चितवन। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । मध्यान्ह १२ बजे भव्य समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोह नारायणी किनारमा बनाइएको विशेष मञ्चमा हुँदैछ।
महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ,माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ , जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर ,राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष कमल थापा सहित विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसै गरी महाधिवेशनलाई शुभकामना दिन भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आइपुगेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको तर्फ बाट भने भिडियो सन्देश प्राप्त भएको छ। यसैगरी विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देशहरु पठाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उद्घाटन समारोहमा पाँच लाख सहभागी हुने एमालेले दाबी गरेको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् । यसै गरी प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन् ।