१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनपछि नेतृत्वमा आउने एमालेलाई काँग्रेसले तह लगाउँछः गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली शेसन चलिरहेको बताउनु भएको छ । 

आईतवार नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली शेसन चलिरहेको बताउनु भएको हो । उहाँले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिष्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताउनु भयो । 

उहाँले नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद शुरु भएको आरोप लगाउनु भयो । नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका कामहरु हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको  आदर्शपुरुष हुन सेन रहेको आरोप लगाउनु भयो । हुन सेनको बिरुद्धमा लेख्ने र बोल्नेले आफ्नो काम छोडेर बिदा हुनुपरेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लेखिटिने बताउनु भयो ।

नेता थापाले भन्नुभयो, ‘बन्द सत्र कस्तो भइरहेको रहेछ भनेर जान्न चासो लाग्यो । त्यो पनि बन्द शेसन होइन, एक प्रकारले ओली शेसन नै चलिरहेको थियो । मैले बिहान जे भनेको थिएँ, कि नारायणीको किनारमा त्यहाँ कोही पनि मानिस स्वतन्त्र भएका छैनन् । त्यहाँ प्रतिष्पर्धा चलिरहेको छ । त्यो प्रतिष्पर्धामा भाग लिन्न भनेर एक जना उठेछन्, भीम रावल । 

भीम रावलले झन्डै भकुराइ खाएर, झन्डै पिटाइ खाएर अहिले हाम्रो प्रहरीले भीम रावल बसेको होटललाई सुरक्षा दिइरहेको अवस्था छ । विधिवत रुपमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट हिजोदेखि जनवाद सकियो, त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीको आदर्श पुरुष कम्बोडियाका प्रधानमन्त्री हुन सेन हो । हुन सेन गएको २० औँ वर्षदेखि कम्बोडियाको प्रधानमन्त्री हुनुहुन्छ । कम्बोडियामा प्रजातन्त्र छ, प्रेस पनि छ, अदालत, अख्तियार सबै छ, चुनाव पनि हुन्छ । २५ वटा कम्बोडियाको पार्टीले चुनावमा भाग लियो । चुनावमा भाग लिनु भन्दा केही समयअघि मात्रै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षि दलका नेतालाई राजद्रोहको मुद्दा लगाइदिए । त्यो पार्टीले अर्को नेता चुन्यो, उसलाई जेल हालियो । तै पनि पार्टीले चुनावमा भाग लिन्छु भन्दा पार्टीलाई प्रतिवन्ध लगाइयो । १२५ निर्वाचन क्षेत्रमा २५ पार्टीले भाग लिँदा हुनसेनको पार्टीले १२५ सिटमा नै जित निकाल्यो । कम्बोडियामा प्रेस छ, तर हुनसेनको खिलाफमा लेख्ने प्रेस भीम रावललाई लखेटिएको जस्तै लखेटिन्छ । उसको बिरुद्ध फैसला गर्ने न्यायाधीशले त्यही दिनबाट अदालत छोडेर जानुपर्छ ।’

नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई काँग्रेसले तह लगाउने बताउनु भयो । उहाँले १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप लगाउनु भयो । नेता थापाले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिष्पर्धा गर्ने ल्याकत काँग्रेसले राख्नु पर्ने बताउनु भयो ।  

नेता थापाले भन्नुभयो, ‘हामीले के कुरा बुझ्नु पर्छ भने नेकपा एमालेले राष्ट्रिय राजनीतिमा लिने पोजिशन, उसले लिने राजनीतिक कार्यदिशाले नेपाली काँग्रेससँग धेरै ठूलो महत्व राख्छ । चितवन महाधिवेशनपछि आएको नेकपा एमालेले आफ्नो भित्रको जनवादलाई सकाएको मात्रै होइन, देशको प्रजातन्त्रलाई सक्ने बाटोमा यो अघि बढेर आउँछ । त्यो शक्तिको रुपमा आउँछ । अब नेकपा एमालेसँग केही समय हामीले जुद्दै गर्दा हिजो माओवादीलाई हतियारबाट बाहिर निकालेर संसदीय राजनीतिमा ल्याएको जस्तै एमाले बरालियो, बरालिएको एमालेलाई ठेगानमा ल्याउने काम नेपाली काँग्रेसले गर्न सक्नुपर्छ । नचाहिने कुरा गरेमा हप्काउने तागत काँग्रेसले राख्नुपर्छ । एमाले हाम्रो शत्रु होइन तर बरालिएको एमालेलाई ठीक ठाउँमा ल्याएर प्रतिष्पर्धा गर्ने काम काँग्रेसको हो । यो तागत नेपाली काँग्रेसले अबको अधिवेशनबाट ल्याउनु पर्छ ।’