२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरले भारतको कोलकाता उडान भर्ने



अ+ अ-

काठमाडौँ: बुद्ध एयरले भारतको कोलकातामा आगामी विसं २०७६ वैशाख २ गतेदेखि उडान भर्ने भएको छ । 

पर्यटनलाई लक्षित गर्दै काठमाडौँ–कोलकता साताको तीन पटक उडान भर्ने कम्पनीद्वारा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ–कोलकत्ता उडान गरिने जानकारी दिनुभयाे ।

यो उडान हाल प्रयोग भइरहेको एटिआर–७२ विमानबाटै हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकाता पुग्न १ घण्टा ४० मिनेट लाग्ने छ । यसअघि बुद्धले भारतको बराणसीमा उडान भर्दै आएको छ । 

बुद्धले पर्यटक यात्रुलाई विशेष जोड दिने तयारी रहेको जनाएको छ । हाल साताको करीब ८०० उडान गर्दै आएको बुद्धले कोलकतामा ६ उडान रहने प्रबन्ध निर्देशक बस्नेतले बताउनुभयो । 

कोलकातामा उडान सफल भएपछि विसं २०७७ भदौदेखि दक्षिण एशियाका विभिन्न गन्तब्यमा जेट विमानबाट उडान सञ्चालन गर्ने जनाएको छ । तत्कालका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अन्तर्राष्ट्रिय उडान भर्ने र पोखरा क्षेत्रीय विमानस्थल सञ्चालनमा आएसँगै विसं २०७८ भदौबाट पोखराबाट उडान भर्ने तयारी रहेको प्रबन्ध निर्देशक बस्नेतको भनाइ छ । 

कोलकता उडान सफल भएमा भारतकै अन्य गन्तब्यमा पनि बुद्धले आफ्नो सेवा पु¥याउने जनाएको छ । बुद्ध एयरका नौ वटा एटीआर विमान पुगेका छन् । यीमध्ये छ एटीआर–७२ र दुई एटीआर–४२ हुन् । बुद्धसँग दुई विचक्राफ्ट विमान पनि छन् । 

बुद्धले हाल आन्तरिकतर्फ भद्रपुर, विराटनगर, तुम्लिङ्टार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङ्टार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले गत असार १५ गतेदेखि भारतको बराणसी सिधा उडान शुरु गरेको थियो ।