![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
छोरी बलात्कार गर्ने लोग्नेलाई जोगाउने कि छोरीका निम्ति लोग्नेविरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू ।
बलात्कृत २० बालिकाको कथा :
लक्ष्मी बस्नेत : खोज पत्रकारिता केन्द्रका लागि
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
२०७१ साल साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको थियो– ‘हजुरबुबा र बुबाको श्रीमती बनेर बाँच्नुभन्दा मर्नु ठीक लाग्यो ।’ मृत्यु रोज्ने उनको दर्दनाक कथा–व्यथा १० वर्षको उमेरमा आफ्नै ६५ वर्षीय हजुरबाले बलात्कार गरेपछि शुरू भएको थियो । त्यो सिलसिला करीब ६ महीना चल्यो । विदेशमा रहेका बाबु फर्केपछि उनले बाबुलाई त्यो कुरा सुनाइन् । बाबुले ‘त्यति बूढो मान्छेले पनि त्यस्तो गर्छ र !’ भने ।
उनका बाबुका चार श्रीमती थिए । उनी माइलीपट्टिकी जेठी छोरी थिइन् । १३ वर्षकी हुँदा बाबुले नै उनलाई बलात्कार गरे । उनले आमालाई भनिन्, तर आमाले खासै वास्ता गरिनन् । मामा प्रहरीमा इन्स्पेक्टर थिए । भान्जीको कुरा सुनेपछि उनले पनि ‘यस्तो कुरा गर्दा बेइज्जत हुन्छ, बरु हामी सम्झाइदिउँला’ भनेर कुरा टुङ्ग्याए । तर बलात्कारको क्रम भने रोकिएन । बाबुले उनलाई गर्भनिरोधक औषधि समेत खुवाएर बलात्कार गर्ने गरेका थिए ।
आफ्नो कुरा कसैले पनि नसुनेपछि उनले विष खाएर आत्महत्याको प्रयास गरिन् । तर उनी मरिनन् । अस्पतालको उपचारबाट अलि ठीक भएपछि असोजमा उनी बाबु र हजुरबुबा विरुद्ध उजुरी गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रे पुगिन् । घटना बाहिर आएलगत्तै हजुरबुबाले आत्महत्या गरे । छोरीलाई न्याय दिलाउन उभिनु साटो आमाले भनिन्, “मैले अरू छोराछोरीलाई पनि हेर्नुपर्छ !”
जिल्ला अदालत काभ्रेले उनका बुबालाई १८ वर्ष कैदको फैसला सुनायो । पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुगेको यो मुद्दामा सर्वोच्च अदालतले पनि जिल्लाकै फैसला सदर ग¥यो । बाबु जेल गए, तर आमा पराइ भइन् । राजधानीको एउटा गैरसरकारी संस्थाको संरक्षणमा रहेकी यी बालिका भन्छिन्, “आफ्नो भन्ने कोही छैन, जाने ठाउँ कहीं छैन ।”
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
२०६५ सालको कोजाग्रत पूर्णिमाको भोलिपल्ट । नुवाकोट, कुवरीकी ११ वर्षीया एउटी बालिका आफन्तहरूका साथ लागेर काठमाडौं बस्ने दिदी भेट्न हिंडिन् । सानैमा आमाबुबा बितेकाले उनी कहिले दिदीकहाँ, कहिले मावलीमा बसेर हुर्केकी थिइन् । उनका साथी थिए दशैं मान्न घर आएका भिनाजु, भिनाजुका भाइहरू र मामाका छोरा दाइहरू ।
आज काठमाडौं पुगिंदैन भन्दै भिनाजु र दाइहरूले त्रिशूलीमा बस्ने कुरा गरे । होटलमा उनीसहित सबै जना एउटै कोठामा बसे । राति ती सबैले रक्सी खाए र उनलाई बलात्कार गरे ।
काठमाडौं आएपछि उनले दिदीलाई घटना सुनाइन् । बहिनीलाई न्याय दिलाउन दिदीले प्रहरी गुहारिन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा जाहेरी प¥यो, जाहेरीमा पीडित बालिकाले पाँचै जनाले आफूलाई बलात्कार गरेको भनेकी छिन् । तर, भिनाजुले आफूले मात्र बलात्कार गरेको सकारेर भाइहरूलाई जोगाउन खोजे । तर पनि अदालतले ती तीन जनालाई करणी उद्योगमा तीन/तीन वर्ष कैद हुने फैसला ग¥यो । उनीहरू अहिले सजाय काटेर छुटिसकेका छन् । मामाको छोरो भने घटनादेखि नै भागेकोले फरारको सूचीमा छ ।
यस घटनामा दिदीले बहिनीको न्यायका लागि लडिन् । लोग्नेलाई जिल्ला अदालत नुवाकोटले १५ वर्ष कैदको फैसला गरेपछि सम्बन्धविच्छेद गरिन् । अंश भाग लगाएर दुई छोराहरूको नाममा र आफ्नो भागको अंश पीडित बहिनीको नाममा गरिदिइन् । उनी अहिले छोराहरूलाई होस्टलमा राखेर वैदेशिक रोजगारमा गएकी छन् ।
अहिले स्नातक तहमा पढ्दै गरेकी ती युवती घटना भएदेखि एउटा गैरसरकारी संस्थाको संरक्षणमा छिन् । उनलाई अहिलेसम्म पिसाब चुहिरहने समस्या छ । खोक्दा र हाँस्दा समेत पिसाब चुहिने हुँदा बाहिर निस्कँदा सधैं डाइपर लगाउनुपर्छ । दिदीको घरबार बिग्रेकोमा चिन्तित उनी भन्छिन्, “अब मेरो जाने ठाउँ कहीं छैन ।”
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
ललितपुर, गोदावरीकी एक युवतीले अन्तरजातीय प्रेमविवाह गरिन् । विवाहलाई माइतीले स्वीकार नगरे पनि माया गर्ने श्रीमान् थिए, वैवाहिक जीवन राम्रैसँग चलेको थियो । छोरी पनि जन्मिइन् । छोरी जन्मेपछि उनले माइतीको अभाव पनि पूरा भएको ठानिन् ।
२०७२ सालको भूकम्पपछिको एक दिन उनको जीवनमा ठूलो बज्रपात भयो । पालमुनि बसेका बेला लोग्नेले ९ वर्षीया छोरीलाई जबर्जस्ती गरेको आफ्नै आँखाले देखिन् । उनले आफूलाई सम्हाल्दै प्रहरीमा उजुरी गरिन् । जिल्ला अदालत, ललितपुरले उनको लोग्नेलाई १० वर्ष कैद ग¥यो । उनले अदालतमा भनेकी छिन्, “यस्तो लोग्ने मलाई चाहिंदैन । यो अपराधी आजीवन जेलमै बसेको हेर्ने मन छ ।”
एउटा सुखी घरबार उजाडिएकी उनी अहिले आफन्तकोमा बस्छिन् । ज्याला मजदूरीबाट गुजारा चलाउँछिन् । अहिले १३ वर्ष पुगेकी पीडित छोरी एक गैरसरकारी संस्थाको सेल्टरमा बसेर पढ्दैछिन् । उनी भन्छिन्, “सपनाहरू चकनाचूर हुन केही बेर लाग्दो रहेनछ ।”
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
बाबुबाट सधैंजसो बलात्कृत भइरहँदा पनि उनले कसैलाई भनिनन् । ९ कक्षामा पुगेपछि उनी र भाइलाई राम्रो स्कूलमा पढाउने भन्दै बाबुले दोलखा ल्याए र डेरा खोजेर राखे । दोलखा आएपछि पनि बाबुको बानी फेरिएन । अति भएपछि एक दिन उनले आमालाई भनिन् । सोधखोज गर्दा बाबुले उल्टै आमालाई झपारे । तर बलात्कारको क्रम चलिरह्यो । घटना बाहिर ल्याएपछि पढाइ बिगे्रला भन्ने सोचेर २०७० सालमा एसएलसी परीक्षापछि उनले यो कुरा बाहिर ल्याउने निधो गरिन् । परीक्षा सकिएको चार दिनपछि जिल्ला प्रशासन कार्यालय पुगेर चिनजानकै एक जना महिला कर्मचारीसँग आफ्नो कुरा खोलिन् । ती महिलाले सिडियोलाई पनि जानकारी गराइन् र प्रहरीमा खबर गरेपछि बाबु पक्राउ परे । जिल्ला अदालत दोलखाले उनलाई १२ वर्ष जेल सजाय र रु.१ लाख जरिवाना गर्ने फैसला गरेको छ ।
बाबु पक्राउ परेको चार/पाँच दिनसम्म उनी घरमै बसिन् । तर आमाले बयान फेरेर बुबालाई बाहिर निकाल्ने दबाब दिन थालेपछि उनले घर छाडिन् । उनले एउटा गैरसरकारी संस्थाको संरक्षणमा बसेर भर्खरै मात्र कक्षा १२ को पढाइ सकिन् । “आमाले घरमै नआइज भन्नुभएको छ, बाबाले मुद्दा पुनरावेदन गरेको छु, उल्टिएपछि तँलाई जानेको छु भनेर खबर पठाएका छन्” उनले भनिन्, “मलाई सरकारले सुरक्षा र गरिखाने काम दिए हुन्थ्यो ।”
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
पर्वतको एउटा गाउँकी उनी अहिले १७ वर्षकी भइन् । १३ वर्षकी हुँदा आफ्नै काकाबाट बलात्कृत भएकी थिइन् । त्यसबेला उनले यो कुरा कसैलाई भनिनन् । सधैंजसो पेट दुख्न थालेपछि एक दिन आमाले अस्पताल पु¥याइन् । त्यहाँ उनी गर्भवती रहेको कुरा खुल्यो । यो थाहा पाएपछि आमा बेहोश भइन् । बाबु पहिल्यैदेखि पक्षघातका बिरामी थिए ।
गर्भपतन गर्न मिल्ने समय गुज्रिसकेको थियो । गाउँभर कुरा फैलिएपछि उनलाई गाउँ निकाला गर्ने चर्चा चल्यो । त्यसपछि उनी प्रहरीको सहयोगमा पोखराको एउटा गैरसरकारी संस्थाको सम्पर्कमा पुगिन् । केही समय त्यहाँ बसेपछि उनलाई ‘काउन्सिलिङ’ गरेर घर पठाइयो ।
केही दिनमा उनी घर फर्केको थाहा पाएपछि गाउँका केही महिलाहरूले नै ‘यस्तीलाई गाउँमा राख्नुहुन्न’ भन्दै उनलाई पिटे । राति नै गाउँ निकाला गर्न लागेपछि एक जना स्थानीय शिक्षकले उनलाई पुनः त्यही संस्थामा पु¥याइदिए । त्यहीं उनले बच्चा जन्माइन् । अदालतले काकालाई १० वर्ष जेल सजाय सुनाएको छ । ती किशोरी आमा भन्छिन्, “यो सेल्टर छाडेर कहाँ जाउँ म अब ?”
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
आफ्ना सन्तान नभएपछि धादिङकी लक्ष्मी र उनका श्रीमान्ले २०६८ सालमा एक महीनाकी बालिकालाई धर्मपुत्री बनाए । बालिकाले लक्ष्मीको सानो परिवारमा खुशी भित्र्याइन् । २०७३ वैशाखमा मातातीर्थ औंसीमा छोरीलाई घरमा छाडेर लक्ष्मी माइत गइन् । त्यहीबेला, २४ वैशाख २०७३ को दिन उनका लोग्नेले पाँच वर्षीया छोरीलाई बलात्कार गरे ।
३१ वैशाखमा माइतीबाट फर्कंदा छरछिमेकीले यसबारे सुनाए । उनले छोरीलाई सोधिन् । छोरीले पनि ‘हो’ भनेपछि धादिङबेसी पुगेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । तर पहिले बलात्कार गरेको आफ्नै आँखाले देखेको बताउने छरछिमेकीले उजुरी दर्ता गरेर फर्केपछि भने ‘हुँदै नभएको कुरामा लोग्नेलाई फँसाएको’ भने । लक्ष्मी भन्छिन्, “पहिले देखेका हौं भन्नेहरूले हामीलाई थाहा छैन भने । मेलापर्ममा आउन छाडे । उल्टै मलाई चोरीको आरोप लगाए ।”
लक्ष्मीले आफूमाथि दुव्र्यवहार गर्ने सात जना छिमेकी विरुद्ध प्रहरीमा उजुरी गरिन् । प्रहरी कार्यालयमा भएको छलफलमै केहीले ‘गाउँमा विकृति फैलाएको र यस्तै गरिरहे ज्यान जान सक्ने’ समेत धम्की दिए । प्रहरीले मिलापत्र गरेर पठायो । अचाक्ली भएपछि उनले २०७३ भदौमा गाउँ छाडिन् । अहिले छोरीसहित उनी भक्तपुरमा बस्छिन् ।
जिल्ला अदालत धादिङले २०७३ साउनमा बलात्कारी बाबुलाई ११ वर्ष कैद सजाय सुनाएको छ । छोरी अहिले सात वर्षकी भइन् । लक्ष्मी भन्छिन्, “दोषीलाई सजाय त भयो, तर मलाई आफ्नै घरगाउँमा फर्केर जाने अवस्था भएन ।”
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
२०७३ सालको कुरा हो । ओखलढुंगा, मानेभन्ज्याङकी १४ वर्षीया बालिका आफन्तले चलाएको एउटा होटलमा काम गर्थिन् । होटलमा काम गर्दा गर्दै उनको पेट बढ्न थाल्यो । परिवार गरीब थियो, आमा सोझी थिइन् । अरूले अस्पताल लैजाऊ भनेपछि उनी छोरी लिएर अस्पताल गइन् । बालिका ७ महीनाकी गर्भवती भएको थाहा भयो । उनले बताए अनुसार त्यही होटलको गाडी चलाउने ड्राइभर काजी राईले उनलाई बलात्कार गरेको हो । काजीले घटनाबारे कसैलाई भने मारिदिने धम्की दिएकाले उनी चूपचाप बसेकी थिइन् ।
त्यसपछि उनलाई जिल्लाकै ‘सेफ हाउस’ मा राखियो । बच्चा जन्मेपछि उनलाई समाजमा मुख देखाउन समस्या भयो, आमाबाबुकै सहमतिमा केही संघसंस्थाले अहिले उनलाई काठमाडौं ल्याएका छन् । जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा काजी विरुद्ध उजुरी परेको छ । प्रहरीले अहिलेसम्म काजीलाई पक्राउ गर्न सकेको छैन । बालिका अहिले १६ वर्षकी भइन्, छोरा दुई वर्षको पुग्न लाग्यो । उनका लागि आफ्नै गाउँघर समेत बिरानो भएको छ । उनी भन्छिन्, “बलात्कारबाट जन्मेको बच्चा लिएर घर जाने आँट छैन, अन्त कहाँ जाउँ ?”
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
यो चितवनको कथा हो । उनी जन्मेको केही महीनामै आमा अर्को बिहे गरेर हिंडिन् । बाबु ठेक्कापट्टाको काम गर्थे । फेरी फेरी श्रीमती ल्याउँथे । कोही दुई चार महीना बस्थे, कोही दुईचार दिनमै हिंड्थे । एउटी चाहिं लामै समय बसिन् । छोरी पनि पाइन् । तर, छोरी जन्मेपछि एक वर्ष नपुग्दै छाडेर गइन् । ती बहिनी उनकै हेरचाहमा हुर्किइन् ।
१२/१३ वर्षकी उनी र सानी बहिनी एउटै कोठामा सुत्थे । एक दिन कोठाको चुकुल बिग्रेपछि उनले बाबुलाई भनिन् । चुकुल बनाउन कता हो कता, त्यही रात पत्याउन पनि मुश्किल पर्ने घटना भयो । उनले भनिन्, “पढेर भर्खर निदाएकी थिएँ, बाबा र दाइ कोठामा पसेर मलाई पालैपालो बलात्कार गरे ।”
बाबु र दाइले निस्कने बेला बाहिरबाट चुकुल लगाइदिए । रोइन्, चिच्याइन् तर कसैले सुनेन । रात छिप्पिंदै गएपछि बल गरेर ढोका तानिन् । बाहिरबाट लगाएको चुकुल खुल्यो । बहिनीलाई त्यहीं छाडेर उनी भागिन् । जंगलको बाटो हुँदै राति नै मामाघर पुगिन् । मामा माइजूलाई सबै कुरा भनिन् । भोलिपल्ट मामा माइजूले बाबुसँग कुरा गर्ने भनेर लिएर गए । ‘समाज’ बोलाइयो । बाबु र दाइले ‘रक्सी खाएका बेला गल्ती भो’ भन्दै खुट्टा ढोगेर माफी मागे ।
उनलाई मामाघर नै फर्काइयो । मामा–माइजूले झण्डै दोब्बर उमेरको केटासँग बिहे गराइदिए । लोग्नेसँग बस्न नसकेपछि उनी डान्सबारमा काम गर्न गइन् । अहिले गुजाराका निम्ति कलंकी आसपास क्षेत्रमा चल्ने गाडीका यात्रुलाई सामान बेच्ने काम गर्छिन् । “मर्छु भनेर दुईपल्ट आत्महत्या गर्न खोजें, तर काल आएन” अहिले १८ वर्ष पुगेकी उनले भनिन्, “बाँच्न साह्रै गाह्रो, मर्न पनि सजिलो रहेनछ ।
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
उनका आमाबुबा दुवै सुस्त मनस्थितिका थिए । आफ्नै ख्याल गर्न सक्दैनथे । त्यसैले आमाबुबासहित भाइ र बहिनीको रेखदेख गर्ने जिम्मा समेत उनकै काँधमा थियो । बाग्लुङको एउटा गाउँमा घर धानेर बसेकी ती ८ वर्षीया बालिकालाई पढाउन भनेर फुपूको घर पठाइयो ।
उनी त्यहीं बसेर पढ्न थालिन् । एक दिन फुपू घरमा नभएका बेला फुपाजूले उनलाई जबर्जस्ती गरे । घटनाबारे अरूले पनि थाहा पाएपछि फुपाजू पक्राउ परे । ती बालिकालाई गैरसरकारी संस्थाले चलाएको ‘सेफ हाउस’ मा ल्याएर राखियो । एक वर्ष त्यहाँ राखेपछि आमाबाबुकै जिम्मा लगाइयो । सुस्त मनस्थितिका बाबुआमाले छोरीलाई चाहिने अभिभावकत्व दिन सकेनन् । आफन्त र छरछिमेकीले ‘घरमा राख्न ठीक नहुने’ सल्लाह दिएपछि उनी फेरि ‘सेफ हाउस’ मै पुगिन् । उनी भन्छिन्, “बुबाआमा केही गर्न सक्दैनन् । फुपाजू जेल परेपछि फुपूले पनि घरमा नराख्ने भनिन् । अब कहाँ जानु ?”
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
२०७४ सालमा काठमाडौंमा भएको घटना हो । आठ वर्षमा टेकेकी छोरीको दुई दिनपछि जन्मदिन मनाउने तयारी हुँदै थियो । सधैं स्कूलबाट फर्कने छोरी लिन पुग्ने आमा त्यो दिन भक्तपुर गएकाले फर्कंदा ढिलो भयो । आफू ढिलो हुने भएपछि जेठाजुलाई फोन गरिन् । वल्लोपल्लो घर भएका जेठाजुले छोरी ल्याइदिने भनेपछि उनी ढुक्क भइन् ।
तर, साँझ ६ बजे घरपुग्दा छोरी थिइनन् । यताउता खोजिन्, भेटिनन् । जेठाजुको घर पुगेर खोजतलास गर्दा ट्वाइलेटमा बेहोश अवस्थामा थिइन् छोरी । छिमेकीहरू जम्मा भए । अस्पताल पु¥याएपछि थाहा भयो– उनलाई बलात्कार गरिएको रहेछ । हल्लीखल्ली भएपछि भागिसकेका जेठाजुलाई प्रहरीले एक महीनापछि झापाबाट पक्राउ ग¥यो । अदालतले उनलाई आठ वर्ष जेल सजाय सुनाएको छ ।
गेरुवस्त्र धारण गरेर हिंड्ने, ५४ वर्षीय अविवाहित जेठाजुबाट नाबालिका छोरी बलात्कृत भएपछि उनी प्रहरीमा पुगिन् । तर, उनका लोग्ने भने दाजुको पक्षमा लागे । मुद्दा मामिला शुरू भएपछि लोग्नेसँग सम्बन्ध टुट्यो । अहिले उनी डेरा लिएर एक्लै बस्छिन् ।
अहिले उनकी छोरीलाई एउटा गैरसरकारी संस्थाको आवास गृहमा राखिएको छ । छोरी मान्छे देख्दा पनि तर्सिन्छिन् । परिवार छिन्नभिन्न भएको छ । उनी भन्छिन्, “मुद्दा अहिले पुनरावेदन अदालतमा छ, दाजुभाइ लागेर मुद्दा उल्ट्याएरै छाड्छौं भनिरहेका छन् । छुटेर आए भने के हुने हो थाहा छैन ।”
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
![](https://cijnepal.org.np/wp-content/uploads/2018/01/sketch-cij.jpg)
घटना सिन्धुलीको हो । गर्भवती भएका बेला श्रीमान् गुमाएकी १९/२० वर्षीया महिलासँग गर्भको बच्चालाई अभिभावकत्व दिने बाचा गरेर एक जना युवकले बिहे गरे । छोरी जन्मेपछि उनले त्यो बाचा पूरा पनि गरे । छोरीलाई खुवाउने, नुहाइदिने काम आफैं गर्थे । आमा घरबाहिरको खेतीपाती, मेलापातमा व्यस्त हुन्थिन् ।
छोरी पाँच वर्ष पुगेकी थिइन् । आमालाई एक दिन उनको शरीर गन्हाए झैं लाग्यो, तर केही मेसो पाउन सकिनन् । खानामा छोरीको रुचि घट्दै गएपछि र पेट दुखे झैं गरी रुन थालेपछि उनले अस्पताल पु¥याइन् । त्यसपछि मात्र उनी बलात्कृत भएको, पटकपटक बलात्कार भएकाले पाठेघरमा घाउ भइसकेको पत्ता लाग्यो । त्यो अपराध तिनै झड्केला बाबुले गरेका थिए । ती बालिकाको उपचार जिल्लामा सम्भव नभएपछि काठमाडौं ल्याइयो । आमाले उनलाई एउटा गैरसरकारी संस्थाको संरक्षणमा राखिदिइन् । ९ वर्षदेखि उनी यहाँ बसेकी छिन् । आमा गाउँमै ज्याला मजदूरीको काम गर्छिन् ।
जिल्ला अदालत सिन्धुलीको आदेशले १० वर्ष जेल सजाय पाएका झड्केला बाबु जेलबाट छुट्ने बेला भइसक्यो, तर, आमा र छोरी विक्षिप्त अवस्थामा छन् । छोरीको स्वास्थ्य दयनीय छ । महीनावारी तीन÷चार महीनामा एक पटक हुन्छ र १५/२० दिनसम्म रगत बगिरहन्छ । घाउ सञ्चो नभएपछि डाक्टरले पाठेघर नै फाल्नु उचित हुने सल्लाह दिएका छन् ।
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
बाबुले दोस्रो बिहे गरेर भारततिर हिंडेको केही महीनामै आमा पनि घर छाडेर हिंडेपछि सुर्खेत वीरेन्द्रनगरकी उनी ११ वर्षको उमेरमै भाइ र बहिनीको अभिभावक बनिन् । कहिले छिमेकीसँग हात पसारेर, कहिले घाँस–दाउरा बेचेरै भाइबहिनीसहित आफ्नो पेट पाल्ने जोहो गरिन् । त्यति गरेर पनि उनले पढ्न छाडेकी थिइनन् । आफू ९ कक्षामा पढ्थिन्, बहिनी र भाइ क्रमशः ५ र २ कक्षामा पढ्थे ।
२०७५ जेठ अन्तिम साताको कुरा हो । घरबाट केही टाढा माइजू नाता पर्नेको घर पुगेर फर्कंदै थिइन् । झमक्क साँझ परिसकेको थियो । जंगलको बाटो छिचोल्दै गर्दा एक्कासि दुई जना केटाले बाटो छेके । उनका दुवै हात समाते र पालैपालो बलात्कार गरे । सकी–नसकी राति १० बजे घर आइपुगिन् ।
घटनाबारे थाहा पाएपछि चिनजानकी एक जना आन्टीले उनलाई प्रहरी चौकीसम्म पु¥याइन् । प्रहरीले उनलाई स्थानीय गैरसरकारी संस्थाको आवासगृहमा पु¥याइदियो । अहिलेसम्म पनि उनी त्यहीं बस्छिन् । उनलाई आफ्नोभन्दा भाइबहिनीको पिरलो छ । भन्छिन्, “भाइबहिनी भोकभोकै छन् होला !” उनलाई बलात्कार गर्नेहरू अहिलेसम्म समातिएका छैनन् ।
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
सात वर्षकी छँदा आमाको मृत्यु भएपछि सुर्खेत, वीरेन्द्रनगरकी उनी मामासँग बसिन् । उनीसहित तीनै जना छोराछोरीलाई मामाघर छाडेर उनका बाबु कामको खोजीमा भारत गएका थिए । मामाघरमै हुर्केकी उनीमाथि मामाकै कुदृष्टि प¥यो । उनले पटकपटक बलात्कार गरे । १६ वर्षकी भतिजीको आनीबानीमा अचम्मको फेरबदल देखेपछि एक दिन फुपूलाई शंका लाग्यो । सोधखोज गरेपछि थाहा भो, उनी गर्भवती रहिछन् ।
फुपूले प्रहरीमा उजुरी गरिन् । ६ महीना पुगिसकेकाले गर्भपतन गर्न मिलेन । प्रहरीले उनलाई गैरसरकारी संस्थाको आवासगृहमा पठाइदियो । गर्भवती उनी अहिले कोहीसँग बोल्दिनन् । स्थानीय आवासगृहकी व्यवस्थापक धना जिसीले भनिन्, “उनलाई ठूलो असर परेको छ, प्रायः बेहोशीमै बर्बराउँछिन् ।” बलात्कारको अभियोग लागेका मामा चाहिं फरार छन् ।
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/rape-victim-table.jpg)
स्रोत : प्रहरी प्रधान कार्यालय, महिला तथा बालबालिका सेवा निर्देशनालय
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
गुर्भाकोट, सुर्खेतकी उनको १४ वर्षकै उमेरमा विवाह भएको थियो । वैवाहिक जीवन राम्रैसँग बितिरहेको थियो । छोरो पाएपछि एक दिन श्रीमान्ले कुटे । केही समय माइत बसेर आउँछु भनेर उनी माइत आइन् । तर, माइती घरमा सुतेका बेला गाउँकै शम्भु घर्तीले उनलाई बलात्कार गरे ।
उनका आमाबाबु इज्जतको डरले यो घटना गाउँमै मिलाउन चाहन्थे । तर, शम्भुको परिवारले उल्टै धम्क्याएपछि उनीहरूले प्रहरीमा उजुरी गरे । त्यसपछि शम्भु पक्राउ परे । उता उनका श्रीमान्ले यो घटना थाहा पाएपछि सम्बन्ध टिकेन । “अब त्यो घरमा बस्न सकिन्न भनेर मैले पनि सम्बन्धविच्छेद नै रोजें” उनले भनिन्, “तर, सम्पत्ति केही लिएकी छैन ।” शम्भु तीन महीनादेखि जिल्ला कारागार सुर्खेतमा छन् । शम्भुको परिवार उनलाई छुटाउन अनेक प्रयास गरिरहेको छ ।
माइतीमा घाँसदाउरा गरेर चार वर्षको छोरो हुर्काइरहेकी उनी नातागोता र समाजको तिरस्कारले थप आहत छिन् । “भाइबहिनी नै तैंले गर्दा हाम्रो पनि इज्जत गयो भन्छन्” उनी भन्छिन्, “सहारा ठानेको माइतीमै छिःछिः र दूरदूर भएपछि कहाँ जाऊँ ?”
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
म्याग्दीको मालिका गाउँपालिकाको घटना हो, यो । २०७५ भदौको शनिबार विद्यालय बिदा भएकाले १२ वर्षीया छोरी र ५३ वर्षका लोग्नेलाई घरमा छाडेर आमा काममा गएकी थिइन् । त्यही दाउ छोपेर बाबुले छोरीलाई बलात्कार गरे । ती छोरीका अनुसार बाबुले त्यसअघि पनि बलात्कार गरेका थिए । घटनाको बारेमा थाहा पाएपछि सबैभन्दा पहिले आमाले वडाध्यक्ष पिपला बुढालाई सुनाइन् । बुढाको सल्लाहमा ती बालिका र उनकी आमाले इलाका प्रहरी कार्यालय, दरवाङमा जाहेरी दिए ।
प्रहरीले तत्कालै बलात्कारी बाबुलाई पक्राउ ग¥यो । अहिले उनी पुर्पक्षका लागि थुनामा छन् । तर अहिले पनि पीडकका दाजुभाइ, आफन्तहरूले घटना मिलाउनुपथ्र्यो, दाजुभाइसँग सल्लाह नै नगरी घटना प्रहरीमा पठायो भनेर वडाध्यक्ष बुढालाई अहिले पनि भन्ने गरेका छन् । अहिले त्यो मुद्दा जिल्ला अदालत, म्याग्दीमा चलिरहेको छ । छोरी गाउँमै पढिरहेकी छिन् ।
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
नवलपरासी गैंडाकोटको घटना हो । २०७४ साल चैतमा बाबुले ८ महीने नाबालिका छोरी बलात्कार गरे । करीब ३० वर्षीय ती पुरुषले आफू काममा गएको बेला बलात्कार गरेको भनी पीडितकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । एक होटलमा काम गर्ने उनी घरमा श्रीमान्लाई नानी छोडेर काममा गएकी थिइन् । तर छिमेकीले तिम्रो बच्चा साह्रै रोयो भनेर आफैंलाई खबर गरेपछि घर जाँदा घटना थाहा भएको उनले प्रहरीमा बताएकी छिन् ।
इलाका प्रहरी कार्यालय, गैंडाकोटले जाहेरी दर्ता भए लगत्तै बाबुलाई पक्राउ ग¥यो । १० वर्ष मुनिको बालिकालाई गरेको करणी र हाडनाता करणी समेत गरी कैद सजायको माग गरिएको पीडितको तर्फबाट मुद्दा हेर्न सहयोग गर्दै आएको संस्थाले बताएको छ । जिल्ला अदालत नवलपरासीको आदेशले ती बाबुलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । यो मुद्दा हेरिरहेका एक जना कानून व्यवसायीका अनुसार, श्रीमान् विरुद्ध मुद्दा हालेकी ती आमालाई मुद्दा गर्नु कि छोरी हुर्काउनु भएको छ । ती कानून व्यवसायीका भनाइमा, “गरीब परिवारकी यी आमालाई अरू सन्तान हुर्काउन समेत समस्या छ ।”
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
२०७४ साल चैत २८ गते साँझपखको कुरा हो । जनकपुरधाम उप–महानगरपालिकाको एउटा गरीब परिवारकी १६ वर्षीया छोरी अरूको घरमा काम गरेर फर्किरहेकी थिइन् । बाटोमा दुई जनाले उनलाई समातेर नजिकैको एउटा घरमा लगे र ७ जनाले रातभरि बलात्कार गरे ।
ती बालिकाका अनुसार, बलात्कारीले बिहान हुन लागेपछि उनलाई घरछेउमा लगेर छोडिदिए । कहिलेकाहीं काम गर्ने घरमै पनि रात बस्ने गरेकाले घरमा सोधखोज भएन । उनलाई ती बलात्कारीहरूले घटना कसैलाई नभन्नु र भने परिवारै सिध्याइदिने भनेर धम्की दिएका थिए । तर दुई दिनपछि एक जना दिदी पर्नेलाई त्यो कुरा भनेपछि उनकी हजुरआमाले प्रहरीमा जानुपर्छ भनिन् । घटनाको चार दिनपछि जिल्ला प्रहरी कार्यालय, धनुषामा जाहेरी दर्ता भयो ।
बलात्कारमा संलग्न सातमध्ये दुई जना सुमन पाण्डे, धनिकलाल साह र राहुल भनिने ओजिर हुसैन अहिले पुर्पक्षका लागि थुनामा छन् भने रञ्जितकुमार साह (महोत्तरी) र सिद्धार्थ दास (धनुषा) फरार छन् । अरू दुई जना पीडितले पनि नचिनेका थिए र प्रहरीले पनि पत्ता लगाउन सकेको छैन । हाल काठमाडौंको एक संस्थाको संरक्षणमा बसिरहेकी ती बालिकालाई उनको घरमा पुनस्र्थापना गर्न समस्या छ । त्यही भएर परिवारले पनि यतै बसेर पढोस् भन्ने चाहेको छ । घर फर्केमा ती बालिकालाई जुनसुकै बेला आक्रमण हुनसक्ने पीडित परिवारका सदस्यहरू बताउँछन् । पीडकहरू पाण्डे, साह र हुसैनले आफूहरूलाई थुनामा राख्नु नपर्ने भनेर पुनरावेदन अदालत, जनकपुरमा पुनरावेदन गरेका छन् ।
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/rape-table-22.jpg)
स्रोत : प्रहरी प्रधान कार्यालय, महिला तथा बालबालिका सेवा निर्देशनालय
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
रौतहटको गुजरा नगरपालिकाकी एक बालिका २०७४ वैशाखमा एकाएक हराइन् । परिवारले तत्कालै प्रहरीमा खबर ग¥यो । तर प्रहरीले दुई महीनासम्म किशोरी कहाँ छन् भनेर पत्ता लगाउन सकेन । करीब दुई महीना पछि किशोरी फेला परिन् । त्यसपछि किशोरीलाई अपहरण गर्ने मुख्य योजनाकार स्थानीय औषधि पसले बलिष्टर चौधरी पक्राउ परे । चौधरी लगायतले ती किशोरीलाई वीरगंजमा कोठा लिएर बन्धक बनाएर राखेका थिए ।
इलाका प्रहरी कार्यालय, गरुडाका अनुसार, १३ वर्षीया ती बालिकाले क्रमशः ३५, २४ र १९ वर्षका बलिष्टर चौधरी, धमेन्द्रकुमार चौधरी र जियालाल महतोले आफूलाई पटक–पटक बलात्कार गरेको बताएकी छिन् । ती तीनै जनालाई पुर्पक्षका लागि थुनामा राखेर अपहरण, शरीर बन्धक र बलात्कारमा जिल्ला अदालत, रौतहटमा मुद्दा चलिरहेको छ ।
तर, मुद्दा फिर्ता लिन किशोरीका बाबुआमालाई पटक–पटक धम्की आएकाले उनीहरू समेत काठमाडौंमा बस्न थालेका छन् । सानोतिनो व्यापार गरेर बसेका उनीहरूको पारिवारिक जीवन चौपट भएको छ । किशोरीका बाबु भन्छन्, “छोरीको जीवन पनि बर्बाद भयो, हाम्रो अवस्था पनि बर्बाद भयो ।”
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/4.png)
२०७५ जेठको कुरा हो, पाँचथर फिदिमकी एक जना १४ वर्षीया बालिकालाई छिमेकीले बलात्कार गरे । गरीब परिवारकी उनी तीन जना दिदीबहिनी र एक भाइसहित आमासँग बस्थिन् । बाबुले पहिले नै छोडेर हिंडेका थिए । छिमेकीले मोटरसाइकल चढाएर घर पु¥याइदिन्छु भनेर जंगलमा लगेर बलात्कार गरेका थिए ।
केही दिनमै पीडक पक्राउ परे । उनलाई जिल्ला अदालत, पाँचथरले १० वर्षको कैद सजाय हुने फैसला गरेको छ । तर उनले बाहिर निस्किएपछि खसीबोका जसरी काट्छु भन्ने धम्कीका खबर जेलबाटै पठाइरहेका छन् । पीडित परिवारलाई छरछिमेकले सहयोग त गरेका छन् तर आमालाई अरू छोरीहरूको चिन्ता छ । संस्थाले पुनस्र्थापना गर्ने तयारी गरे पनि ती बालिका डरले घर जान चाहेकी छैनन् । गएको दशैंमा घर पठाउँदा पनि उनी डरले फेरि काठमाडौं आएकी छिन् ।
तीन वर्षअघि स्याङ्जाको एउटा गाउँको घरमा हजुरबा र नातिनी बस्थे । नातिनी ६ वर्षकी हुँदा आमा घर छाडेर हिंडिन् । उनको हेरचाह र स्याहारसुसार ७० वर्षीय वृद्ध हजुरबाको जिम्मामा पुग्यो । ती बालिकाले स्कूलमा सधैं पेट दुख्यो भनेर गुनासो गर्न थालेपछि शिक्षिकाले सोधखोज गरिन् । फकाएपछि केही कुरा बालिकाले आफैं खोलिन् । स्वास्थ्य परीक्षणपछि हजुरबाले करीब ६ महीनादेखि उनलाई बलात्कार गर्दै आएको पत्ता लाग्यो ।
हजुरबा विरुद्ध जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा जाहेरी दर्ता भयो । उनी पक्राउ परे । एक वर्षपछि अदालतले उनलाई १० वर्ष कैद हुने फैसला सुनायो । पीडित बालिकालाई अहिले पोखरास्थित एउटा गैरसरकारी संस्थाले चलाएको ‘सेफ–हाउस’ मा राखिएको छ । तर सो संस्था आफैं समस्यामा परेको छ । संस्थाका एक जना प्रतिनिधि भन्छन्, “उनलाई पठाउने ठाउँ र जिम्मा लगाउने व्यक्ति नै छैन ।”
जो पीडित उही दोषी !
बलात्कारका पीडितहरूलाई परिवार र समाजमा पुनस्र्थापित हुन सजिलो छैन । समाजले पीडितलाई नै दोषी देख्छ, छिःछिः र दूरदूर गर्छ । डेढ दशकयता बलात्कार पीडितका लागि काम गरिरहेको गैरसरकारी संस्था रक्षा नेपालकी अध्यक्ष मेनुका थापाका अनुसार, “प्रायः पीडितले घर छाडेकै हुन्छन्, परिवारमा पुनस्र्थापित हुनेहरू २० प्रतिशत पनि हुँदैनन् ।”
![](https://cijnepal.org.np/wp-content/uploads/2018/11/child-rape.jpg)
बलात्कार पीडितहरूले चाहेर पनि पीडा भुल्न पाउँदैनन् । प्रहरी र वकिलसित घटनाको बयान दिनुपर्छ । न्यायाधीशलाई त्यसबारे जवाफ दिनुपर्छ । विपक्षी वकिलले सोध्ने ‘असंवेदनशील’ प्रश्नको जवाफ दिंदा पीडितहरूले पटकपटक बलात्कारमा परे झैं महसुस गर्नुपर्छ ।
१० वर्षदेखि बलात्कृत बालिका र किशोरीहरूलाई मनोपरामर्श दिइरहेकी गीता न्यौपाने उपचार वा परामर्शपछि पनि बलात्कार पीडितमा घटनाको छाप कुनै न कुनै रूपमा बाँकी नै रहने बताउँछिन् । परिवार, आफन्त र समाजको मायाले मात्र उनीहरूले पीडा कम हुने उनको अनुभव छ । उनी भन्छिन्, “तर, प्रायः पीडितले परिवार र आफन्तको साथ पाउँदैनन् ।”
डा. देवी गुरुङ काठमाडौंको थापाथलीस्थित प्रसूति गृहकी स्त्री रोग तथा प्रसूति विशेषज्ञ हुन् । उनले अस्पतालमा स्वास्थ्य जाँचका लागि आउने एक हजारभन्दा बढी बलात्कार पीडितको जाँच गरिसकेकी छन् । डा. गुरुङका भनाइमा, “सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, पिसाब र पाठेघरमा संक्रमण तथा पिसाब नरोकिने पीडितको आम समस्या हुन् ।” उनका भनाइमा, पाठेघरमा संक्रमण भएर समयमै उपचार नभएमा फेलोपियन ट्यूब बन्द हुने र पछि गर्भ नबस्ने सम्भावना पनि हुन्छ भने सानो उमेरका र सामूहिक बलात्कारमा परेकाहरूमा यस्तो समस्या बढी हुन्छ । थापाले दिएको दृष्टान्त अझ गम्भीर छ । चिकित्सकहरूले बताए अनुसार रक्षा नेपालको सेल्टरमा रहेका ७० जना बलात्कार पीडितमध्ये करीब आधा जति भविष्यमा आमा बन्नै नसक्ने अवस्थाका छन् ।
हाडनाता करणी पीडित बालिकाहरूको निम्ति कार्यरत संस्था, अन्तरदृष्टि नेपालकी अध्यक्ष विनिता दाहालका अनुसार, समाजले जो पीडित हो, उसैमाथि दोष थोपर्छ । परिवारभित्रको हाडनाता करणीमा घटना लुकाउने र मुद्दा दर्ता नगर्ने कुरा सामान्य झैं हुन्छ । दाहाल भन्छिन्, “बलात्कृत बालिका–किशोरीका आमाले घरपरिवार त्याग्न तयार नभए मुद्दा नै चल्दैन । छोरी बलात्कार गर्ने श्रीमान्लाई जोगाउने कि छोरीका निम्ति श्रीमान् विरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू ।”
दाहालको भनाइमा, “यस्ता घटनालाई सकेसम्म परिवार, समाजमै दबाइन्छ । मुद्दा मामिला भइहाले हत्तपत्त फैसला हुँदैन । फैसला भयो, सजाय तोकियो भने अभियुक्त जेलमा त पुग्छन्, तर पीडितलाई आफ्नै परिवार र समाजले बसिखान दिंदैन ।”
(साथमा लक्ष्मी भण्डारी, सुर्खेत)
(पीडितको परिचय नखुलोस् भन्नेमा ध्यान दिंदा धेरै ठाउँमा घटनाको पृष्ठभूमि र पीडकको परिचय समेत लुक्न पुगेको छ । जिल्ला प्रहरी कार्यालयहरू, जिल्ला र उच्च अदालतहरू र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका मिसिलबाट यी घटनाहरू लिइएका हुन् ।)