• ४ आश्विन २०८०, बिहीबार
  •      Thu Sep 21 2023
  •   Unicode
Logo
Latest
★   सरकार र आन्दोलनरत शिक्षकबीचको दोस्रो वार्ता निष्कर्षविहीन ★   पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान ★   नेपाल पाकिस्तानसँग पराजित ★   गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई ★   प्रधान सेनापति आइतबार नयाँ दिल्ली जानुुहुँदै ★   साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात ★   शिक्षक आन्दोलनले बानेश्वरको दुवो माडिएपछि बालेनको व्यङ्ग्य– ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’ ★   श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय ★   सरकारको तर्फबाट गृहमन्त्रीले शिक्षकसँग वार्ता गर्ने, दोस्रो चरणको छलफल आजै बेलुका हुने ★   मानवताले जलवायुमा नरकको ढोका खोलेको छ: गुटेरेस

सन्दर्भ विश्व मधुमेह दिवस: मधुमेहको आँखामा असर



काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठानले ‘मधुमेह सेवाको पहुँच: अहिले नभए कहिले भन्ने’ मूल भावका साथ मधुमेहको आँखामा असरसम्बन्धी सचेतना सप्ताहका रूपमा विशेष कार्यक्रमका साथ मनाएको छ ।

यसअन्तर्गत मधुमेहको आँखामा असरसम्बन्धी जनचेतना फैलाउनका लागि अस्पतालको हाताभित्र जानकारीमूलक विभिन्न सामग्री वितरण, आमसञ्चारका विभिन्न माध्यममा सामग्री प्रचारप्रसार तथा मधुमेहका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको प्रतिष्ठानले आज जनाएको छ । यसअन्तर्गत ९९ जनाले निःशुल्क परीक्षण र १५ जनाले विशेष उपचार (लेजर थेरापी र अभाष्टिन इन्जेक्सन) सेवा लिएका छन् । 

अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार संसारभर ४६ करोड ३० लाख मानिस मधुमेहबाट ग्रसित छन् । अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदयरोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामयिक निधनको प्रमुख कारणका रूपमा मधुमेह देखिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हरेक तीनमध्ये एक जना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टिमा क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको छ । मधुमेह लागेका व्यक्तिमा हृदयरोगको जोखिम सामान्य मानिसमा भन्दा तीनगुना बढी हुन्छ । मिर्गौलाले काम नगर्ने जोखिम मधुमेहका बिरामीमा १० गुना बढी हुन्छ ।

संसारभर प्रत्येक ३० सेकेन्डमा कुनै एक मधुमेही व्यक्तिले आफ्नो खुट्टा गुमाइरहेका छन् । प्रत्येक दुईमध्ये एक वयस्कमा मधुमेह रोगको निदान भएको छैन । मधुमेह, सन्तुलित आहार, नियमित व्यायाम, नियमित स्वास्थ्य परीक्षण, तनाव व्यवस्थापन र औषधोपचारका माध्यमबाट सजिलै ५० प्रतिशतभन्दा बढीमा रोकथाम गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसकेको हुन्छ । संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत अन्धोपना यही डायबेटिक रेटिनोपेथीका कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ । मधुमेहको आँखामा असर ‘डायबेटिक रेटिनोपेथी’ सम्बन्धी जनचेतना जगाउन सन् २०१४ देखि नै विश्व मधुमेह दिवसका अवसरमा प्रतिष्ठानले ‘डायबेटिक रेटिनोपेथी दिवस’ मनाउँदै आएको छ । रासस