१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुसन्धान केन्द्रका लागि सम्भाव्यता अध्ययन



अ+ अ-

रुकुम (पूर्व) । भूमे गाउँपालिकाका–२ र ७ नं वडामा पर्ने मारिङमा झण्डै तीन हजारभन्दा बढी स्याउका बोट छन् । तत्कालीन नेकपा माओवादी र शान्ति स्थापनापछि नेपाल सरकारले दुई र ७ नं वडामा स्याउ फलाउन प्रयास गरेका थिए ।

स्याउखेती गरेको मारिङमा अहिले सागसब्जी पनि फलाउन शुरु गरिएको छ । भूमे गाउँपालिकाको मारिङमा काउली, बन्दागोभी र रायो सागको खेती शुरु गरिएको हो । समुद्री सतहबाट दुई हजार ३०० मिटर उचाइमा रहेको मारिङमा अहिले तीनवटा स्थानीय सरकारको पहल र अग्रसरतामा स्याउ तथा सागसब्जी उब्जनी हुँदैछ ।

द्वन्द्वप्रभावित क्षेत्रको कार्यक्रम, जिल्ला कृषि विकास कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा मारिङमा स्याउ लगाइएको छ । स्याउका लागि अवश्यक पानी जम्मा गर्न ठूलाठूला पोखरी निर्माणका काम पनि भएका छन् ।

अघिल्लो साउनमा पहिलो पटक स्याउका बोटसँगै काउली, बन्दागोभी, प्याज, मुला, सिमी, केराउ, मार्फा जातको रायोको साग र निउरोकोडा जातको गाजर लगाइएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । “मारिङमा यस अघिनै स्याउ लगाइएकोे छ”, उहाँले भन्नुभयो, “तिनको संरक्षण जरुरी भयो । ”

“नर्सरीमा तयार गरिएका बेर्ना अहिले अन्य ठाउँमा सारिइसकेको छ । बेर्ना असाध्यै राम्रा भएकाले सबै अरुमा सारिएको थियो । उत्पादन पनि सोचेजस्तै भयो”, अध्यक्ष बुढाले भन्नुभयो, “हाल उक्त ठाउँ धेरै चिसो भएकोले अन्य जग्गामा खनजोतको मात्र काम भइरहेको छ । फागुनदेखि न्यानो मौसम शुरु हुने भएकोले त्यतिबेला खेती गर्ने गरी थप जग्गाको तयारी भइरहेको छ ।”

स्याउको संरक्षण पनि हुने अरु कृषि र वनको पनि अनुसन्धान हुने भएकाले गाउँपालिकाले प्राविधिकसमेत खटाएको छ । दुईजना कृषिका नायव प्राविधिक सहायक गत साउनदेखि नै मारिङमा खटिएका छन् । खनजोतका लागि एक हल गोरुको पनि व्यवस्था गरी तिनको हेरचाहका लागि एकजना मान्छे खटाइएको छ । उनीहरूले स्याउको हेरचाह सुरक्षा तथा तरकारी, फलफूल, वनको अनुसन्धानका लागि काम गरिरहेका छन् ।

अनुसन्धानकै क्रममा तरकारी कस्तो फल्छ, त्यसको स्वाद कस्तो हुन्छ भनी यसवर्ष तरकारीखेती गरिएको गाउँपालिकाले जनाएको छ । अग्लो ठाउँ भएकाले तरकारी राम्रो उत्पादन भएमा त्यसलाई बीउ उत्पादनतर्फ केन्द्रीत गरिने अध्यक्ष बुढामगरले बताउनुभयो । उपभोगको लागि काउली बन्दा र रायोको साग तयार भइसकेको छ ।

बाहिरबाट हेर्दा काउली बन्दा राम्रो देखिन्छ । उहाँले भन्नुभयो, “तिनको गुणस्तर र अन्य गुण चेकजाँचपछि तरकारीको शुद्ध र जैविक बीउ उत्पादनको अरु प्रक्रिया थालिने छ ।” यस क्षेत्रलाई कृषि र वनको अनुसन्धान थलोका रूपमा विकास गर्ने लक्ष लिइएको अध्यक्ष बुढामगरले बताउनुभयो । वातावरणीय हावापानि र अन्य दृष्किोणले पनि मारिङ अनुसन्धान केन्द्र हुन लायक ठाउँ भएकोले अनुसन्धान केन्द्र बनाउनु अघि त्यसको सम्भाव्यता अध्यन भइरहेको उहाँले बताउनुभयो । स्थानीय सरकार भएपछि उक्त ठाउँमा २० लाख खर्च भइसकेको छ भने २५ लाख खर्च गर्ने तयारी भइराखेको छ ।

गत आर्र्थिक वर्षमा जलाधार, ट्याङ्की निर्माण, शौचालय, प्राविधिक बस्ने घर निर्माण खानेपानी र सिँचाइ लगायत काम गरिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको बजेटले आधुनिक कृषि औजार खरिद, ज्यामी परिचालन, भवन निर्माण लगायतका काम गर्ने बताइएको छ । यस वर्ष यिनै कामका लागि २५ लाख बजेट विनियोजन गरिएको बताइएको छ ।