काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे बाढी प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदहरूसँग बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा खोज, उद्धार र राहत कार्यबारे छलफल भएको हो।
भेटमा सांसदहरूले आ–आफ्नो क्षेत्रमा बाढीले पुर्याएको असर, प्रभावित नागरिकको अवस्था तथा खोज, उद्धार र राहतका लागि तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराउनुभएको थियो।
त्यसअघि प्रधानमन्त्री शाहले बुधबार नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार र राहत कार्यको प्रगतिबारे उच्चस्तरीय जानकारी लिनुभएको थियो।
सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा, उद्धार तथा राहतका लागि पूर्ण प्रतिबद्धताका साथ परिचालित रहेको बताउनुभयो। उहाँले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिइसकिएको जानकारी गराउनुभयो।
सरकारले बाढीग्रस्त क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।









