३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

दुर्गमका जनतालाई स्वास्थ्य सेवा पाउन सकस

दुर्गमका जनतालाई स्वास्थ्य सेवा पाउन सकस
अ+ अ-

बेनी, ९ मङ्सिर:  रघुगंगा गाउँपालिका–८ कुईनेखानीका स्थानीयवासीलाई प्राथमिक स्वास्थ्य सेवा लिन पनि ४ घण्टा भन्दा बढीको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक रुपमा विकट कुईनेदेखि वडाको एउटै स्वास्थ्य संस्था घ्याँसीखर्कस्थित स्वास्थ्य चौकीमा सेवा लिन जान उनीहरुलाई घण्टौं हिँड्नुको अर्को विकल्प छैन ।

छरिएर बस्तीहरु रहेको यस वडामा स्वास्थ्य चौकीसम्म पुग्न पात्लेखर्क, छरी र मंगलेका स्थानीयवासीलाई साढे १ घण्टा भन्दा बढी पैदल हिँड्नुपर्छ । यातायातको सहज पहुँच नपुगेका कारण यस वडावासीलाई स्वास्थ्य सेवाको उपलब्धता सहज नबनेको पात्लेखर्कका युवक अंकित पुनले बताउनुभयो ।

“दुर्गम क्षेत्र भएकाले यहाँ स्वास्थ्य सेवा लिन निकै पेचिलो छ, कोही बिरामी भयो भने सजिलै स्वास्थ्य चौकीमा पुग्न सक्ने अवस्था छैन, घण्टौं लाग्ने ठाउँबाट पिठ्युमा बोकेर बिरामीलाई उपचारका लागि लिएर जानुपर्ने बाध्यता छ,” पुनले भन्नुभयो । यातायातको पहुँच छैन । बाटोघाटो व्यवस्थित छैनन् । बिरामी बोक्न यहाँ एम्बुलेन्स होइन स्ट्रेचरको समेत अभाव छ । कोही बिरामी भएमा ‘डोको’मा बोकेर उपचारका लागि लैजानुपर्ने यहाँको बाध्यता हो ।

साँघुरो भवनबाट सेवा दिनुपर्ने अर्को कठिनाइ छ । निर्माणाधीन भवनलाई नदी कटानले क्षति पु¥याएपछि अन्योल अझै थपिएको छ । औषधि भण्डारण गर्ने उपयुक्त ठाउँ छैन । तोकिएका दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ । हेल्थ असिस्टेन्टको दरबन्दी रहे पनि अहिलेसम्म कर्मचारी आएका छैनन् । अहेबको भरमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीमा कार्यरत अहेब देविन्द्र बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो – “विकटता छ । एक बस्तीबाट अर्को बस्तीमा जान घण्टौं लाग्छ । कुईनेखानीमा महीनाको एक पटक खोप केन्द्र र गाउँघर क्लिनिक चलाउँछौँ तर, पर्याप्त जनशक्ति, स्रोत र साधनको अभाव हुँदा सेवा प्रवाह प्रभावकारी बनाउन समस्या भइरहेको छ ।” रघुगंगा गाउँपालिकाको कुईनेमंगलेसँगै चिमखोलाको पात्लेखेत, पाखापानीको ठाडखानी, दग्नामको दरमिजा, गाउँपालिकाकै केन्द्र मौवाफाँट, कलेजाबाङलगायतका ठाउँमा स्वास्थ्य सेवाको पहुँच सहज बन्न सकेको छैन ।

बर्थिङ सेन्टरको अभाव

बर्थिङ सेन्टरको सुविधा नहुँदा दुर्गम क्षेत्रका गर्भवती महिलालाई सास्ती छ । भौगोलिक रुपमा विकट बस्तीका स्वास्थ्य संस्थामा प्रसूति केन्द्रको सुविधा नहुँदा सुत्केरी हुन हजारौं रुपैयाँ खर्च गरेर शहरी क्षेत्रमा पुग्न उनीहरु बाध्य छन् । गरीब, विपन्न र आर्थिक रुपमा कमजोर समुदायका महिला घरमै असुरक्षित रुपमा सुत्केरी हुनुपर्ने अवस्था रहेको रघुगंगा गाउँपालिका–८ की महिला स्वास्थ्य स्वयंसेविका कदेवी छन्त्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो – “यो क्षेत्रमै बर्थिङ सेन्टर छैन । बर्थिङ सेन्टर रहेको पाखापानी जान अपायक छ । त्यसैले बच्चा जन्माउन कोही सदरमुकाम बेनी जाने गर्छन् त कोही घरमै असुरक्षित तवरले सुत्केरी बन्छन् ।” यातायातको पहुँच नपुगेको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले र वडा नं ७ चिमखोलाका महिलाहरुले यस क्षेत्रमा कम्तीमा एउटा बर्थिङ सेन्टर स्थापना गर्न माग गरेका छन् ।

डुवाडीकी स्थानीयवासी मनकुमारी छन्त्यालले भन्नुभयो – “प्रसूति सेवाका लागि हजारौं खर्च गरेर बेनी÷पोखराका अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ । हुनेखाने महीना दिन अघि नै बजार झरेर सुत्केरी बन्ने गरे पनि विपन्न गर्भवती महिलाहरु सुरक्षित प्रसूति सेवा लिन सामथ्र्य राख्दैनन् ।”

सुत्केरी हुन शहरी क्षेत्रमा जाँदा न्यूनतम पचास हजार रुपैयाँ खर्च हुने गरेको छ । सदरमुकाम वा पोखरा पुग्न नसक्ने महिलाहरु गाउँमै असुरक्षित रुपमा घरमै सुत्केरी हुने गरेका छन् । मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउन सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहँदा म्याग्दीका दुर्गम बस्तीका समस्याहरुप्रति स्थानीय सरकारहरु गम्भीर बन्नुपर्ने देखिएको छ । तलब गाउँपालिकामार्फत उपलब्ध गराउन थालिए पनि कर्मचारी व्यवस्थापनसहितको अधिकार पूर्ण रुपमा स्थानीय तहमा हस्तान्तरण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा स्थानीय सरकार अलमल छ ।
दरबन्दी रिक्त

रघुगंगा गाउँपालिकाका हरेक वडामा गरी ८ वटा स्वास्थ्य चौकी सञ्चालित छन् । चिमखोला, बेग, दग्नाम र झिँमा भवनको समेत अभाव छ । कुईनेमंगलेमा स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छ । गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा सुत्केरी गराउन पिप्ले, भगवती र पाखापानी स्वास्थ्य चौकीमा मात्रै बर्थिङ सेन्टर सञ्चालनमा छ । मापदण्ड अनुसारको भौतिक पूर्वाधार र वर्षमा १० देखि १५ जना सुत्केरी हुनुपर्नेे आधारमा अन्य स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टरको सेवा थप गर्न कठिनाइ देखिएको गाउँपालिकाले जनाएको छ ।

यो वर्ष झिँमा बर्थिङ सेन्टर स्थापना गर्ने तयारी गरिएका गाउँपालिकाका स्वास्थ्य संयोजक टीकाबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो – “मापदण्डअनुसारको भौतिक पूर्वाधार र जनघनत्व नहुनु प्रमुख समस्या हो । हरेक वर्ष चरणबद्ध रुपमा बर्थिङ सेन्टर थप्दै लगेर ५ वर्षभित्र सबै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवालाई विस्तार गर्ने योजना बनाएका छौँ ।” रघुगंगा गाउँपालिकामा अहिले स्वास्थ्य सेवा दिन न्यूनतम जनशक्ति रहे पनि कतिपयलाई तालीममा पठाउनुपर्ने र थप जनशक्ति माग गर्ने कुरा पनि यकिन नहुँदा केही समस्या देखिएको स्वास्थ्य सह संयोजक शिव प्रसाद पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार अहिले गाउँपालिकाभित्र दुईजना हेल्थ असिस्टेन्ट, तीनजना अहेब र दुईजना अनमीको दरबन्दी रिक्त छ । रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले गाउँपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थामा प्रसूति गृह स्थापना गर्न प्रक्रिया थालनी भएको जानकारी दिनुभयो । उहाँका अनुसार झिँमा प्रसूति केन्द्र सञ्चालनका लागि पालिकाले एक लाख रुपैयाँ विनियोजन गरेको । आवश्यक उपकरण र पूर्वाधारको व्यवस्था गरेर प्रसूति गृह सञ्चालन गर्न र नयाँ भवन निर्माण गर्न पहल भइरहेको छ ।

स्वास्थ्य सेवाको आधार मानिएका महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि समेत गाउँपालिकाले मासिक एक हजार रुपैयाँ यातायात खर्च र दुई सय रुपैयाँ सञ्चार खर्च उपलब्ध गराउने नीतिगत निर्णय गरेको छ । रघुगंगामा ७२ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।(रासस)