१ पुष २०८२, मंगलवार
,
Latest
प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छः प्रदीप पौडेल एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाञ्चलमा आजदेखि सामाचकेवा पर्व शुरु



अ+ अ-

संजीतकुमार मण्डल

गौशाला, २६ कात्तिक: मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामाचकेवा पर्व आजदेखि शुरु भएको छ ।

सामाचकेवा पर्व आज पञ्चमीदेखि शुरु भई दश दिनसम्म चल्नेछ भने एघारौँ दिन पूर्णिमाका दिनमा राति सामाचकेवाको विसर्जन गरी यो पर्वको समापन हुनेछ ।

दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्नेछन् । आजको दिन बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याएका छन् भने सो माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामाचकेवा बनाएका छन् ।

सामाचकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ भरेर सामाचकेवा रङ्गीचङ्गी बनाउने छन् । रङ्गीसकेको सामाचकेवा रातिका बेला रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कूल, धर्मशाला, मन्दिर र छठ घाटमा समेत लगेर १० दिनसम्म गीत, नाच गर्दै चेलीबेटीले सामाचकेवा खेल्नेछन् ।

समूहगतरुपमा चेलीबेटी तथा छोरीबुहारी यस्तो गीत गाउँछन्–

‘गामके अधिकारी तोहे बरका भैया हो,
भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइदिए’
सामाचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो”

दश दिनसम्म सामाचकेवा खेलेर दिदीबहिनीले एघारौँ दिनमा बिहानै सामाचकेवालाई पुनःबनाउने रङरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामाचकेवालाई दहीचिउरा खुवाएर सोही सामाचकेवाबाट दाजुभाइको फाँर भराउने तथा दाजुभाइबाट सामाचकेवा फुटाउन लगाएर सामाचकेवालाई बाजागाजा, गीतनादका साथ दिदीबहिनीले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् ।

मिथिलाञ्चलकी हरेक दिदीबहिनीले सामाचकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सामाचकेवा पर्वका बेला सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोहीअनुरुप यस पर्वमा टाढाटाढाबाट दिदीबहिनी सामाचकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् ।

मिथिलाञ्चलका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामाचकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निक्कै महत्वपूर्ण मानिन्छ ।

यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यस पर्वलाई मनाउने गर्दछन् । सामाचकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वासअनुरुप तराईको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लामा यो पर्व लोकप्रिय रहेको छ भने हर्षोल्लासका साथ यी ठाउँमा यो पर्व मनाउने गर्दछन् ।

मिथिलाञ्चलमा छठ पर्वको सन्ध्याकालीन अघ्र्य दिनुभन्दा एक दिनपूर्व आजदेखि सामाचकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् ।

यस पर्वमा स–साना नानी बढी उत्साहित रहने गर्दछन् भने बूढी आइमाइलेसमेत यस पर्वको रमझममा आफूलाई रमाउन खोजेका हुन्छन् ।