१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशन : बन्दसत्र सुरु हुन सकेन, अध्यक्ष ओली बसेको होटलमा भीडभाड



अ+ अ-

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र सुरु हुन सकेको छैन । 

शनिबार साँझ सुरु भएको बन्दसत्रले अध्यक्ष केपी ओलीलाई पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरुको नाम प्रस्ताव  गर्ने अनुमति दिएसँगै बैठक आईतबार बिहान १० बजे सम्मका लागि स्थगित गरिएको थियो । तर पूर्वनिर्धारित समयमा बन्दसत्र सुरु हुन सकेको छैन । बन्दसत्र स्थलमा भन्दा पनि अध्यक्ष ओली बस्नु भएको होटल पार्क सफारीमा आकाक्षी र महाधिवेशन प्रतिनिधिहरुको जमघट बाक्लो रहेको छ ।

अध्यक्ष ओलीले पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरुलाई भेट गर्नुभएको छ । कुनै पदमा पनि आकाक्षा नराख्नेहरु सौराह घुमघाममा व्यस्त रहेका छन् । एक सहभागीले भने, 'प्रतिनिधिको मत र मन जित्नु पर्ने अवस्था रहेन, अध्यक्षको मन जित्नु पर्ने भयो त्यसैले भीड यतै छ ।'

आफ्नो समूहका नेताहरु बीच सहमति नहुनु, माओबादीबाट एमालेका नै रहेका नेताहरुको व्यवस्थापन, १० बुँदे सहमति गरेर एमालेमै रहेका नेताहरुको व्यवस्थापन ओलीका लागी ठुलै चुनौति बनेको छ । जसका कारण पदाधिकारीमै सहमति हुन सकेको छैन । 

पदाधिकारी पछि केन्द्रीय सदस्यहरुको चयन प्रक्रिया पनि ओलीका लागि उत्तिकै सकस बनेको छ । यता अध्यक्षमा उम्मेदवारी दाबी गर्दै आउनु भएका नेता भीम रावलले निर्णयले पनि ओली अप्ठारोमा पर्नुभएको छ ।