३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ज्ञानेन्द्रले दनक दिएपछि मात्रै ठूला दलका घैँटामा घाम लागेको हो

ज्ञानेन्द्रले दनक दिएपछि मात्रै ठूला दलका घैँटामा घाम लागेको हो
अ+ अ-

नयाँपत्रिकामा शनिबार प्रकाशित लेख (खगेन्द्र पन्त)

अभियोग १ : तपाईं नेता नभएर मोहनविक्रम सिंहको ‘फलोअर’ मात्रै हो । आफ्नो विचार दिन सक्नुहुन्न, सिंहको विचार बोकर मात्रै हिंड्नुहुन्छ । सिंहको सहयोगविना तपाईंले सास पनि फेर्न सक्नुहुन्न । 

कसैका बारेमा कसैले के बुझ्छ भन्ने कुरा उसको चेतना, अनुभव र बुद्धिले निर्धारण गर्ने हो । मैले नेपालको कम्युनिस्ट आन्दोलनमा संलग्न धेरै नेताको संगत गरेको छु । समाजवाद के हो ? नेपाली समाजको परिवर्तन किन आवश्यक छ ? कम्युनिस्ट पार्टी नै किन चाहिन्छ भन्ने विषयमा म केशरजंग रायमाझीको क्लासबाट कन्भिन्स भएर यो आन्दोलनमा लागेको हुँ । त्यतिवेला मोहनविक्रम सिंहसँग भेटघाट र चिनजान नै थिएन । त्यसपछिका दिनहरूमा मनमोहन अधिकारीजीको पनि संगत गरेँ । पुष्पलाल श्रेष्ठ र तुल्सीलाल अमात्यसँग त म भान्सै जोडेर भारतमा कैयौैँ महिना सँगै बसेँ, त्यतिवेला म स्कुलमा हेडमास्टर थिएँ । भनेपछि अब केशरजंगसितै म दरबारतिर किन लागिनँ ? फाइदा त त्यतै थियो नि । पुष्पलाल र तुल्सीलालसँग भारतमा महिनौँ महिना कहिले दरभंगा, कहिले वनारस, कहिले गोरखपुर त कहिले दिल्ली हिँडेर त्यत्रो संगत गरेको मान्छे, उनीहरूकै पछि किन लागिनँ ? निर्मल लामाजीसँग म दश वर्ष एउटै केन्द्रीय समितिमा बसेर काम गरेँ । मोहन वैद्यसँग दशौँ वर्ष एउटै कमिटीमा बसेको छु । उहाँ त अहिले पनि हुनुहुन्छ नि । उहाँसँग किन टाँस्सिइनँ म ? मेरो मदन भण्डारीसँग चिनजान थिएन कि ? झलनाथ खनालसँग त म एक/डेढ वर्ष साथै बसेँ । माधव–ओलीलाई चिन्दिनथेँ कि ? विप्लवलाई चिन्दिनँ र म ? ती जति पनि नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरू छन्, जोसँग म सँगै हिडेँ/काम गरेँ, उनीहरूकै पछि किन लागिनँ त ? 

०१५ सालमा मेरो मोहनविक्रमसँग भेट भयो । हाम्रो विचार, सिद्धान्त र व्यवहार मिलेको छ । उनको नीति, सिद्धान्त, राष्ट्र र जनताप्रतिको निष्ठा तथा विचार मिलेर पो उनीसँग छु । त्यसभन्दा पछाडि पनि त कैयौँ नेता भेट भए नि । वाम आन्दोलनका क्रममा दर्जनौँ व्यक्तिहरूको संगत गरेको छु मैले । कसले मुलुक र जनताको आवश्यकताअनुसार राजनीति गर्छ, आचरण गर्छ र नीति बनाउँछ भन्ने कुरा त म पनि जान्दो हुँ नि । गोठालो नै बस्ने भा त एमाले, कांग्रेस, माओवादी र राप्रपाकै गोठालो पनि हुन्थेँ हुँला नि । त्यसकारण मलाई यस्तो आरोप लगाउने साथीहरूलाई एक त मेरो इतिहास नै थाहा भएन । अर्को, उनीहरूको त्यहीस्तरको चेतना भएर मप्रति त्यस्तो सोच आएको हो । मप्रति डाहा गर्नेहरूले यस्तो निरर्थक र काल्पनिक आरोप लगाएका हुन् । उनीहरूले मेरो सम्पूर्ण राजनीतिक इतिहास बुझ्दै बुझेका छैनन् ।

अभियोग २ : युवाहरूलाई विश्वास नै गर्नुहुन्न । भएका परी थापा, नवराज सुवेदीलगायतका युवा नेताहरूलाई पनि पार्टीबाट लखेट्नुभयो । मूलपार्टी नेकपा मसालमा मोहनविक्रम सिंह र खुला मोर्चा राष्ट्रिय जनमोर्चामा दशकौँदेखि तपाईंले नेतृत्व गरिरहनुभएको छ । युवाको आकर्षण नभएकै कारण पार्टी पनि तपाईंहरूजस्तै फूर्तिविनाको बुढो र जीर्ण बनेको छ ।

यो आरोप पनि खासै तर्कसंगत छैन । हाम्रो पार्टीले नवराज सुवेदी र परी थापाजस्ता युवाहरूलाई पटक–पटक बाग्लुङ, प्युठानबाट निर्वाचित गराएर माननीयसमेत बनाएको हो । उनीहरू पार्टीको उच्च तहसम्म पनि आएका हुन् । राष्ट्रिय जनमोर्चाबाट अथवा मसालबाट उनीहरूले जति फाइदा उठाउन सके, त्यो उठाए । त्यसभन्दा बढी फाइदा नहुने देखेपछि उनीहरू पलायन भए, भागे । अब पलायन भएर उनीहरू कहाँ गएर मिस्सिएका छन्, त्यो पनि संसारले देखेको छ । हाम्रा दर्जनौँ जनवर्गीय संगठन छन् । विद्यार्थीमा युवक छन्, जनजातिका नेता युवक छन्, युवक संघमा युवक नै छन् । महिला संघमा युवा नेतृत्व नै छ । हामीले युवाहरूलाई विश्वास नगरेको भए त ती सबै संगठनको नेतृत्वमा रोजीरोजी खोजीखोजी बुढाहरूलाई मात्रै राख्थ्यौँ नि । त्यसो हुनाले युवाहरूलाई विश्वास गरेनन् भन्ने आरोप सही होइन । यो तर्कहीन आरोप हो । ‘हरूवा गोरुको छेरुवा बानी’ भनेजस्तो पार्टी, क्रान्ति र जनताप्रतिको निष्ठालाई निरन्तरता दिन नसकेर भागेका भगौडाहरूको रोदन मात्रै हो यो । यसमा कुनै सत्यता छैन । 

अभियोग ३ : जिन्दगीभर त्यागको राजनीति गर्नुभयो । अवसर पाउँदा पनि तपाईं र तपाईंको पार्टी सरकारमा सहभागी भएन । तर, बुढेसकालमा उपप्रधानमन्त्री खान जानुभयो, त्यो पनि केही महिनाका लागि ।

हाम्रो पार्टीको वैधानिक मोर्चा ०५१ सालदेखि संसद्मा छ । हामीलाई सरकारमा सहभागी हुन, संसद्बाट अनुचित फाइदा लिन अफर त धेरैपटक आयो होला नि । पजेरो संस्तृतिका बारेमा तपाईंहरू जानकार नै हुनुहुन्छ । त्यसपछिका दिनहरूमा मन्त्री, सांसदहरूमा आएको विचलन, भ्रष्टाचारमा सामेल भएको, नक्कली बिलहरू बनाएर संसद्बाट विभिन्न खालका सुविधाहरू लिएको पनि देख्नु नै भएको छ । अनावश्यक रमाइलो गर्न, डुल्नका लागि विदेश भ्रमण गरेर जनताको ढुकुटी रित्याएको कुरा अहिले पनि तपाईंहरूले लेखिरहनु भएकै छ । राष्ट्रिय जनमोर्चा त्यस्ता खालका अनैतिक, भ्रष्ट, जनविरोधी र राष्ट्रविरोधी काममा संलग्न भएको तपाईंहरूले भेट्टाउन सक्नुहुन्न । भेटाउनुभएको छ भने भन्नुस् । हामी यसअघि सरकारमा पनि सहभागी भएनौँ । पछिल्लोपल्ट सरकारमा सामेल हुनुको कारण छ । 

नेपालको संविधान नेपाली जनताका प्रतिनिधिहरूले बनाउन पाउनुपर्छ भनेर हाम्रो पार्टीले ०१४/१५ सालदेखि लगातार संघर्ष गरिरहेको छ । जब पञ्चायती संविधान गयो, सबै राजनीतिक पार्टीहरूले ‘राजाले बनाइदिएको संविधानअन्तर्गत संसद्मा खेल्नुपर्छ, संसदीय व्यवस्थामा तर मार्नुपर्छ,’ भने । उनीहरू त्यसमा फसे । हाम्रो पार्टीले भन्यो कि राजाले बनाएको संविधानका आधारमा संसद्मा भाग लिने हो भने कुनै पनि वेला राजाले गलहत्याउन सक्छन् । जसरी ०१५ सालमा राजा महेन्द्रले दिएको संविधानका आधारमा संसद्को चुनाव भएको एक/डेढ वर्षमै जनप्रतिनिधि संस्था संसद्लाई राजाले खाइदिए, ठीक त्यस्तै इतिहास दोहोरिन्छ भन्ने हाम्रो कुरा थियो । त्यसकारण संविधानसभाको चुनाव हुनुपर्छ, राजाले बनाएको संविधानका आधारमा संसद्को चुनाव भयो भने जुनसुकै वेला राजाले संसद् विघटन गर्न सक्छन् र जनताको अधिकार खोस्न सक्छन् भन्यौँ । यस्तो गल्ती नगरौँ भनेर हाम्रो पार्टीले ०४८ सालको संसदीय निर्वाचन बहिष्कार नै गर्‍यो । हामीले राखेको त्यो कुरा ०५९ सालमा राजा ज्ञानेन्द्रले जनप्रतिनिधि र संसद् चापचुप्प पारेपछि बल्ल कांग्रेस, एमाले र माओवादीको घैँटामा घाम लाग्यो । त्यसपछि मात्र ठूला पार्टीका आँखा खुले र संविधानसभाद्वारा संविधान बन्नुपर्छ भन्ने कुरामा बल्ल आए । अहिले कांग्रेस, एमाले, माओवादीहरूले संविधानसभाको जति पनि ठूला कुरा गर्छन् नि ज्ञानेन्द्रले दनक दिएपछि मात्र बुझेका हुन् । तर, हाम्रो पार्टीको इतिहास हेर्नुस्, हामी लगातार संविधानसभाबाट संविधान बन्नुपर्छ भनेर भनिरहेका छौँ । हरेक महाधिवेशनबाट हामीले संविधानसभाबाट संविधान बन्नुपर्छ भन्ने नीति लिएका छौँ । अब भन्नुस्, कसले गर्‍यो देशको नेतृत्व ?

संविधानसभाबाट संविधान जारी गर्न नदिन पनि ठूलो चलखेल भयो । संविधान छेक्न र आफ्नो अनुकूलको संविधान जारी गराउन भारतीय विस्तारवादका एजेन्टहरू त यहाँ आएर छाप्रो नै हालेर बसे । त्यतिवेला कांग्रेस, एमाले र माओवादीले एकता कायम गरेर संविधान जारी गर्ने दृढता देखाए । त्यसपछि त झन नाकाबन्दी नै गर्‍यो । हो, त्यो नाकाबन्दीको विरोधमा लड्नका लागि हामी एमाले र माओवादीसहितको सरकारमा सहभागी भएका हौँ । चार महिना त हामीले छलफल नै गर्‍यौँ । हाम्रो संविधान हामी आफैंले बनाएबापत भारतीय विस्तारवादीहरूले देशमाथि नै हस्तक्षेप गरेपछि तिनका विरुद्ध लड्न सरकारमा सामेल हुनुपर्‍यो भन्ने कुरा आएपछि हाम्रो पार्टीको केन्द्रीय समितिले सरकारमा सहभागी हुने निर्णय गरेको हो । हामी सुरुमै सरकारमा गएको भए हामीलाई मालदार मन्त्रालय टक्रयाइरहेका थिए । तर, हामी सत्ताको रसास्वादनका लागि सरकारमा जान लागेका थिएनौँ । भारतीय विस्तारवादका विरुद्ध नाकको टुप्पामा टिमुर लायो कि लाएन राष्ट्रिय जनमोर्चाले ? 

अभियोग ४ : जनताका अगाडि सधैँ संघीयताको विरोध गर्नुभयो । तर, संघीयताको पक्षधर तत्कालीन एमाले नेतृत्वको सरकारमा सहभागी हुनुभयो । 

हामी संघीयतालाई स्वीकार गरेर सरकारमा गएको हो र ? त्यतिवेला सरकारमा सामेल भएका तत्कालीन एमाले–माओवादीका नीतिलाई समर्थन गर्न गएको हो र ? हामी त हाम्रो संविधान हामी आफैँले बनाएबापत भएको भारतीय विस्तारवादको हस्तक्षेपविरुद्ध लड्न गएका हौँ । यदि एमाले–माओवादीको नीतिलाई समर्थन गरेर गएको भए त जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने भारतीय प्रस्ताव स्वीकार गथ्र्यौँ नि । उनीहरूले त सजिलै स्वीकार गरे । हाम्रो पार्टीले त त्यसका विरुद्धमा मतदान गर्‍यो नि । मैले क्याबिनेटमा वा संसद्मा कहीँ पनि संघीयताको समर्थन गरिनँ । न त तत्कालीन एमाले–माओवादीको राजनीतिलाई स्वीकार गरें । सरकारमा सहभागी भएर पनि मैले क्याबिनेट र संसद् बैठकमा भारतीय विस्तारवादको हस्तक्षेपविरुद्ध अनि, अमेरिकन र युरोपियनहरूले नेपालमा जातीय राज्य बनाएर सुडान र नाइजेरिया बनाउने षडयन्त्रका विरुद्धमा लगातार आफ्नो पार्टीको आवाज बुलन्द गर्ने काम गरेँ । जुन, नेपाली जनताले देखिराखेकै छन् । 

सरकारमा जान केन्द्रीय समितिले निर्णय गरेको हो । त्यसपछि दुई÷दुईपटक राष्ट्रिय सम्मेलन भएको छ । सम्मेलनले पनि त्यसवेलामा सरकारमा गएर भारतीय विस्तारवादको भण्डाफोर गर्नु र संघीयताको विरोध गर्न सक्नु पार्टीको नीति सफल भएको भनेको छ । स्वयं सरकारमा बसेको उपप्रधानमन्त्रीले प्रधानमन्त्रीले राखेको प्रस्तावको विरुद्धमा मत हालेको छ । एकदिन मैले क्याबिनेट बैठकमै जिस्क्याएँ–‘तपाईहरूले राखेको प्रस्तावका विरुद्धमा भोट हालेपछि पनि मलाई केही गर्नुहुन्न त क्या हो ?’ तत्कालीन प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईंलाई आफ्नो विचार र सिद्धान्त छाडेर आउनुस् भनेको भए त सरकारमै आउनुहुन्नथ्यो नि । हामीले आफ्नो संविधान बनाएबापत हामीमाथि भएको हस्तक्षेपको विरुद्धमा तपाईं सरकारमा आएर लड्नुभयो, त्यो नै हाम्रा लागि काफी छ । आफ्नो विचार क्याबिनेट र संसद्मा लगेर जानुभयो, त्यसमा कारबाही गर्ने त कुनै औचित्य नै रहेन ।’ प्रधानमन्त्रीले भनेको यो कुरा धेरै मन्त्रीहरूले सुनेका छन् ।

सत्ताको दुरूपयोग गरेर आफूलाई, आफ्ना नातापाता र गुटका मान्छे बनाउने जुन संस्कृति हाम्रा नेताहरूको छ, सरकारमा बसेर मैले त्यो गलत काम पनि कहिल्यै गरिनँ । गरेको भए तपाईंहरूले देखाउन सक्नुहुन्छ । ९ महिना सरकारमा बस्दा अरू मन्त्री र कर्मचारीहरू पटकपटक विदेश गए । मलाई पनि आएका थिए अफर, तर मैले जान्नँ भन्दिएँ । किनभने यो रोग हो । युरोपतिर गए दुई/अढाई सय डलर दैनिक पाइने, एसिया डुल्न गए सय डलर पाइने । त्यही खेती गर्ने संस्कृति छ हाम्रा नेताहरूमा । मन्त्री भयो कि विदेश जाने पहिलो काम हुन्छ । आफ्नो दुनो सोझ्याउने र जनताको ढुकुटी रित्याउने काम गर्छन् । जानै हुन्न भन्ने पनि होइन, काम पर्दा त जानु पनि पर्छ । तर, रमाइलो गर्न, डलर कुम्ल्याउन त जानु भएन नि । जनमोर्चाले ९ महिना सरकारमा बस्दा एक पैसा कहीँ तलमाथि गरेको गन्ध मात्रै पनि पाउनुभयो ? यदि सिन्को कमजोरी मात्रै पाएको भए त के निहुँ पाउँ भनेर सुँसुँ.. गर्दै हिँड्ने अवसरवादीहरू, छेरुवाहरूले ल्याउँथे नि त्यो कुरा बाहिर । 

त्यसकारण कुराका लागि मात्रै कुरा गर्नेले त जे पनि भन्छन् होला । म पञ्चायतकालमा हाइस्कुलको हेडमास्टर हुँदा राजतन्त्रको विरोध गर्थेँ । यस्ता आरोप लगाउनेहरूले सरकारी हाइस्कुलमा हेडमास्टर हुने, अनि पञ्चायतको विरोध गर्ने पनि भन्न सक्छन् । 

अभियोग ५ : प्रगतिशील राजनीति गर्नुहुन्छ तर तल्लो तहमा अधिकार पुर्‍याउने संघीयताको विरोध गर्नुहुन्छ । राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग संघीयताको मुद्दामा कार्यगत एकता गर्नेसम्मको आन्तरिक छलफल गर्नुभयो ।

कार्यगत एकता भनेको प्रमुख दुश्मनसित पनि हुन्छ । कार्यगत एकता भनेको के हो त्यसलाई बुझ्न पनि सक्नुपर्‍यो । जुन विषयमा कुरा मिल्छ, ती विषयमा जोकोहीसँग पनि कार्यगत एकता हुन्छ । दोस्रो विश्वयुद्धमा जब हिटलरले फासिस्ट नीति अपनाएर संसारभर फासिजम युग अगाडि बढ्यो, इस्टालिनले अमेरिका, बेलायत, फ्रान्ससित समेत कार्यगत एकता गरे । उनीहरू त जानी दुश्मन हुन् नि अमेरिकी साम्राज्यवाद, ब्रिटिस साम्राज्यवाद रसियन जनताका । अन्तर्राष्ट्रिय मान्यता अथवा यो कार्यगत एकताको सिद्धान्त के हो भने जुन मुद्दा जोसँग मिल्छ, त्यससँग अस्थायी रूपमा कार्यगत एकता हुन सक्छ । हाम्रै पार्टीको इतिहासमा भन्नुस्, जब कांग्रेस र तत्कालीन एमाले भएर महाकाली सन्धि गरे, हामी त्यतिवेला राप्रपा र कीर्तिनिधि विष्टसँग समेत आन्दोलनमा सँगै हिँड्यौँ । किनभने कीर्तिनिधि विष्ट पनि महाकाली सन्धिीविरुद्धमा थिए । हामीले कार्यगत एकता गर्‍यौँ । गणतन्त्र प्राप्तिको ०६२/६३ को आन्दोलनमा कांग्रेसलगायत अहिलेको राजपासित समेत हामीले सहकार्य गर्‍यौँ । 

कार्यगत एकता के हो र पार्टी एकता के हो भन्ने कुरा सबै जनताले बुझेका छैनन् । राष्ट्रिय जनमोर्चाले त खुलेआम ०६४/६५ देखि नै संघीयता यो मुलुकका लागि सम्भवै छैन भनेको छ । राप्रपाले यो कुरा बाहिर भन्दैन, मनमनै मात्र भन्ने हो । उसलाई डर छ नि । शक्ति राष्ट्रहरूले यहाँ संघीयता बोकाएका हुन् । राप्रपालाई पनि सत्तामा जान, आफ्नो अस्तित्व जोगाउन शक्ति राष्ट्रहरू चाहिन्छन् । त्यसकारण उसले बाहिर भन्दै हिँड्दैन, मनमनै मात्र भनेको हो । जनमोर्चाले तत्काल विषय मिल्नेहरूसँग कार्यगत एकता गर्ने प्रस्टै भनेको छ । जनतालाई अधिकार दिनका लागि संघीयता चाहिन्छ भन्ने कुरा निरर्थक हो । झुठको खेती हो यो । संसारभर १७० देश छन् संघीयता नभएर एकात्मक प्रणालीअन्तर्गत चलेका । त्यहाँका जनता पनि अधिकारसम्पन्न छन् । जापानका जनताले अधिकार पाएका छन्, पोल्यान्डका जनताले अधिकार पाएका छन् । त्यहाँ त एकात्मक प्रणाली छ नि ।

जनतालाई अधिकार दिनका लागि संघीय प्रणालीमै जानुपर्छ ? यो झुठको खेती हो । यो नेपालमा चाहिँ अमेरिकन र युरोपियनहरूले एक प्रकारको जातीय संघीयता र भारतीय विस्तारवादले हिमाल, पहाडबाट तराईलाई अलग गर्ने संघीयता ल्याउन खोजेका हुन् । अहिले हामीकहाँ आएको भारतीय संघीयता हो । संघीयताको आवरणमा अहिले सुडानमा के भइरहेको छ ? नाइजेरियामा के भइरहेको छ ? युगोस्लाभाकिया कहाँ पुग्यो ? त्यसकारणले जनतालाई अधिकार दिनैका लागि संघीयता चाहिन्छ भन्ने निरर्थक बकवास हो । यसको कुनै औचित्य छैन । प्रजातान्त्रिक विकेन्द्रीकरण गरेर स्थानीय निकायलाई अधिकार दिन सकिन्छ, जनतालाई अधिकार दिन सकिन्छ । त्यसैले संघीयतै चाहिन्छ भन्ने निरर्थक कुरा हो, असैद्धान्तिक कुरा हो ।

राप्रपाले संघीयताको विरोध गर्‍यो र त्यो मुद्दामा सहकार्य गर्न खोज्यो भने ‘हुँदैन, तिमीहरूसँग हामी सहकार्य गर्दैनौँ’ भन्न मिल्छ ? त्यति संकीर्ण हुन मिल्छ ? त्यो त वामपन्थी संकीर्णवादी विचार हो । नेपालमा विदेशीहरूको हस्तक्षेप भयो, त्यसका विरुद्ध संघर्ष गरौँ भनेर कसैले भन्छ भने ‘हुँदैन, तँसँग अरूमा कुरा मिल्दैन’ भन्न मिल्छ ? जुन वेलामा राजा महेन्द्रले कोदारी राजमार्ग खने, हामी राजतन्त्रको विरुद्धमा, पञ्चायती व्यवस्थाको विरोधमा जीवनमरणको संघर्ष गरिरहेका थियौँ । भारतीय विस्तारवादले सीधै आँखा तर्‍यो । र, स्वयम् नेपाली कांग्रेस कोदारी राजमार्गको विरुद्धमा खुलेआम आयो । तर, हाम्रो पार्टीले ‘यो स्वागतयोग्य काम हो, राजा महेन्द्रले ठीक गरे’ भनेर स्वागत गर्‍यो । हामीले स्वागत गरेबापत ‘दरबारिया कम्युनिस्ट’ भनेर चिच्याउँदै हिँडे तत्कालीन कांग्रेसहरू । त्यस्तै, महेन्द्रले पूर्व–पश्चिम जुन राजमार्ग खने, त्यसलाई पनि हामीले स्वागत गर्‍यौँ । हामी सैद्धान्तिक राजनीति गर्छौँ । विरोधीले कुनै राम्रो काम गरे ‘यो विरोधी हो, त्यसले राम्रो काम गरे पनि त्यसको समर्थन गर्न हुन्न’ भन्ने संकीर्णवादी सोच हामी राख्दैनौँ । त्यस्तो सोच्ने स्वार्थी तत्व हुन् । 

अहिले पनि कतिपय राजनीतिक पार्टीहरूले राष्ट्र र जनताको पक्षमा काम गर्छन् भने मतभेद छ भनेर अनदेखा गर्न हुन्छ ? विरोधका लागि सबै कुरा विरोध गर्न मिल्छ ? हाम्रो पार्टीको नीति सधैँ विरोधीले पनि राम्रो काम गर्छ भने त्यसको समर्थन गर्नुपर्छ भन्ने हो । पूर्वाग्रही भएर हिँड्नुहुन्न । आफ्नै पार्टीको मान्छे छ, आफ्नै नेता छ, आफ्नै समर्थक छ, त्यसले गलत गर्छ, गद्दारी गर्छ, बदमासी गर्छ भने त्यसलाई हटाउनुपर्छ, त्यसलाई कारबाही गर्नुपर्छ र त्यसलाई घृणा गर्नुपर्छ । हाम्रो नीति र विचार मान्यो तर उसले जे पनि गर्छ भने हाम्रै पार्टीभित्र त्यो कुरा सह्य हुन्न । त्यस्तालाई पनि हाम्रोमा कारबाहीको दण्ड अघि बढ्छ । 
 

अभियोग ६ : जनआन्दोलनको बलमा राजतन्त्र ढलेको एक दशक बितिसक्यो । तर,  तपाईंहरू अहिले पनि राजतन्त्र पुन:स्थापनाको खतरा छ भन्दै कार्यक्रम गरेर जनता तर्साइरहनुभएको छ ।

सम्भावना देखेरै हामीले गर्‍या होला नि । देखाउनका लागि मात्रै त कसैले राजनीति गर्दैन । फ्रान्समा सामन्तवादको विरुद्धमा आन्दोलन भयो । त्यहाँका शासकहरूलाई फ्रेन्च जनताले जिलोटिन मेसिनमै हालेर सिध्याएका थिए । त्यो त देख्यौँ नि हामीले । पछि त्यहाँ प्रतिगमन भयो कि भएन ? त्यहाँ नेपोलियन आफैं सम्राट, राजा भए कि भएनन् ? बेलायतमा त्यहाँका राजा प्रथमलाई फाँसी दिइएको थियो । तर, त्यहाँ राजतन्त्र फर्कियो कि फर्किएन ? त्यसकारण दर्जनौँ यस्ता उदाहरणहरू छन्, क्रान्ति भइसकेपछि पनि प्रतिक्रान्तिको गम्भीर सम्भावना हुन्छ । रुसमा लेलिन, स्टालिनले स्थापना गरेको समाजवादी व्यवस्था कहाँ गयो आज ? त्यहाँ प्रतिगमन भएन ? पुँजीवादी मात्रै होइन साम्राज्यवादी अवस्थामा समाजवादी देश गयो । यत्रा उदाहरण छन्, चीनमा माओले नयाँ जनवादी, समाजवादी क्रान्ति गरेको होइन ? आज चीन कहाँ गयो ? साम्राज्यवादी अवस्थामा पुगिसक्यो चीन । अब प्रतिक्रान्ति हुन्न, १० वर्ष भइसक्यो नेपालमा गणतन्त्र आएको, यस्ता कुरा गर्ने ? संसारका दर्जनौँ उदाहरणहरू छन्, हामी पनि सतर्क हुनुपर्छ । सजग हुनुपर्छ । ‘प्रतिगमन हुँदै हुन्न, अब यसमा फुलस्टप लाग्यो’ भनेर भन्नै हुन्न । 

भारतमा सत्तारुढ भाजपा नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियानमा छ, हिन्दूराज्य चलाउन राजा चाहिने, नेपाली कांग्रेसजस्तो ठूलो पार्टी त हिन्दूधर्म चाहिन्छ भनेर अभियान चलाइरहेको छ । योचाहिँ प्रतिगमनको खतरा हो कि होइन ? गणतन्त्रमाथि कालो बादल मडारिएको देख्दादेख्दै यो अब फर्कंदै फर्कन्न भनेर जनतालाई ढाँट्ने ? यो खतरा यथावत छ, यो सम्भावना छ, हामी सबै सजग हुनुपर्छ । कांग्रेसले गणतन्त्रको पक्षमा सही गर्‍यो, कुनै वेला ०६२/६३ को आन्दोलनमा गिरिजाप्रसाद कोइराला गणतन्त्रकै पक्षमा लागेका हुन् । त्यही कांग्रेसका जिम्मेवार मान्छे आज हिन्दूधर्म चाहिन्छ भनेर अभियान नै चलाएर हिँडेको देखिरहनुभएको छ नि । यो खतरालाई देख्ने कि नदेख्ने ? आँखा चिम्लिएर हिँड्ने ? त्यसकारण प्रतिगमनको खतरा कायमै छ । अहिले पार्टीहरूका गतिविधि, चरित्र, क्रियाकलाप, प्रशासनयन्त्र र न्यायपालिकामा बसेका व्यक्तिहरूको चालचलन, गतिविधिले जनता असन्तुष्ट छन् । जनता चिढिँदै गइरहेका छन् । यस्तो प्रतिकूल स्थितिको फाइदा उठाउलान् है ? सतर्क हुनुपर्छ भनेर हामीले भनेको कुरा स्पष्टै हो । 

अभियोग ७ : तपाईं उपप्रधानमन्त्री भएको र नभएकोमा पनि पार्टी र कार्यकर्तालाई खासै फरक परेन । आफ्नो स्वकीय सचिवालय बनाउनेबाहेक आफ्नै मन्त्रालयमातहतका निकायमा पनि नियुक्ति गर्न सक्नुभएन ।

अरू कैयौँले सरकारमा गएर आफ्ना पार्टीका कार्यकर्ताहरूलाई ठेक्कापट्टा दिन्थे । आफ्ना पार्टीका कालोबजारी गर्ने, सामान लुकाएर बेच्नेलाई प्रहरीले हस्तक्षेप गर्‍यो, सिल गर्‍यो भने उसलाई छुटाउन सत्ताको दुरूपयोग गर्थे र गरिराखेका छन् । राष्ट्रिय जनमोर्चाको त्यो नीति पनि थिएन, चित्रबहादुरको चरित्रले पनि त्यो मान्य हुँदैनथ्यो । हाम्रा साथीहरू, हाम्रा कार्यकर्ताहरू कसैलाई ठेक्का दिएर, कसैलाई जागिर खुवाएर, कसैलाई बढ्ता अनावश्यक ऋण दिएर, सत्ताको दुरूपयोग गरेर नजिकका साथीभाइहरूको जसरी दुनो सोझ्याउनुपथ्र्यो, त्यो हाम्रो पार्टीको नीति, चरित्र र सिद्धान्तले पनि दिँदैनथ्यो । त्यसकारण त्यो मैले गर्न नसकेको कुरा सत्य हो । 

मेरा सचिवालयमा त पार्टीकै जिम्मेवार साथीहरू थिए । मैले श्रीमतीलाई त राखिनँ स्वकीय सचिवमा । भाइलाई, बुहारीलाई त राखिनँ । पार्टीमा मैले गर्न सक्ने मान्छेहरू कसैलाई सल्लाहकार, कसैलाई सचिव राखेँ हुँला । तर, ‘पानी धमिल्याएर माछा टिप्नुपर्छ’ भनेर सत्ता र शक्तिको दुरूपयोग गर्ने खेल मैले खेलिनँ । त्यो खेल नखलेको हुनाले कतिपय मान्छेहरूले मलाई अहिले पनि भन्छन्, ‘सरकारमा हुँदाको औचित्य के ?’ अब जसले जे खोजेको थियो त्यो दिनलाई पार्टीको नीतिले पनि दिएन, चरित्रले पनि दिएन । कतिपय मान्छेले गरेको आशा पूरा गर्न सक्दिनथेँ, सकिनँ । त्यसकारणले सबै होइन, केही मान्छेहरू रुष्ट छन्, आफ्नो दुनो नसोझिएका कारणले ।
 

अभियोग ८ : पदको भोको हुनुहुन्छ । नयाँ पुस्तालाई अवसर नै दिनुहुन्न । मान्छेले थाहा पाएदेखि जनमोर्चाको अध्यक्ष बनिरहनुभएको छ ।

म सधैँ राष्ट्रिय जनमोर्चाको अध्यक्ष भइरहने र नयाँ पिँढीलाई मौकै नदिने भन्ने गलत कुरा हो । हाम्रो राष्ट्रिय सम्मेलन हुन्छ, अधिवेशन हुन्छ । देशभरिबाट प्रतिनिधिहरू आउँछन् । पर्यवेक्षकहरू आउँछन् । उनीहरूले नीति बनाउँछन्, सिद्धान्त बनाउँछन् । र, कसलाई नेतृत्वमा ल्याउने भन्ने कुरा महाधिवेशनले निर्णय गर्ने हो । चित्रबहादुरलाई आफैं अध्यक्ष बन्न मन लागेर सबै प्रकारका ट्याक्टिस, तिक्डम गरेर बनेको होइन । पार्टीको निर्णय, पार्टीका सम्मेलन, पार्टीका अधिवेशनले टुंग्याएका कुरा हुन् । त्यो प्रोसेसमा त सबै जानुपर्‍यो नि । मैले नेतृत्वमा बसेर निजी स्वार्थलाई तिलाञ्जली दिएर राष्ट्र र जनताको स्वार्थलाई अगाडि राखेर संघर्ष गरिराखेको छु । म जसरी पनि नेतृत्वमा रहिरहन चाहेको छु भन्ने आरोप औचित्यहीन हो । 

म त राष्ट्रिय जनमोर्चाको अध्यक्ष हुँ । हाम्रा विद्यार्थी संगठनमा, युवक संगठनमा, महिला संगठनमा, प्रवासी संगठनमा होनाहार भर्खरका युवाहरू बस्नुभएकै छ नि । मेरो आफ्नो खुसीले, मेरो चाहनाले यहाँ बसेकै होइन । पार्टीमा लागेपछि मैले पार्टीको निर्णय मान्नुपर्छ, पार्टीका महाधिवेशन र सम्मेलनहरूले गरेका निर्णयहरू मैले मानिनँ भने म त गैरजिम्मेवार हुन्छु नि । म त भागेको हुन्छु । त्यसो हुनाले पार्टीले दिएका जिम्मेवारी, पार्टीले गरेको निर्णयलाई मैले मानेर हिँडेको हुँ । कुरा त्यति मात्रै हो । 

अभियोग ९ :  मसालको खुला मोर्चा राष्ट्रिय जनमोर्चाको सदावहार अध्यक्ष हुनुहुन्छ । पार्टीका तर्फबाट लामो समय सांसद पनि बन्नुभयो । तर पनि कार्यकर्ताको ख्याल राख्नुहुन्न । काम लिएर आउने कार्यकर्तालाई पनि ‘सिस्टमले दिँदैन’ भनेर निराश बनाउनुहुन्छ । 

आफ्नो दुनो सोझ्याउनेहरूको रोदन मात्रै हो यो । म सांसद हुँदा अथवा नहुँदा पनि नियम, कानुन र व्यवहारले गर्न मिल्ने जति काम गरेकै छु । जुन कुरा नियमले मिल्दैन, कानुनले मिल्दैन ती काम गर्न सकिनँ । मेरो पार्टीको नीतिले पनि दिँदैन र मेरो आफ्नो विचारले पनि दिन्नँ । अब कतिपय गर्न मिल्ने कुराहरू मैले आफ्नो बुद्धिले, खुबीले, क्षमताले भ्याएसम्म गरेकै छु । जुन कुरा गर्न मैले सक्दिनँ, त्यो सक्दिनँ मैले भनेकै छु । अब साथीहरूले भन्नुपर्‍यो नि, हेरचाह गरेन, संरक्षण गरेन । 

पार्टीको नीतिअन्तर्गत रहेर कार्यकर्ताको हेरचाह गर्ने हो । मसँग छुट्टै धनदौलत भएर, पैसा भएर साथीहरूलाई हेरचाह र सहुलियत हुने होइन । त्यसो गर्न पनि सकिँदैन । किनभने म आफैंलाई त पार्टीले हेरचाह गर्नुपर्ने अवस्था छ । कार्यकर्तालाई पार्टीले सामूहिक रूपमा मद्दत गर्ने हो, सहयोग गर्ने हो । त्यो काम त भइराखेकै छ । मैले यो आफ्नो मान्छे हो, नजिकको हो यो भनेर कसैलाई काखा र कसैलाई पाखा गरेको छैन । पार्टीको नीति र क्षमताले जसलाई जे गर्न सक्छ पार्टीले त्यही पार्टीका तर्पmबाट गर्ने हो । मैले छुट्टै व्यक्तिगत त्यस्तो गरेको चाहिँ छैन ।
 

अभियोग १०  : तपाईंमा निर्णय क्षमता छैन । गर्न सक्ने निर्णयबाट पनि विवादमा पर्ने डरले पछि हट्नुहुन्छ । 

जसका मनमा जे लाग्छ त्यही निर्णय गर्नु व्यक्तिवादी कुरा हो । त्यो पद्धति पनि गलत हो । त्यसकारण मैले सबभन्दा धेरै विश्वास गर्ने सामूहिक निर्णयमा हो । सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी हो । मान्छेको मनमा व्यक्तिगत जे लाग्छ, त्यो गर्नु अराजकता हो, अनुशासनहीनता हो । केही मुद्दा र समस्या आउँछन् भने मैले हमेसा सामूहिक निर्णय हुनुपर्छ, त्यो सर्वमान्य हुनुपर्छ भन्ने मान्यता राख्छु । सामूहिक निर्णय भइसकेपछि व्यक्तिगत जिम्मेवारी हुन्छ । त्यो जिम्मेवारीचाहिँ पूरा गर्नुपर्छ । निर्णय गर्ने सवालमा लामो समयदेखि हाम्रो पार्टीको यही पद्धति छ, यसैलाई म मान्दै आएको छु । त्यसकारण कसैले मलाई केही कुरा भन्न आयो भने मेरो मनमा के लाग्छ त्यही कुरा कानमा फुकिदिएर खुसी पारेर पठाउने मेरो चलन छैन । कसैले केही विषय ल्याएर आयो भने पार्टीको कार्यालय छ, पोलिटब्युरो छ, केन्द्रीय समिति छ, पार्टीका साथीहरू छन्, उहाँहरूका बीचमा राखेर सामूहिक फैसला जे हुन्छ, त्यही गर्ने बानी छ । ठीकै भन्नुभयो आरोप लगाउनेहरूले व्यक्तिगत जे मन लाग्छ त्यही म गर्दिनँ ।

अभियोग ११ : भारतमा मजदुरी गरेर जीविका चलाइरहेकाहरूबाट पैसा उठाएर पार्टी चलाउनुभयो । तर, ती श्रमजीवीका पक्षमा  तपाईंले जिन्दगीभर राजनीति गर्दा पनि केही गर्न सक्नुभएन । 

प्रवासमा बस्ने नेपालीहरूको हकहितमा लड्ने राष्ट्रिय जनमोर्चाभन्दा अर्को कुनचाहिँ पार्टी देख्नुहुन्छ तपाईंले ? प्रवासमा बस्ने नेपालीहरूको रेमिट्यान्सले देश चलेको छ । उनीहरूलाई मताधिकार हुनुपर्छ भनेर पहिलेदेखि लगातार लडिरहेको एउटा पार्टी जनमोर्चा मात्रै हो । अर्को कुरा, प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्ने, उनीहरूको चेतनाको विकास गर्ने, नेपालको प्रजातान्त्रिक वाम आन्दोलनमा उनीहरूको सहयोग लिने कुरामा हामी कहिल्यै पछाडि परेका छैनौँ । हो, कुनै व्यक्तिलाई छुट्टै उसको व्यक्तिगत स्वार्थ पूरा हुने गरी हामीले केही गर्न सकेका छैनौँ । तर, प्रवासी नेपालीहरूको सामूहिक स्वार्थ र हकहितका लागि हामी लगातार आवाज उठाइरहेका छौँ, लडिरहेका छौँ ।