म्याग्दी । विकासको मूल आधार शिक्षा भनिए पनि सामुदायिक विद्यालयहरुमा आवश्यक शैक्षिक जनशक्ति, पर्याप्त पूर्वाधार र आर्थिक स्रोत नहुँदा विद्यालयहरु समस्यामा परेका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चालित विद्यालयमा दरबन्दी अनुसार शिक्षक व्यवस्थापन हुन नसक्दा समस्या भएको नेपाल समाचारपत्रमा खबर छ ।
यस्तै समस्या झेलिरहेको छ, म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा अवस्थित डिम्ब आधारभूत विद्यालय । जिल्ला सदरमुकामदेखि नजिकै र नगरपालिका भित्रको विद्यालयले आवश्यक मात्रामा शिक्षक दरबन्दी नपाउनु, आर्थिक अभाव, फर्निचर तथा पूर्वाधारको कमीका कारणले गर्दा विद्यालय सञ्चालनमा समस्या भैरहेको छ । विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुँदा समस्या भएको विद्यालयले जनाएको छ ।
विद्यालय तह अनुसार कम्तीमा पनि १ देखि कक्षा ५ सम्मको विद्यालयमा ४ जना शिक्षकको दरबन्दी हुनुपर्ने भए पनि हाल ३ जना मात्रै हुँदा अध्ययन अध्यापन तथा विद्यालयको दैनिक कार्यसम्पादनमा समस्या परेको विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले गुनासो गरे । चिप्लेटी गाउँको मध्य भागमा रहेको विद्यालयमा बालशिक्षा सञ्चालनको टड्कारो आवश्यकता रहेपनि सम्बन्धित संस्थाबाट कोटा सहयोग नहुँदा त्यसमा पनि समस्या उत्पन्न भएको उनले गुनासो पोखेका छन् ।










