२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वरेकवासीको आशा जगाउँदै प्याराग्लाइडिङ विश्वकप



अ+ अ-

वासुदेव पौडेल

स्वरेक स्याङजा, १९ कात्तिक – गण्डकी प्रदेशस्थित स्याङ्जा जिल्लाको पर्यटकीयस्थल स्वरेकमा प्याराग्लाइडिङको विश्वकप सञ्चालनले यहाँका स्थानीयवासीमा आशा जगाएको छ ।

वरपरका रमणीय हिमाली एवं पहाडी दृश्यको एकसाथ अवलोकन गर्न सकिने थुम्कै थुम्कायुक्त स्वरेकले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गरेको छ । प्याराग्लाइडिङको विश्वकप सञ्चालन हुँदै गर्दा यतिखेर विभिन्न २१ देशका खेलाडी, प्रशिक्षक एवं निर्णयक टोली स्वरेकमा पुगेका छन् । नेपालमा नै पहिलो पटक भएको विश्वकप प्रतियोगिता अन्तर्गतको प्याराग्लाइडिङले यहाँका स्थानीयवासीमा ठूलो आशा जगाएको नमूना स्वरेक सहयोगी समाज स्याङ्जाका अध्यक्ष घनश्याम पाण्डेले बताउनुभयो ।

“स्वरेक आफैंमा धेरै सम्भावना बोकेको ठाउँ हो,” उहाँले भन्नुभयो, “नेपालमा पहिलोपटक भएको विश्वकप प्रतियोगिता अन्तर्गतको प्याराग्लाइडिङले यतिखेर यस ठाउँले अन्तर्राष्ट्रिय रुपमा चासो पाएको छ ।” विश्वकप सञ्चालनसँगै आगामी दिनमा यहाँको विकासमा राज्यको ध्यान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

स्वरेकमा प्याराग्लाइडिङको पढाइ हुने बाबु एडभेन्चर स्कुल सञ्चालनमा आइसकेको छ । समुद्री सतहबाट एक हजार ६०० मिटर उचाइको पर्यटकलाई लोभ्याउने झण्डै १० वटा रमणीय थुम्कायुक्त स्वरेक सिद्धार्थ राजमार्गको बयरघारीबाट सुन्दरबजार, स्वरेक भञ्ज्याङ, पाण्डे गाउँ, गुरुङसेनी डाँडा, गौंडा हुँदै लगभग नौ किलोमिटर दुरी पार गर्दै पुग्न सकिन्छ ।

यहाँबाट माछापुच्छ«े, धवलागिरि, अन्नपूर्ण लगायतका हिमशृङ्खला एक साथ अवलोकन गर्नका लागि पनि पर्यटक लोभिने गरेको स्वरेक कालिका टोल विकास संस्थाका सचिव शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार रातको समयमा यहाँबाट पाल्पा बजार, स्याङ्जाकै सिरुवारी लगायतका स्थानको अवलोकन गर्न सकिन्छ । सुन्तलासहित मकै कोदो, भटमास, पिँडालु जस्ता कृषिजन्य उत्पादन यस क्षेत्रमा राम्रो हुने गरेको छ । बढ्दै गएको पर्यटकीय आकर्षणले यहाँका उत्पादन यही क्षेत्रमा खपत हुने आशा जगाएको छ ।

“प्याराग्लाइडिङको विश्वकप सञ्चालनसँगै स्वरेक स्याङजाको मात्र नभै अन्तर्राष्ट्रियस्तरकै गन्तव्यमा सूचीकृत बनिसकेको छ,” टोल विकास संस्थाका सचिव पाण्डेले भन्नुभयो, “आगामी दिनमा हुने पर्यटकको आगमनलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा आवश्यक पूर्वाधार विकासका साथै घरवास कार्यक्रमलगायतमा सहयोग गर्नु आवश्यक छ ।”

नेपालका बाइसे चौबिसे राजाको पालादेखि नै अस्तित्वमा आएको विश्वास लिइने यहाँस्थित स्याङजा भैरवकालिका मन्दिर, भगवान रामचन्द्र आएर बसेको विश्वास गरिने राजेन्द्र भवानी मन्दिरजस्ता स्थल धार्मिक पर्यटकीय आकर्षण हुन् । स्वरेकको पर्यटकीय आकर्षणलाई लक्षित गरी यहाँको पूर्वाधार विकास गर्न नेपाल पर्यटन बोर्ड पोखरा कार्याालयले आर्थिक वर्ष २०७३÷७४ मा र २०७४÷७५ मा सात÷सात लाख रुपैयाँ लगानी गरिसकेको कार्यक्रम अधिकृत प्रदीपराज गैरेले जानकारी दिनुभयो । “स्वरेकमा प्याराग्लाइडिङको विश्वकप हुनुले यस ठाउँलाई खेल पर्यटनको पनि विशिष्ट गन्तव्यको पहिचान गराएको छ ,” उहाँले भन्नुभयो ।