१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट सरकारको कमाल ! मेयर जेलवाट छुट्दा सार्वजनिक बिदा



अ+ अ-

रौतहट । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा सर्वोच्च अदालतबाट सफाइ पाएपछि हेलिकप्टर चार्टर गरी शनिबार गृहनगर रौतहट आएका छन् । उनी जेलमुक्त भएको खुसियालीमा नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका सबै विद्यालयमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।

अदालतको सफाइले जेलबाट छुटेलगत्तै उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास पुगेका थिए । शनिबार भने उनी हेलिकप्टरबाट कटहरियास्थित जनता माविको प्रांगणमा उत्रिए । उनलाई नगरवासीले फूलमाला, खादा र दोसल्ला ओढाएर स्वागत गरे ।

उनका साथमा नेकपा नेता तथा सांसद प्रभु साह, प्रदेश सांसद कुन्दन कुशवाहालगायत नेता आएका थिए । त्यसपछि मेयर कुशवाहा कटहरिया डुमरिया र जमुनियामा राखिएको स्वागत सभामा पनि हेलिकप्टर लिएरै पुगेका थिए । उनलाई गाउँमा भव्य स्वागत गरिएको थियो ।

गत वैशाख २७ गते राजधानीबाट पक्राउ परेका कुशवाहालाई सर्वोच्चका न्यायाधीशद्वय शारदा घिमिरे र डम्बर शाहीको इजलासले सफाइ दिएको हो । उनी शुक्रबार ५ बजे डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

झन्डै ९ महिना लामो कारागार बसाइपछि रिहा भएका कुशवाहा शनिबार आफ्नो गाउँ कटहरिया आएका हुन् । ‘न्यायालयले ममाथि न्याय गरेको छ,’ उनले भने, ‘यो जनताको जित हो ।’ आफू निर्दोष भएको र राजनीतिको सिकार बनेको उनले दाबी गरे ।

विश्व हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशी तिवारीको वीरगन्जमा भएको हत्या मुद्दामा कुशवाहा जेल परेका हुन् । वीरगन्जको अशोकबाटिकास्थित शिव–पार्वती मन्दिर परिसरमा तिवारीलाई मोटरसाइकलमा आएकाले २०६७ असार १२ गते गोली हानी हत्या गरेका थिए ।

मोटरसाइकल चालक बाराको हरैयाका अमन कुशवाहा पक्राउ परेपछि उनकै बयान आधारमा कुशवाहाको संलग्नता खुलेको प्रहरीले जनाएको थियो । घटनापछि फरार कुशवाहालाई ३ वर्षपछि २०७० पुस १ गते चितवनको भण्डाराबाट पक्राउ गरी जिल्ला अदालत पर्सामा पेस गरिएको थियो ।

हत्यामा उनको संलग्नता नरहेको भन्दै अदालतले सफाइ दिएको थियो ।जिल्ला अदालत बाराको फैसला उल्टाउँदै उच्च अदालत जनकपुरको इजलास वीरगन्जले कुशवाहलाई सर्वस्वसहित जन्मकैद सजाय सुनायो ।

न्यायाधीशद्वय नारायणप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले तिवारी हत्यामा दोषी ठहर गर्दै मेयर कुशवाहलाई गत फागुन २८ गते जन्मकैद फैसला गरेको हो । त्यतिबेला उनी मेयर भइसकेका थिए । स्थानीय तह निर्वाचनमा कांग्रेसका अजयप्रकाश जैसवाललाई ५ सय ५१ मतले पराजित गर्दै तत्कालीन माओवादी केन्द्रबाट कुशवाह कटहरिया नगरपालिकाको मेयरमा विजयी भएका थिए ।

फैसलापछि पनि कुशवाहा नगरपालिकाको गतिविधिमा सक्रिय हुँदै आएका थिए । फैसलाको झन्डै डेढ महिनापछि उनलाई पक्राउ गरी बुझाउन उच्च अदालतले प्रहरीलाई पत्राचार गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी सुटुक्क राजधानी गए । त्यही क्रममा प्रहरीको अनुसन्धान ब्युरोले काठमाडौंको शान्तिनगरबाट पक्राउ गरेको थियो ।

मेयर कुशवाहालाई सर्वोच्चले निर्दोष सावित गरेको खुसियालीमा आइतबार नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका विद्यालयमा सार्वजनिक बिदा हुनेबारे नगरपालिकाले शनिबार सूचना नै जारी गरेको छ ।

कान्तिपुर दैनिकबाट