५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.32

Wind: 5.66

Humidity: 64

Latest
फेसबुकसहितका समाजिक सञ्जालमा प्रतिवन्ध लाग्न सक्छः सञ्चारमन्त्री गुरुङ यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा कानूनहरु चाँडै पारित गर्ने गरी काम भइरहेको छः मन्त्री चौरसिया मानवअधिकार, मौलिक हक र कानून कार्यान्वयनमा सांसदहरुको चासो कर्मचारीको ‘कुलिङ पिरियड’ राख्ने प्रश्ताव मन्त्रालयले गरेको होइनः सचिव पन्थ निजामती कर्मचारीको अवकाश ६० वर्ष गरौँः अर्थसचिव उपाध्याय बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका नारायण मन्दिरमा भक्तजनको भीड



अ+ अ-

काठमाडौँ, ३ मङ्सिर (रासस) – कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो ।

उपत्यकाका चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई ‘चार नारायण’ भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति स्थापना गरिएको छ । मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको महन्त निगमानन्द स्वामीले राससलाई जानकारी दिनुभयो ।

बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटककोसमेत भीड लाग्ने गर्छ ।

आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा शुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि पूजाआजा शुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुन्छ । यस वर्ष बृहस्पति अस्त भए पनि प्रत्येक वर्ष गरिने चतुर्मास व्रत समापन गर्न हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।