१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार र राहतलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।

लिङ्देनले बुधबार जारी गरेको वक्तव्यमा टिमुरे, स्याफ्रुबेसीलगायत आसपासका क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक खबरले आफूहरू अत्यन्त मर्माहत भएको बताएका छन्। उनले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उनले क्षतिको पूर्ण विवरण आइनसकेको अवस्थामा सरकारका सम्पूर्ण संयन्त्रलाई उच्चतम सतर्कता र तत्परताका साथ परिचालन गर्न आग्रह गरेका छन्। उनका अनुसार मानिसको जीवन रक्षा, बेपत्ताको खोजी, उद्धार, उपचार र तत्काल राहतलाई सरकारले सर्वोच्च प्राथमिकता दिनुपर्छ।

विशेषगरी भोटेकोशी, त्रिशूली तथा तल्लो तटीय क्षेत्रमा जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने लिङ्देनको भनाइ छ। साथै, जोखिमयुक्त क्षेत्रमा आवश्यक सुरक्षा घेरा कायम गर्नुका साथै खाद्यान्न, औषधि, खानेपानी र अस्थायी आवासको व्यवस्था गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताएका छन्।

‘विपद्को घडीमा सरकारको उपस्थिति पीडित नागरिकको घरदैलोमा अनुभूति हुने गरी देखिनुपर्छ’ भन्दै लिङ्देनले थप मानवीय क्षति हुन नदिन नेपाल सरकारले तत्काल प्रभावकारी अग्रसरता लिनुपर्ने बताएका छन्।

विपद्को यस घडीमा राप्रपा सरकारको साथमा रहने उल्लेख गर्दै उनले पार्टीका सम्पूर्ण तह, नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गरी उद्धार, राहत तथा मानवीय सहयोगमा सक्रिय हुन आह्वान गरेका छन्।

लिङ्देनले विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरका पार्टी नेतृत्व तथा सदस्यहरूलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न तथा उद्धार र राहतमा तत्काल जुट्न अपिल गरेका छन्।

उनले भोटेकोशी बाढीबाट प्रभावित सम्पूर्ण नागरिकसँग दुःखको यस घडीमा राप्रपा साथमा रहेको विश्वाससमेत दिलाएका छन्।