३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काङ्ग्रेस उपसभापतिमा गच्छदार, महासमिति मङ्सिर २८ देखि

काङ्ग्रेस उपसभापतिमा गच्छदार, महासमिति मङ्सिर २८ देखि
अ+ अ-

काठमाडौँ, २० कात्तिक: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको उपसभापतिमा पार्टी संसदीय दलको उपनेता विजयकुमार गच्छदार मनोनयन हुनुभएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकताका सम्बन्धमा भएको सहमतिअनुसार उहाँलाई उपसभापति पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।

बैठकले काङ्ग्रेसको साङ्गठनिक संरचनामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका पार्टीगत संरचना एवं भ्रातृ र शुभेच्छुक सङ्घसंस्थाको समायोजनसम्बन्धी आवश्यक कार्य गरी प्रतिवेदन पेश गर्न एक समितिसमेत गठन गरेको छ ।

सो कार्यका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यस समितिले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रतिवेदन पेश गर्नेछ ।

महासमितिको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने भनिएको पार्टीको महासमितिको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको छ ।

दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्व प्रारम्भ भइसकेको र सो समयमा केन्द्रीय कार्यसमितिको बैठक बस्न व्यावहारिक नहुने भन्दै महासमिति बैठकको मिति सारिएको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।

बैठकले काङ्ग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३८ बमोजिम गठन हुने केन्द्रीय लेखापरीक्षण समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालको नाममा रहेको जग्गामा व्यापारिक मल र सभागृह बनाउने तयारी गरिएको कुराप्रति काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालको जग्गा कुनै पनि निकाय वा तहले अन्य प्रयोजनका लागि प्रयोग गर्ने÷गराउने कार्य गलत भएको ठहर गर्दै त्यस्तो कार्य अविलम्ब रोक्न बैठकले सम्बन्धित पक्षलाई सचेत गराएको छ ।

बैठकले सर्लाहीको रामनगर गाउँपालिका–४ का काङ्ग्रेस कार्यकर्ता रामविलास महतोलाई गोली हानी हत्या गरेको घटनामा संलग्नलाई तत्काल कानूनी कारवाही गर्न माग गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा सो घटनाका मृतकलाई शहीद घोषणा गरी घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ ।

बैठकले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको दीपावली, नेपाल संवत्, छठलगायत पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीमा सुख, शान्ति र समृद्धिको शुभ–कामना व्यक्त गरेको छ ।

काङ्ग्रेसले मानव अधिकारवादी तथा पूर्वस्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गरेको छ । बैठकले डोल्पामा सोमबार जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । बैठकले सो घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।