२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान कार्यान्वयनमा काङ्ग्रेस नै बढी जिम्मेवार : प्रथम राष्ट्रपति यादव



अ+ अ-

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवाद’ को आज यहाँ विमोचन गर्दै उहाँले काङ्ग्रेसको विचार र सिद्धान्तअनुसारको संविधान जारी भएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा काङ्ग्रेस नै बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

उहाँले संविधानमा धर्म निरपेक्षताको व्यवस्था भए पनि मुलुकका विभिन्न भागमा धर्म परिवर्तनको क्रम तीव्र रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गर्नुभएकोे लोकतान्त्रिक समाजवाद आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै पूर्वराष्ट्रपति डा यादवले पार्टीभित्र गुटउपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाव दिनुभयो । विकास निर्माणका ठूला पूर्वाधारले तराई र चुरे क्षेत्रको वन विनाश हुँदा भूक्षय र मरुभूमिकरण बढ्दै गएको भन्दै यसलाई संरक्षण गर्न ध्यान दिनुपर्ने उहाँको आग्रह थियो ।

कार्यक्रममा वरिष्ठ नेता पौडेलले काङ्ग्रेस र कम्युनिष्टको समाजवादका सम्बन्धमा देखिएको विवाद र बहसको सन्दर्भमा आफूले पुस्तकमा काङ्ग्रेसको लोकतान्त्रिक समाजवादका सम्बन्धमा स्पष्ट पारेको बताउनुभयो । विश्वमा राजनीतिक विचारधारा कमजोर भयो भने समाजमा अराजकता र विचलन हुने भन्दै उहाँले विचारकै प्रधानता हुनुपर्ने बताउनुभयो । काङ्ग्रेसमा विचारको खडेरी नभई बहसको आवश्यकता रहेको उहाँको जोड थियो । पुस्तक जनता प्रसारण तथा प्रकाशन लिमिटेडले प्रकाशन गरेको हो ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले काङ्ग्रेसले भनेको समाजवाद लोकतान्त्रिक पद्धतिबाट प्राप्त हुने र कम्युनिष्टले चाहेको समाजवाद वर्ग सङ्घर्षबाट प्राप्त हुने बताउँदै काङ्ग्रेसले अवलम्बन गरेको लोकतान्त्रिक समाजवाद, उदार अर्थनीति, लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिष्ट दलहरु आउनु खुशीको कुरा हो भन्नुभयो ।

नेपालमा प्रजातन्त्र पुनःस्थापनापछि काङ्ग्रेस नेतृत्वका सरकारले अवलम्बन गरेका नीतिबाट नै शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, व्यापारलगायत क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको उहाँले जानकारी गराउनुभयो । केन्द्रीय सदस्य प्रदीप गिरीले ग्रामीण क्षेत्रका निमुखा जनताको हितमा काम गर्न गान्धी, माओ र बिपीका विचारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै जनतालाई समावेश नगरी गरिने विकास दिगो र प्रभावकारी नहुने बताउनुभयो ।

प्रा डा लोकराज बरालले राजनीतिमा समाजवादका विभिन्न परिभाषा र नाम भए पनि निमुखा जनताको हितमा गरिने काम नै वास्तविक समाजवाद हो भन्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा र जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा विजय पौडेलले पुस्तकका प्रमुख विशेषताका बारेमा चर्चा गर्दै समाजवादको स्थापना र उद्देश्यका बारेमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । रासस