्दत गरेको उहाँको आरोप छ ।

अमेरिका प्रवेश गर्न चाहने यो समूहलाई रोक्न ट्रम्पले दक्षिणी सीमामा ठूलो संख्यामा फौज पठाउनुभएको छ । उहाँले कुनै आप्रवासीले अमेरिकी सैनिकमाथि ढुङ्गामुढा गरे गोली चलाउने आदेश दिइएको बताउनुभएको छ । अमेरिकामै रहेका आप्रवासीमाथि पनि डेमोक्र्याटले अनावश्यक संरक्षण दिएको ट्रम्पको भनाइ छ । अझ, ट्रम्पले आप्रवासीबाट जन्मने बालबच्चालाई अमेरिकी नागरिकता दिने विगतको अमेरिकी नीति खारेज गर्ने चेतावनीसमेत दिनुभएको छ । आप्रवासीका सम्बन्धमा आफ्ना नीतिको कार्यान्वयन गर्न ट्रम्पसँग संसदको बहुमत आफूसँग हुनुको विकल्प छैन ।

मतसर्वेक्षण

फाइनान्सीयल टाइम्सले गरेको पछिल्लो मतसर्वेक्षणमा अमेरिकी संसद्को दुवै सदनमा रिपब्लीकन पार्टीले झिनो बहुमत हासिल गर्ने सम्भावना रहेको देखाएको छ । अमेरिकी सिनेटमा यसपटक चुनाव हुने ३५ स्थानमध्ये २३ स्थान डेमोक्र्याट्स पार्टीका भएकाले डेमोक्र्याट्स पार्टीलाई आफ्नो स्थान जोगाउनुपर्ने चुनौती मात्र होइन रिपब्लीकन पार्टीले जितेका स्थान पनि जित्नुपर्ने चुनौती छ । फाइनान्सीयल टाइम्सका अनुसार डेमोक्र्याट्सले ४३ स्थानमा र रिपब्लीकनले ४९ स्थानमा विजयी हुने प्रबल सम्भावना छ । बाँकी ८ स्थानमा को विजयी हुन्छ, निर्णय गर्न कठिन रहेको बताइन्छ । डेमोक्र्याट्सले यसअघि सिनेटमा विजयी गरेका स्थानमा ट्रम्पले सन् २०१६ मा ठूलो विजय हासिल गरेकाले पनि डेमोक्र्याट्समाथि चुनौती बढेको हो ।

आर्थिक परिसूचक

राष्ट्रपति ट्रम्पले दाबी गरेझैं अमेरिकी अर्थतन्त्रमा ४.२ प्रतिशतको आर्थिक वृद्धि भइरहेको छ, बेरोजगारी दर घटेको छ, र अमेरिकी अर्थतन्त्रको झलक दिने न्यूयोर्क स्टक एक्सचेन्जका परिसूचक सकारात्मक छन् । ट्रम्पले लिएका आर्थिक नीतिले अमेरिका र विश्वमै फेरि आर्थिक मन्दी आउने अर्थविदहरुको भनाइ रहेपनि त्यस्तो अनुमान सही रहेन । यो मध्यावधि चुनाव ट्रम्पका आर्थिक नीतिमाथिको जनमत सङ्ग्रहका रुपमा पनि हेर्ने गरिएको छ । ट्रम्पलाई रुचाउने मानिसको सर्वेक्षणमा रेटिङ ५० प्रतिशतभन्दा तलै छ, अर्थात् आधाभन्दा कम अमेरिकीले मात्र उहाँलाई रुचाएको देखिएको छ । रेटिङमा तलै परेपनि “राष्ट्रवादी” ट्रम्पको खरो र आक्रामक प्रस्तुतिले अन्तिममा मतदातालाई आफूतिर आकर्षित गर्ने सम्भावना छ ।

विभाजनकारी मनोदशा

अमेरिकी चुनावमा कतिपय नीतिलाई लिएर चर्को बहस, छलफल र विचारविमर्श हुनु अनौठो होइन । तर राष्ट्रपति ट्रम्पले अमेरिकी चुनावी मनोदशा र प्रवृत्तिमै फरक शैली ल्याएको आरोप लाग्न थालेको छ । अमेरिकी समाजको जग नै विभक्त हुनथालेको अमेरिकी सञ्चार माध्यमको भनाइ छ । केही दिनअघि मात्र एकजना ट्रम्प समर्थकले डेमोक्र्याट्स पार्टीका सबै शीर्ष व्यक्ति र पूर्व राष्ट्रपतिका घर एवं सिएनएनको कार्यालयमा हुलाकमार्फत बम पठाएर आतङ्कित बनाए । अर्का एक व्यक्तिले यहूदी विरोधी नीतिको अन्ध समर्थन मात्र गरेनन् पिट्सबर्गमा १२ जना यहूदीको गोली हानी हत्या समेत गरे । गोराको बर्चश्व अमेरिकामा गुम्दै गएकाले त्यसलाई पुनर्जीवित तुल्याउनु पर्दछ भन्ने समूहले बेलाबखत अमेरिकाभर नै जुलुस निकाल्न थालेको छ, र त्यसलाई ट्रम्पले खुलेआम समर्थन गर्नुभएको छ । कैयौं प्रबुद्ध व्यक्ति, सेलिब्रेटी, विपक्षी नेता, आलोचक र मिडियामाथि उहाँले दिनरात ट्वीटमार्फत् गर्ने कटाक्षले अमेरिकी समाजको आधारभूत सिद्धान्त र मान्यतालाई नै कठघरामा उभ्याएको छ ।