१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ श्रम कानुनबाट नेपालमा लगानीको वातावरण – उपाध्यक्ष ढकाल



अ+ अ-


काठमाडौं, ६ मंसिर (रासस) – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको बताउनुभएको छ ।
श्रमिकहरुको वर्तमान आर्थिक अवस्था विषयमा जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले श्रम र श्रमिकहरुको सामाजिक सुरक्षासम्बन्धी नयाँ कानुनमा भएको नयाँ व्यवस्थाबाट देशमा लगानीको वातावरण बनेको धारणा राख्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदको अध्यक्षका रुपमा उक्त सम्मेलनलाई सम्बोधन गर्दै ढकालले देशमा उद्योगधन्दाको स्थापना र विकासका साथै वैदेशिक लगानीका लागि पनि यी कानुनले नयाँ वातावरण सिर्जना गर्ने र श्रमसँग जोडिएका विविध समस्या हलगर्न सघाउ पुग्ने अपेक्षा नेपालको आर्थिक क्षेत्रले गरेको बताउनुभयो ।
यी नयाँ कानुनी व्यवस्थाले श्रमिकसँग जोडिएका विभिन्न खाले समस्या सम्बोधनका लागि समन्वय गर्न महासंघलाई पनि सहयोग पुगेको धारणा उहाँले राख्नुभयो ।
नेपाल सरकार, रोजगारदाता, श्रमिकहरु आबद्ध ट्रेड युनियन प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासंघबीचको लामयको छलफल र परामर्शपछि यी कानुन आएका र नयाँ व्यवस्थाबमोजिम श्रमिकलाई दिने सेवा र सुविधाका लागि रोजगारदाताहरु पनि सहमत भएकोले नेपालको श्रम क्षेत्रमा र यसका कारण सिंगो अर्थतन्त्रकै क्षेत्रमा यी कानुनले सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो ।
श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरुको आफ्नै र रोजगारदाताका तर्फबाट गरिने योगदानले सामाजिक सुरक्षा कानुनतः नै निर्माण भएको र न्युनतम ज्यालाको नयाँ व्यवस्थाले श्रमका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो ।
योगदानमा आधारित यस सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाताका तर्फबाट कामदारको शुरु तलबको २० र श्रमिक आफैको ११ प्रतिशतका दरले काटेर सामाजिक सुरक्षा कोषमा जम्मा गरी श्रमिकलाई दिने प्रावधान रहेको छ ।
उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थीर सरकार बनेको भन्दै नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई पनि आग्रह गर्नुभयो ।
श्रमिकका समस्याका विषयलाई पनि सम्बोधन गर्नेगरी श्रमसम्बन्धी कानुन निर्माण भएका र देशमा राजनीतिक स्थिरता पनि आएकोले नेपालका कैयौँ सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न अब विदेशी लगानीकर्ताका लागि राम्रो र सकारात्मक वातावरण बनेको उहाँले बताउनुभएको हो ।
सो सम्मेलनमा विश्वका १४ देशका रोजगारदाता कम्पनी तथा प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको टोकियोबाट ढकालले जानकारी दिनुभयो ।