९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठवटा भन्सार नाकाबाट निर्यात शून्य



अ+ अ-

काठमाडौँ, १८ मङ्सिरः चालू आर्थिक वर्षको चार महीनामा देशभरका आठ भन्सार कार्यालयबाट कुनै पनि मालवस्तु निर्यात नभएको पाइएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार ती भन्सारबाट कुनै पनि मालवस्तु निर्यात हुन नसकेको हो । विभागका अनुसार जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर, सिराहा, राजविराज र अर्को एक भन्सारबाट कुनै पनि मालवस्तु निर्यात हुन सकेको छैन । हाल देशभर २० भन्सार कार्यालय सञ्चालनमा छन् ।

चालू आर्थिक वर्षको पछिल्लो चार महीनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सबैभन्दा बढी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उक्त भन्सारबाट ३० दशमलव शून्य पाँच प्रतिशत बराबरको मालवस्तु निर्यात भएको छ ।

विमानस्थल भन्सारबाट रु आठ अर्ब ७९ करोड ८५ लाख ८५ हजार बराबरको निर्यात भएको छ । यस्तै विराटनगर भन्सार कार्यालयको हिस्सा २७ दशमलव ५८ प्रतिशत छ । उक्त भन्सार कार्यालयबाट रु आठ अर्ब सात करोड ६५ हजार बराबरको मालवस्तु निर्यात भएको छ । पूर्वाञ्चल क्षेत्रबाट विशेष गरी चिया, अलैची तथा अन्य कृषिउपज विदेश निर्यात भएको हो ।

तेस्रो स्थानमा मालवस्तु निर्यात गर्ने भन्सारमा वीरगञ्ज भन्सार पनि रहेको छ । सो भन्सारबाट १७ दशमलव ७६ प्रतिशत बराबरको मालवस्तु निर्यात भएको छ । कूल रु पाँच अर्ब २० करोड छ लाख ३९ हजार बराबरको सामान निर्यात भएको छ ।

पछिल्लो चार महीनामा नेपालमा रु चार खर्ब ८३ अर्ब ७५ करोड ७८ लाख ३२ हजार बराबरको आयात भएको छ । विभागका अनुसार सो अवधिमा रु २९ अर्ब २८ करोड १७ लाख ७० हजार बराबरको मात्रै निर्यात भएको छ । आयातको कूल हिस्सामध्ये वीरगञ्ज भन्सार अग्रस्थानमा छ । सो भन्सारबाट रु एक खर्ब ६६ अर्ब चार करोड ६० लाख ९८ हजार बराबरको आयात भएको छ ।

दोस्रो स्थानमा रहेको भैरहवा भन्सारबाट रु ८२ अर्ब ८४ करोड ८८ हजार ५०० बराबरको आयात भएको छ । यो कूल आयातको १६ दशमलव ९७ प्रतिशत हो । सबैभन्दा कम राजविराज भन्सारबाट रु २१ करोड ९३ हजार १०० बराबरको आयात भएको छ ।