
नेकपाको सरकारले १० महीना पूरा गरेको छ । ५ वर्षको ‘म्यान्डेट’ पाएको सरकारलाई १० महिनामै फेल भयो भनेर आलोचना गर्नु न्यायसंगत हुँदैन । देशको राजनीति, अर्थतन्त्र, विकास र समाजमा यो सरकारको कस्तो योगदान रह्यो भन्ने बहस चलाउन भने जरुरी छ । हिजोसम्म नेपाल किन बनेन भन्ने बहसमा राजनीतिक अस्थिरतालाई दोष दिने गरिन्थ्यो । भ्रष्टाचार र अन्तर्राष्ट्रिय शक्तिको दबदबा बढ्नुलाई समेत राजनीतिक अस्थिरतासँग जोडेर हेरिन्थ्यो । अहिले दुई तिहाइको सरकार छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको कामलाई दक्खल पार्ने गरी असहयोग गरेको देखिँदैन । भारतमा संसदीय चुनाव नजिकिँदै गर्दा मोदी सरकार ‘छिमेक पहिलो’ नीतिभन्दा ‘चुनाव पहिलो’ रणनीतिमा व्यस्त भएको भन्ने गरिन्छ ।








