१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानी जोहो गर्न बिहानैदेखि लाइन



अ+ अ-

दमौली । बिहान चार बजे उठेर धारोमा पानी भर्न लाइन बस्नुपर्छ । तीन ग्रागीभन्दा बढी भर्न पाइँदैन । एउटा टोलको धारोमा पानी खोल्यो कि अर्को टोलमा पानी आउँदैन । खानेपानीको जोहो गर्नमै दिन बित्ने गर्छ ।

तनहुँको भीमाद नगरपालिका–२ रघुगाउँका बासिन्दाले सधैँ पानीका लागि यस्तै पीडा भोग्न बाध्य छन् । बिहान चार बजेदेखि नौ बजेसम्म मात्रै पानी आउने भएकाले झिसमिसेमै लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी भिमशिला थापा बताउनुहुन्छ । “बाह्रैमास पानीको जोहो कसरी गर्ने भन्ने चिन्ता रहन्छ,” उहाँले भन्नुभयो ।

धारोमा पर्याप्त पानी नआएपछि पँधेरोको भर पर्नुपर्ने स्थानीयवासी पूर्णिमाया आलेले बताउनुभयो । दुई सय ४९ घरधुरी रहेको उक्त गाउँमा पाँच पँधेरो छ । उहाँ भन्नुहुन्छ, “पँधेरासम्म पुगेर पानी भरेर आउँदा एक घण्टाभन्दा बढी लाग्छ । वर्षात्को समयमा पँधेरोको पानीले जसोतसो पुग्छ, हिउँदमा घण्टौँ लाइन बस्नुपर्छ ।” परिवारको एक जना खानेपानीकै जोहो गर्न खटिनुपर्छ । “खानेपानी भर्न लाइन बस्नुपर्दा कहिलेकाहीँ छोराछोरीलाई विद्यालय पठाउन सक्दैनौँ,” आलेले भन्नुभयो ।

मगर बस्ती रहेको रघुगाउँमा खानेपानी समस्या समाधानका लागि रु दुई करोडको लागतमा केन्द्रीय परियोजनाअन्तर्गत खानेपानी आयोजना निर्माण थालिएको छ । रघु खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा बजेट अभावमा दुई वर्षदेखि आयोजनाको काम रोकिएको बताउनुहुन्छ । खानेपानीको मुहानमा मुख्य ट्याङ्की तथा तीन शाखा ट्याङ्कीसमेत निर्माण गरिएको छ । शाखा ट्याङ्कीसम्म पाइप विस्तार गरिएको छ भने मूल ट्याङ्की, वितरण लाइनको पाइप विस्तार तथा पानीको मूललाई तारजालीले घेर्न बाँकी छ । दुई वर्षयता आयोजना निर्माणका लागि बजेट विनियोजन गरिएको छैन । दुई वर्षभित्र सक्ने गरी २०७१ कात्तिकमा उक्त आयोजना निर्माणको काम थालिएको हो ।

घरबास चलाउन बाधा

स्थानीयवासीले घरबास (होमस्टे) सञ्चालन गर्ने योजना बनाए पनि खानेपानी समस्याका कारण सो योजना पुरा हुन पाएको छैन । “यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना छ, पानीको समस्याले बाधा पुगको छ,” स्थानीयवासी विष्णुबहादुर थापाले भन्नुभयो ।

घरबास सञ्चालन गर्न गाउँलेले तालीमसमेत लिएका छन् । भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा उक्त आयोजना केन्द्रीय परियोजनाअन्तर्गत सञ्चालन गरिएकाले नगरपालिकाले चालू आर्थिक वर्षमा बजेट विनियोजन गर्न नसकिएको बताउनुहुन्छ ।