७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

कसको, कुन समाजवाद ?

कसको, कुन समाजवाद ?
अ+ अ-

विष्णु सापकोटा

काठमाडौँ — लेनिनले रूसका विख्यात लेखक लियो टल्सटायलाई कति पढे थाहा छैन तर अहिले नेपालमा राज्य सञ्चालनको जिम्मेवारीमा रहेका धेरै वामपन्थी नेताहरूले टल्सटायलाई भन्दा लेनिन र सोभियत समाजवादलाई नै बढी पढेको सहजै अनुमान गर्न सकिन्छ । पूर्व सोभियतकालका भए पनि टल्सटायको ‘खोल्स्तोमर’ शीर्षकको एउटा मार्मिक र चर्चित ‘समाजवादी’ कथा छ । त्यसमा कथावाचकको भूमिकामा एउटा घोडा हुन्छ । कथावाचक घोडालाई एकदिन नयाँ ‘मालिक’ ले किन्छ र भन्छ: ‘आजबाट यो घोडा मेरो हो ।’ घोडा छक्क पर्छ । ऊ सोच्छ: म त म नै हुँ, कसरी आज एउटाको, भोलि अर्काको हुन सक्छु ? अनि अर्को प्रसंगमा त्यही घोडाले थहा पाउँछ: उसको मालिकले कुनै एक महिलालाई ‘आफ्नी’ (पत्नी) भन्छ । तर ती महिला अर्कैसँग भएको उक्त घोडाले देख्छ र सोच्छ: अर्कैसँग समय बिताउने महिला कसरी त्यो मालिककी ‘आफ्नी’ भइन् ? त्यस्तै, एउटा अर्को मालिक छ, जसका थुप्रै घर हुन्छन्, विभिन्न ठाउँमा । ती घरलाई उसले ‘आफ्नो’ भन्छ । तर घोडा छक्क पर्छ: आफूले देख्दै नदेखेको र आफू बस्दै नबस्ने घर कसरी उसको ‘आफ्नो’ भयो ?

सुरुमा अल्मलिएको घोडाले पछि थाहा पाउँछ कि मान्छेहरूले प्रयोग गर्ने शब्द र अर्थको बीच खासै सम्बन्ध हुँदोरहेनछ । मान्छेहरूले रमाइलोका लागि जे पनि बोल्दारहेछन् । यतिसम्म कि एउटा जमिनको टुक्रो हुन्छ, जसलाई कुनै मानिसले ‘मेरो’ भनेको हुन्छ । तर उक्त जमिनलाई कुन मान्छेले ‘मेरो’ भनेको हुन्छ भन्नेसँग कुनै चासो नै हुँदैन ।

मान्छेको चिन्तन र जीवनशैलीको यो सबै विसंगति देखेपछि उक्त घोडा के निष्कर्षमा पुग्छ भने जब बोल्नु र गर्नुको बीच केही सम्बन्ध नै छैन भने यस्ता मान्छेका कुरालाई किन महत्त्व दिनु ? मलाई जसले ‘मेरो घोडा’ भने पनि म आखिर म नै हो, म यिनीहरू कसैको हुने होइन । नेपालको नयाँ संविधानको प्रस्तावनामा उल्लेख गरिएको ‘समाजवाद’ टल्सटायको त्यही कथाको घोडा हो भन्नका लागि अब तर्कको जरुरी नै छैन । किनकि, त्यसका लागि प्रमाणहरू स्थापित भइसकेका छन् ।

नेपालको पछिल्लो संविधान संसारकै उत्कृष्ट हो भनेर भन्ने क्रम अहिले पातलिएको होला तर रोकिएको छैन । त्यसमा पनि ‘समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने’ भनेर प्रस्तावनामै समाजवाद उल्लेख गरिदिएपछि नेपालको सन्दर्भमा समाजवाद ठीक छ कि बेठिक भनेर गरिने बहसै एक हिसाबमा ‘गैरसंवैधानिक’ हो ।

तसर्थ संविधानको प्रस्तावनाविपरीत गएर समाजवादी विचारधारा ठीक छ कि छैन भनेर तर्क गर्नु जरुरी छैन । त्यो जरुरी किन पनि छैन भने संविधानमा उल्लेख गरिएको समाजवाद कुनै ठोस सिद्धान्त, नीति तथा राजनीतिक दृष्टिकोणसँग सम्बन्धितै छैन तर पनि चाहे कम्युनिस्ट हुन् वा कांग्रेस या राप्रपा र विवेकशील साझाजस्ता दलहरू नै किन नहुन् सबैको साझा विश्वास के छ भने समाजवादी हौं भनेर भन्नु राम्रो हो । किनकि नेपालको ७ दशकको राजनीतिक यात्रामा समाजवाद भनेको राम्रो हो भनेर मानिसहरूको मनोविज्ञानमै स्थापित भएको तथ्य हो ।

समाजवाद कस्तो खाले हुनुपर्छ भन्नेसँग धेरैको चासो छैन । चासो समाजवादसँग मात्र छ । अरू कुरा धेरै नबुझ्ने भए पनि हाम्रा नेताहरूले जनताको त्यो मनोविज्ञान बुझेका छन् । त्यसैले प्रधानमन्त्री केपी ओलीदेखि नेकपाका अर्का अध्यक्ष प्रचण्डसम्म सबैले अब हामी समाजवादी चरणमा प्रवेश गर्‍यौं भनेर बोल्न थालेको त्यति नै समय भयो, जति संविधान जारी गरेको भयो ।

तर त्यसरी बोल्ने सबै नेतालाई के प्रस्टसँग थाहा छ भने समाजवाद एउटा बोलिदिने कुरा हो । समाजवादी हुँ भनेर बोलिदिएपछि उसलाई कुनै पुरानो निष्ठावान् कम्युनिस्ट कार्यकर्ताले वामपन्थ किन छाडेको भनेर प्रश्न गर्दैन । बीपी कोइरालाले देखाएको बाटो छाडेको छैन भनेर देखाउन कांग्रेसीलाई समाजवाद सजिलो अस्त्र भएको छ । किनकि यिनीहरू सबैले भन्ने समाजवाद कुनै समाजवादै होइन ।

यतिसम्म कि कांग्रेसका नेता रामचन्द्र पौडेलले भन्ने समाजवाद र नेकपाका प्रचण्डले भन्ने समाजवाद

ठ्याक्कै एउटा हो कि फरक– कसैले उनीहरूलाई सोधेको पनि छैन । मुलुकलाई चाहिन्छ कि चाहिँदैन भन्दा पनि प्रत्येक दिनजसो नै केही ‘प्रमुख’ नेताले नेपाल अब समाजवादतर्फ लम्क्यो भनिरहेकै छन् तर ‘समाजवादी’ संविधान जारी भएपछिका ३ वर्ष मात्र होइन, उक्त समाजवाद लागू गर्न निर्वाचित सरकार गठन भएपछि कहाँ के सुरु भयो जसका आधारमा भन्न सकियोस् कि अहिलेको सरकारको नीति समाजवादी हो ?

खासगरी सत्ताधारी नेकपाका नेताले दिनैपिच्छेको भाषणमा भन्ने गरेको नेपालको अबको गन्तव्यवाला समाजवादको मोडल के हो र त्यो कहाँबाट कुन नीतिमा सुरु भएको छ वा हुनेवाला छ ?

के अब प्रस्ट भएको छ भने नेपालको राजनीतिमा विगत केही वर्षदेखि हावी हुँदै आएका प्राय: नेताहरू कुनै पनि प्रकारका ‘वादी’हरू होइनन् । तिनीहरू न समाजवादी हुन्, न पुँजीवादी न अन्य कुनै । न त धर्मका नाममा राजनीति गर्न खोज्नेहरू नै कुनै धार्मिक प्रवृत्तिका मानिस हुन् ।

यदि यिनीहरू केही हुन भने ती केवल राजनीतिक पेसाकर्मी हुन्, जसले आफ्नो पेसामा रहिरहन र व्यक्तिगत उन्नति गर्न जे बोल्दा काम चल्छ, त्यही बोल्छन् । यस आधारमा त नेताहरूले समाजवाद वा अन्य जेजे वाद भन्दा पनि वास्ता नगरी छाडिदिए पनि हुने हो– माथि कथाको घोडाले जस्तै । तर प्रत्येक दिनजसो ‘नेपाल अब समाजवादको गन्तव्यमा हिँडिसक्यो’ भनेर गरिने भाषण र उनीहरूका नीतिगत प्राथमिकताबीच यति धेरै तादात्म्य शून्यता छ कि प्रत्येक पटक त्यो भाषण सुन्दा नागरिकलाई आफ्नो ‘इन्टेलिजेन्स’लाई हेपेको महसुस हुन थालेको छ ।

अहिले देशमा जुन नेतृत्व हावी छ, यिनीहरूमध्ये केही आफू लोकतान्त्रवादी हौं भन्दै आए तर यिनीहरू आफू कहिल्यै लोकतात्रिक हुनु चाहिँ परेन । अनि यिनीहरू आफू माक्र्सवादी हौं भनेर आए, जनताले त्यो पनि पत्याइदिए । यिनीहरू आफैं पुँजीवादका विकृतिमा निर्लिप्त भई नै सके तर जनताले आफूलाई माक्र्सवादी भनिदिऊन् भन्ने आग्रह राखी नै राखे । आफूलाई माओवादी हौं भनेर आएकाहरू आफू स्वयम् जे भइसकेको भए पनि जनताले उनलाई माओवादी नै भनेर बुझिदिनुपर्ने आग्रहरह्यो । धर्म मान्दै नमान्नेहरू धर्मका नारा लिएर आए । अहिले अब समाजवादीको पालो छ ।

हाम्रो राजनीतिक नेतृत्वको कुनै पनि कार्यसूचीमा समाजवाद छैन । यतिसम्म कि कुनै कार्यक्रम र नीतिमा छलफल भई नै हाल्यो भने पनि त्यसमा समाजवादी तत्त्व कसरी राख्ने, कुन खालको राख्ने भनेर विमर्शसमेत हुँदैन । कुन क्षेत्रमा कस्तो कर कसरी लागू गर्ने भनेर राजनीतिक तहमा छलफल हुँदैन भने यही हिसाबबाट समाजवादतर्फ अगाडि बढिँदै छ भनेर हामीले अझै चुपचाप सुनिदिनुपर्ने ? लौ समाजवादतर्फ जाने तयारी भित्रभित्र भएको छ रे ।

त्यसको अर्थ कुन खालको समाजवादतर्फ जाने हो भनेर केही बोल्नु नपर्ने, उदाहरण के रूपमा ? जस्तो, अहिले देशभरका दसौं हजार निजी विद्यालय र कलेज निजी रूपमै चलाउन दिनेवाला समाजवाद भन्न खोजिएको हो ? वा तत्कालीन सोभियत संघमा जस्तो समाजवाद भनेको हो ? वा अर्थतन्त्रमा उदार तर राजनीतिमा नियन्त्रणमुखी चीनको बाटोमा जाने भित्री इच्छा हो जसका बारेमा बाहिर बोल्न नमिलेको हो ? कि भारतका समाजवादी राममनोहर लोहिया, जयप्रकाश नारायण वा नेपालकै बीपी कोइरालाले भनेको खालको समाजवाद हो ?

समाजवादका यी विभिन्न मोडलबीचको फरक कति छ, सबैलाई थाहा भएको कुरा हो । यति धेरै विविधता भएको समाजवादमा ‘अब समाजवादतर्फ जाँदै छौं’ भनेर खासमा जाने भनेको कता हो ? कस्तो खालको समाजवाद नभनी, एक दुइटा ‘पोलिसी डिपार्चर’ का उदाहरणसमेत नदिई खाली बोलिने कुरा भनेको कतै जानेवाला समाजवाद हुँदै होइन । त्यो बोलिनका लागि बोलिने कुरा हो । तर अब पनि प्रश्न नउठाउने हो भने आगामी ४ वर्षसम्मै यी नेताले यही भनेर काम चलाउनेछन् कि देश समाजवादतर्फ जाँदै छ अनि पाँचौं वर्षमा भन्नेछन्– हामीले समाजवाद ल्याइसक्यौँ ।

अब धेरैजसो सचेत जनताले सायद बुझिसकेका छन् कि अहिले शीर्ष तहमा रहेका र पटकपटक मन्त्री, प्रधानमन्त्री भई थाकेका–पाकेका नेताहरूले देशका लागि गतिलो केही गर्न सक्ने क्षमता राख्दै राख्दैनन् । यतिसम्म कि आफूमा क्षमता छैन भन्ने बुझ्न पनि एउटा क्षमतै चाहिन्छ जुन यिनीहरूमा छैन । यी सबैका बाबजुद यिनीहरूले गर्न सक्ने एक, दुइटा कुरा थिए । जस्तो, समाजवादी ‘भिजन’ केही नभए पनि आफ्नो व्यक्तिगत जीवनशैली समाजवादी बनाउन सकिन्थ्यो जसका लागि एउटा नैतिक प्रतिबद्धता भए पुग्थ्यो । समाजवाद लागू गर्न कुनै नीति र कार्यक्रम चाहिन्छ तर त्यसका लागि बुद्धि छैन भने पनि कम्तीमा समाजवाद भनेको के हो भन्न ‘मेरो जीवनशैली उदाहरण’ हो भन्नसम्म त सक्थे ।

तर हाम्रो यथार्थ के छ भने नेताहरूले पुँजीवादको सम्पूर्ण भोगी जीवन बाँच्ने अनि आफूलाई कम्युनिस्ट भनाइराख्न पनि पाउने । समाजवाद बिक्ने ठाउँमा समाजवादी हँु‘ भन्न पाइने । कम्युनिस्ट हुँ‘ भनेर भोट माग्दा । हैन भने यदि नेताले भनेको कुरा र गर्ने कुरामा कुनै तादात्म्य हुन्थ्यो भने ३ वर्षअघि समाजवाद उन्मुख संविधान बनाएपछि यी नेताले समाजवादी काम के गरे ? वा पहिले के नै गरेका थिए ? यिनको जीवनशैली पुँजीवादीबाट समाजवादी भएको छ ? यीमध्ये कति आफ्नो निजी सम्पत्ति त्यागेर बसेका छन् कि भएकामा प्रत्येक महिना थप्दै ?

नेपालको राजनीतिको चरित्र कतै बदलियो विगतका समाजवादी वर्षमा ? तसर्थ, अब अहिलेको ‘लट’ का नेतालाई एउटा विनयशील अनुनय गर्नैपर्ने भएको छ: तपाईंहरूले समाजवाद त ल्याइसक्नुभयो– संविधानमार्फत । अब अर्को के ल्याउने हो, सोच्दै गर्नुहोला किनकि अब ४ वर्षपछि त्यस्तै अर्को केही चाहिनेछ, अर्को चुनावका लागि ।