७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ चिनियाँ राजदूत काठमाडौँमा



अ+ अ-


काठमाडौँ । चिनियाँ राजदूत हाउ याङ्छी काठमाडौँ आइपुगेकी छिन् । उनलाई चीन सरकारले नेपालका लागि नयाँ राजदूतका रुपमा गत महिनामात्र नियुक्त गरेको थियो । उनी शनिबार काठमाडौँ आइपुगेकी हुन् । परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल खड्ग दाहालले आज उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

नेपालमा राजदूतका रुपमा नियुक्त हुनुअघि याङ्छी चीनको विदेश मन्त्रालयमा एसियाली मामिलासम्बन्धी विभागको उप महानिर्देशकका रुपमा कार्यरत थिइन् । नेपाल र चीनबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता उनी नेपालका लागि २१ औँ राजदूत हुन् । राजदूत हाउ एसियाली मामिलाको विज्ञ मानिन्छिन् ।

चीन सरकारले यस अघिकी चिनियाँ राजदूत यु होङलाई समय अगावै फिर्ता बोलाएको थियो । उनले नेपालमा दुई वर्षमात्र सेवा गर्ने अवसर पाएकी थिइन् । उनलाई फिर्ता बोलाएर हाउलाई नेपाल बोलाउने बारेको जानकारी चीनले नेपाल सरकारलाई नोभेम्बर महिनाको पहिलो हप्तातिर नै खबर गरेको थियो । पछिल्लो समयमा नेपाल चीन सम्बन्ध महत्वपूर्ण मोडमा रहेको र नेपालले चीनसँग आर्थिक, पारवहन तथा यातायातसम्बन्धी महत्वपूर्ण सम्झौताहरु गरेर अगाडि बढिरहेको वर्तमान अवस्थमा नेपालमा नयाँ चिनियाँ राजदूतको भूमिका महत्वपूर्ण हुने विश्लेषकहरु बताउँछन् ।