८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

अझै राजालाई गाली ?

अझै राजालाई गाली ?
अ+ अ-

कथा पुरानो हो, एकादेशमा एक राजा थिए । सिकारमा शौख भएका उनी आफ्ना दलबलसहित सिकार खेल्न जङ्गल गए । उनी चढेको घोडाले तीव्र गति लिएर अघि बढ्दा बाटो बिराए । फौजबाट राजा अलग भएपछि उनको टोली राजा खोज्न जङ्गलमा यताउता छरियो । जङ्गलको बीचमा सानो कुटी थियो, जहाँ एक दृष्टिविहीन साधु बस्थे । हराएका राजा खोज्दै जाँदा सिपाही, अफिसर र मन्त्री फरक–फरक समयमा साधुकहाँ पुगे र राजा त्यता आए कि भनेर सोधे । उनीहरू फर्किएपछि आफूकहाँ आइपुगेका राजालाई सन्तले भने– महाराज तपाईंका सिपाही, अफिसर, मन्त्री सबै तपाईंलाई खोज्दै हिँडेका छन् ।

उनको सम्बोधन सुनेर राजाले छक्क पर्दै सोधे– तपाईं पूर्णतः दृष्टिविहीन हुनुहुन्छ, उनीहरू को थिए भनेर कसरी थाहा पाउनुभयो ? सन्तले जवाफ दिए– पहिला एक व्यक्ति आए र ढोकैबाट उनले ‘ए अन्धो हाम्रा राजा यता आउनुभएको थाहा पाइस् कि’ भनी सोधे । मैले ती तपाईंका सिपाही रहेछन् भन्ने थाहा पाएँ । दोस्रो व्यक्ति आएर ‘तपाईंले हाम्रा राजा यता आएको थाहा पाउनुभयो कि’ भने । मलाई ती अफिसर रहेछन् भन्ने लाग्यो । अर्का व्यक्ति आए र नमस्कार गर्दै ‘यहाँले यता कतै हाम्रा राजा आउनुभएको थाहा पाउनुभयो कि’ भनेर सोधे, मैले ती मन्त्री होलान् भन्ने अनुमान गरेँ । अहिले तपाईंले शिर निहुराएर मेरा खुट्टा समाई जसरी सम्मान व्यक्त गर्नु भो त्यसबाट मैले तपाईं राजा नै हुनुपर्छ भन्ने ठानेँ ।

मानिसको बोलीचाली र व्यवहारबाट हैसियत थाहा हुन्छ, चाहे ती जुनसुकै क्षेत्रका किन नहुन् । कसले कस्तो व्यवहार गर्छ भनेर थाहा पाउन मानिसको सङ्गत नै गर्नुुपर्ने हुन्छ, जुन साध्य हुने कुरा होइन । कुनै पनि मानिसले म यस्तो छु, उस्तो छु भनिरहनै पर्दैन । उसले गर्ने कुराकानी, व्यक्त विचार र प्रतिक्रियाबाट सोचहरूको ‘रिफ्लेक्सन’ भइरहेको हुन्छ । बोलेर आफ्नो वचन पूरा नगर्नेभन्दा नबोली काम गर्ने मानिसको प्रशंसा हुनु स्वाभाविकै हो । तर, हामीकहाँ जे कुरामा पनि प्रतिक्रिया दिने बानी छ । नागरिक तहमा त हुने नै भयो, नेतृत्वमा यो चलन अझ बढी छ, समयक्रमसँगै झन्झन् बढिरहेको छ । सामान्यतया असल मानिसहरू जति माथि पुग्यो त्यति सरल र अरूलाई आदर गर्ने हुन्छन् । फलेको हाँगो निहुरिन्छ भन्ने भनाइ नै छ । उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ? भनी कवि शिरोमणि लेखनाथ पौड्यालले कविता नै लेख्नुभएको छ । तर, हामीकहाँ भने ठूला पदमा पुगेका मान्छेहरूले जतिबेला मन लाग्यो त्यतिबेला बिनासन्दर्भ अरूलाई गालीगलौज गरिदिँदा सुन्नेलाई अप्ठ्यारो लाग्ने गरेको छ ।

जीवनमा नाच्नु, हाँस्नुको अर्थ खुसीसँग जोडिएको हुन्छ । के प्रचण्ड अरूको खुसी देख्न सक्नुहुन्न ? ‘होटेलमा नाच्दै हिँड्ने ?’ भन्नुको अर्थ के हो ? के सबैले उहाँले झैँ सडकमै नाच्नुपर्ने ? नितान्त व्यक्तिगत कुरालाई उहाँले सार्वजनिक अभिव्यक्तिको विषय किन बनाउनुभयो ?

नेकपाका अध्यक्ष प्रचण्डले केही दिनअघि राजा ज्ञानेन्द्रले पारिवारिक पार्टीमा नाचेको सन्दर्भलाई लिएर होटेलमा नाचेर गणतन्त्र जान्छ भन्ने नसोच्न चेतावनीसहित दिनुभएको अभिव्यक्तिलाई लज्जास्पद मानिएको छ । राजपरिवारको नितान्त पारिवारिक पार्टीमा राजा नाचेको फोटो सार्वजनिक भएपछि नेता प्रचण्डले होटेलहोटेलमा नाँच्दै हिँड्ने ? भनी प्रश्न गर्नुभएको थियो । जुन प्रश्नलाई लज्जास्पद मात्र नभएर आश्चर्यजनक पनि मान्नुपर्ने हुन्छ । कसैले व्यक्तिगत या पारिवारिक समारोहमा नाच्छ, गाउँछ, हाँस्छ, रुन्छ, रमाइलो गर्छ या दुःखी हुन्छ त्यो अरूको चासोको विषय होइन ।

पूर्वराष्ट्रप्रमुखको हैसियतमा कुनै सेवासुविधासमेत नदिइएका नितान्त शक्तिविहीन व्यक्तिसँग आखिर किन डराउनु भो प्रचण्ड ? जीवनमा नाच्नु, हाँस्नुको अर्थ खुसीसँग जोडिएको हुन्छ । के प्रचण्ड अरूको खुसी देख्न सक्नुहुन्न ? होटेलमा नाच्दै हिँड्ने ? भन्नुको अर्थ के हो ? के सबैले उहाँले झैँ सडकमै नाच्नुपर्ने ? नितान्त व्यक्तिगत कुरालाई उहाँले सार्वजनिक अभिव्यक्तिको विषय किन बनाउनुभयो ? यो अभिव्यक्तिलाई लिएर अनेक प्रश्नहरू गर्न सकिन्छ । कसैको व्यक्तिगत टीका–टिप्पणी गर्नु आफँैमा अलि अप्ठ्यारो लाग्ने कुरा हो । राजनीतिक या अन्य विषयगत टीका–टिप्पणी अर्कै कुरा हो, तर कसैको व्यक्तिगत टिप्पणी गर्नका लागि असल मानिसले कम्तीमा एक तह तल झर्नुपर्ने हुन्छ । मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिले पूर्वराजालाई त्यसप्रकारको टिप्पणी गर्दा सुन्नेलाई अलि असहज लागेको छ । त्यसो त, प्रधानमन्त्री पदमै रहेका व्यक्तिले त प्रत्येक दिन के–के बोली नै रहनुभएको सन्दर्भमा पूर्वप्रधानमन्त्रीले बोल्नु के ठूलो कुरा हो पनि भन्न सकिएला । तर, तर्कभन्दा पनि बुझ्नुपर्नेचाहिँ उहाँको सोच र मानसिकता हो ।

जनमत नबुझी एक्कासि राजसंस्था फालिएकाले जनताले राजसंस्था फर्काउलान् कि भन्ने एकप्रकारको त्रास उहाँमा देखिन्छ । नत्र ऐतिहासिक संस्थाबाट आफूसमेत निमित्त नायक बनेर निजी बनाएका व्यक्तिलाई त्यसरी गाली गर्नुपर्ने कारण हुँदैन ।

के नेता प्रचण्डले आफू त्यति तल झरेर राजालाई त्यसै गाली गर्नुभयो होला ? आफूहरूको अक्षमतालाई ढाकछोप गर्नका लागि मात्रै उहाँले बोल्नुभएको हो भनेर मान्न सक्ने अवस्था छैन । पूर्व भइसकेका र नागरिकका रूपमा नितान्त व्यक्तिगत जीवन बाँच्दै आउनुभएका राजालाई गाली गर्नुको अर्थ कुनै बेलाका माओवादी सुप्रिमोले अझै पनि आफू सुरक्षित महसुस गर्नुभएको छैन भनेर बुझ्नुपर्ने हुन्छ । जनमत नबुझी एक्कासि राजसंस्था फालिएकाले जनताले राजसंस्था फर्काउलान् कि भन्ने एकप्रकारको त्रास उहाँमा देखिन्छ । नत्र ऐतिहासिक संस्थाबाट आफूसमेत निमित्त नायक बनेर निजी बनाएका व्यक्तिलाई त्यसरी गाली गर्नुपर्ने कारण हुँदैन।

राजालाई गरिएको व्यक्तिगत गाली–गलौजलाई जनतामा अहिले पनि राजतन्त्रको प्रभाव छ भन्ने कुराको स्वीकारोक्तिका रूपमा बुझ्नुपर्ने हुन्छ । राजकीय कामकाजभन्दा पनि सांस्कृतिक रूपमा राजतन्त्रको आगमन जनताले चाहेको कुराबाट उहाँ अनभिज्ञ हुनुहुन्न । भोलि कथंकदाचित राजसंस्था फर्कने अवस्था आयो भने नेपाली काङ्ग्रेसलाई खासै फरक नपर्न सक्छ भन्ने प्रचण्डलाई थाहा छ । हिजो माओवादी एजेण्डामा जसरी काङ्ग्रेस र एमाले आएका थिए भोलि काङ्ग्रेस र हिजोका एमालेमध्येका ठूलो कित्ता एकातिर भए आफू एक्लै पर्छु भन्ने त्रासबाट उहाँ मुक्त हुनुहुन्न । आफूले ल्याएको परिवर्तन टिक्न सकेन भने आफू दण्डित हुनुपर्ला भन्ने त्रास पनि हुँदो हो ।

असुरक्षित भावनाको उपजका रूपमा आएको यो अभिव्यक्तिले नेता प्रचण्डलाई हेर्ने सर्वसाधारणको दृष्टिकोणलाई थप खस्काएको छ । यस्ता अभिव्यक्तिले राजसंस्थाप्रति मानिसहरूको आस्था बढाउनचाहिँ मद्दत गर्छ । कुनै बेला थियो राजालाई गाली गर्दा मानिसहरू वाह…वाह गर्थे, तर समय अब त्यस्तो छैन । गालीगलौजका अभिव्यक्ति युट्युब र टेलिभिजनमा हेर्नेहरूले ‘तिमीहरूले चाहिीँ के गऱ्यौ त ?’ भनी प्रश्न गर्न थालेका छन् । एकादेशका दृष्टिविहीन साधुले सिपाही र राजा छुट्याएझैँ नेताहरूले दिएका अभिव्यक्ति र गरेका व्यवहारहरूबाट जनताले को कस्तो हो थाहा पाइसकेका छन् । आफूहरू सत्तामा आउँदाको समय फेरिएर अर्कै भइसकेको छ भनेर नेताहरूले शायद अब बुझ्नुपर्छ ।

(साभार घटना र विचार साप्ताहिक)