• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

सरकारको निर्णयमा कांग्रेस चुप नबस्ने, दुबै सदन अबरुद्ध



काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका २ पूर्वसभापतिका नाममा स्थापित अस्पताल सरकारले विघटन गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसद्का दुवै सदनका बैठक अवरुद्ध गरेको छ । पूर्वाग्रही रूपमा सरकारले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताल खारेज गर्न खोजेको आरोप सोमबार बसेका प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा लगाउँदै कांग्रेसले सदन अवरुद्ध गरेको हो ।

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुृर महराले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बोल्ने समय दिए । कांग्रेस उपसभापतिसमेत रहेका उपनेता गच्छदारले जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई सरकारमातहत ल्याउने निर्णय सरकारले नगरेसम्म सदन चल्न नदिने अडान राखेका थिए ।

‘जबसम्म सरकारले ती २ अस्पताललाई संघीय सरकारको मातहत ल्याउने गरी निर्णय गर्दैन, कांग्रेस कुनै पनि हालतमा सदन सञ्चालन गर्न दिँदैन’, उनले स्पष्ट पारे । पुस १९ गतेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य मन्त्रालयले ११ अस्पतालसम्बन्धी प्रस्ताव पेस गरेकोमा ९ अस्पताललाई सरकार मातहत राख्ने निर्णय गरेको थियो । बाँकी २ अस्पतालबारे कुनै निर्णय भएन । पूर्वपार्टी सभापतिद्वयका नाममा खोलिएका अस्पतालबारे सरकार मौन भएपछि कांग्रेस सरकारसँग आक्रोशित भएको हो ।

‘अघिल्लो बिहीबारको मन्त्रिपरिषद् बैठक बसिरहेको बेला मैले प्रधानमन्त्रीसँग भेटेर पार्टीका तर्फबाट यसबारे कुरा राखेको थिएँ’, सरकारप्रति निकै आक्रामक देखिएका गच्छदारले सदनमा भने, ‘प्रधानमन्त्रीले राजनीतिक व्यक्तिका नाममा खोलिएका अस्पतालमा पूर्वाग्रह रहँदैन भन्नुभएको थियो । तर के कारणले यी दुई अस्पतालबारे निर्णय हुन सकेन, नेपाल सरकारको ठूलो पूर्वाग्रह कांग्रेसप्रति देखिन्छ ।’

खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष हुँदा ०७० मा गिरिजाप्रसाद श्वासप्रश्वास उपचार केन्द्र बनाउने गठनादेश भएको थियो । ०७३ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशील कोइराला क्यान्सर अस्पतालबारे निर्णय गरेको थियो । ‘अघिल्लो प्रधानमन्त्रीले गरेको निर्णय वर्तमान सरकारले कसरी हटाउन सक्छ ? ’, उनले भने, ‘आँट छ भने वीपी राजमार्गको नाम परिवर्तन गरेर केपी ओली राजमार्ग बनाउनुस् हामी पनि हेरौंला । त्यस्तो गर्न पाइन्छ ? घोर अराजनीतिक काम गर्न पाइन्छ ? ’

संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने गिरिजाप्रसाद र संविधान जारी गरेर त्यसलाई संस्थागत गर्ने सुशील कोइरालाको नामका अस्पताल खारेज गरेर सरकारले दुवैका योगदानको अवमूल्यन गर्न खोजेको उनको आरोप थियो । ‘आज त्यही व्यवस्थामा टेकेर ओली प्रधानमन्त्री बन्नुभएको छ, जुन व्यवस्थाअनुसार सार्वभौम संसद् बनेको छ, यो उहाँहरूप्रतिको मात्र अपमान होइन, यो संसद्कै अपमान हो’, उनले थपे, ‘कांग्रेसको इतिहास मेटाउन कसैले खोज्छ भने त्यो असमर्थ छ, यो धर्ती रहन्जुलेसम्म ।’ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा दुई देशका प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिमा ती दुई अस्पताल सञ्चालनमा भारतले सघाउने समझदारी भएको सुनाउँदै उनले भने, ‘सरकारको निर्णयमा कांग्रेस चुप लागेर बस्ने ? कांग्रेस हात बाँधेर बस्ने ? ’ समाचार अन्नपूर्ण पोष्टमा छ ।