११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

सन्तोषजनक छैन सञ्चारमा महिला सहभागिता

सन्तोषजनक छैन सञ्चारमा महिला सहभागिता
अ अ+ अ-

रुपन्देही । विसं २००८ मा प्रकाशित ‘महिला’ मासिक पत्रिकाको सम्पादन महिलाबाट भयो र नेपालको पत्रकारितामा महिला सहभागिता पनि यहीँबाट शुरु भयो । सहाना प्रधान र कामाक्षा देवी मासिक पत्रिकाको सम्पादक हुनुहुन्थ्यो । नेपालको सञ्चार क्षेत्रमा महिला सहभागिताको इतिहास त्यति लामो छैन । विसं २०७५ सम्म आइपुग्दा पत्रकारितामा महिला सहभागिता बढ्दै गए पनि त्यो सन्तोषजनक भने छैन ।

नेपाल पत्रकार महासङ्घको तथ्याङ्क अनुसार देशभर कार्यरत १३ हजार ५० जना पत्रकारमध्ये दुई हजार ३५४ जना मात्रै महिला छन् । सञ्चार संस्थाको नेतृत्व तहमा महिलाको सहभागिता अत्यन्तै न्यून छ । सञ्चारसँग सम्बन्धित सङ्घसंस्थामा समेत महिलाको सहभागिता कम छ । महिलालाई दिने जिम्मेवारी, कार्यस्थलको वातावरण, शारीरिक र पेशागत सुरक्षाका कारणले पनि पत्रकारितामा महिला सहभागितालाई प्रभाव पारेको वरिष्ठ पत्रकारहरु बताउँछन् ।

“नेतृत्व भन्ने एकैपटक जन्मिने कुरा होइन,” वरिष्ठ पत्रकार बबिता बस्नेतले भन्नुभयो – “पत्रकारितामा महिला नेतृत्वको कुरा गर्दा आर्थिक र दोहोरो कामको बोझ नै प्रमुख चुनौतीका रुपमा देखापर्छ ।”

पत्रकारिता क्षेत्रमा आर्थिक पक्ष सबल छैन । सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन जसका कारण सञ्चार क्षेत्रमा स्थापित महिलाहरुसमेत यस पेशाबाट पलायन भइरहेका छन् ।

सञ्चारिका समूहको अध्ययनले नेपालका सञ्चारमाध्यममा २५ प्रतिशत महिला सहभागिता देखाउँछ । तथ्याङ्क केलाउँदा सञ्चार संस्थाको निर्णायक पदमा महिलाको सङ्ख्या निकै निराशाजनक देखिएको बताउनुहुन्छ सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित । “समाजले महिलालाई सञ्चार संस्थाको सम्पादक तहमा देख्न चाहेको छ तर, त्यो हुन सकेको छैन,” पण्डितले भन्नुभयो – “यसका लागि आमसञ्चार नीति कार्यान्वयन हुन जरुरी छ ।” अधिकाँश सञ्चार गृहमा लैङ्गिक नीति नभएका कारण सञ्चारमा महिलालाई टिक्न गार्हो भएको उहाँको बुझाइ छ ।

नेपाल पत्रकार महासङ्घको तथ्याङ्क अनुसार प्रदेश १ मा २८७ जना पत्रकार महिला छन् । त्यस्तै, प्रदेश २ मा १११, प्रदेश ३ मा २८०, प्रदेश ४ मा १८६ सदस्य छन् । यसैगरी, प्रदेश ५ मा ३३०, प्रदेश ६ मा ११३ जना र प्रदेश ७ मा १२० जना पत्रकार महिला छन् ।

नेपालको संविधानले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । यही प्रावधान मुताबिक सरकारी कामकाजमा लोकसेवा आयोगले आरक्षण कोटाबाट भए पनि महिलाको सङ्ख्या पूर्ति गरिरहेको छ । तर, समान सहभागिता र समावेशिताको वकालत गर्ने सञ्चारमाध्यमले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न कुनै बहस गरेको पाइँदैन ।

नेपालमा व्यावसायिक पत्रकारिता फस्टाउन नसक्दा महिलाको सङ्ख्या कम भएको वरिष्ठ पत्रकार निर्मला शर्मा बताउनुहुन्छ । शर्मा भन्नुहुन्छ – “पितृसतात्मक सोचका कारण महिलालाई नेतृत्व तहमा पुग्न पनि दिइँदैन । यसका लागि सोंच मै परिवर्तन जरुरी छ ।” सञ्चारमा महिला सहभागिता बढाउन पारिश्रमिक ऐन परिवर्तन गर्नुपर्ने उहाँको सुझाब छ ।

समानुपातिक समावेशी सिद्धान्तका आधारमा सञ्चारमा महिला सहभागिता हुनु आवश्यक छ । यसका लागि राज्यले बलियो नीति बनाएर कार्यान्वयनमा लानुपर्ने क्रियाशील महिला पत्रकार समूहका अध्यक्ष अम्बिका राजथलाको धारणा छ ।

पत्रकारिता क्षेत्र महिलाका लागि चुनौती र अवसर दुबै हो । चुनौती पार गर्दै यो क्षेत्रमा निरन्तर खटेर काम गर्नेहरु सफल भएका छन् । पत्रकार संगीता खड्का भन्नुहुन्छ – “चुनौतीपूर्ण पेशा भए पनि पत्रकारितामा महिलाको आकर्षण बढेको छ । यसले समाज रुपान्तरणमा मद्दत पुगेको छ ।”

सञ्चारमा सहभागिता बढाउन पत्रकार महिलाहरुको भौतिक र पेशागत सुरक्षा जरुरी हुन्छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव लक्ष्मी पुन भन्नुहुन्छ – “पत्रकारहरुको सुरक्षाको दायित्व राज्यको हो । त्यसका लागि विशेष नीति निर्माण गर्न आवश्यक छ । सञ्चारसम्बन्धी हरेक नीति निर्माण तहमै महिलाको प्रतिनिधित्व हुनुपर्छ ।”

सञ्चारिका समूहले नेपालभरिका ९०७ सञ्चार गृहमा गरेको अध्ययनअनुसार राजधानीका विभिन्न सञ्चारमाध्यममा २१ प्रतिशत पत्रकार महिला कार्यरत छन् । मोफसलमा २६ प्रतिशत महिला पत्रकार छन् । महिला पत्रकार र सञ्चारकर्मीमध्ये धेरैजसो रेडियोमा कार्यरत रहेको अध्ययनले देखाएको छ । तथ्याङ्कलाई केलाउँदा निर्णायक तहमा पुग्ने महिलाको सङ्ख्या निकै निराशाजनक देखापर्छ । मुलुकभरिको अवस्था हेर्दा ४१ प्रधान सम्पादकमध्ये २.४ प्रतिशत मात्रै महिला रहेको भेटिन्छ । यस्तै, ४७ जना कार्यकारी सम्पादकमध्ये ४.३ प्रतिशत महिला छन् भने ७७७ सम्पादकमध्ये ११.१ प्रतिशत महिला छन् । अधिकाँश सञ्चार गृहसँग स्पष्ट लैङ्गिक नीति नभएको सञ्चारिका समूहको अध्ययनले देखाएको छ ।

नेपाली सञ्चारमाध्यममा स्वामित्व, विषयवस्तु र भौतिक उपस्थितिको दृष्टिकोणले महिलाको बाक्लो उपस्थिति हुन सकेको छैन । लैङ्गिक असमानता र पत्रकार महिलाप्रतिको दृष्टिकोणका कारण समस्या छ भन्नुहुन्छ नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य । सञ्चारमा महिला सहभागिता बढाउन र नेतृत्व तहमा समेत महिलालाई पु¥याउन महासङ्घले पहल गरेको अध्यक्ष आचार्यको भनाइ छ ।

“सञ्चारमा महिलाको गुणात्मक वृद्धि हुनुपर्छ भनेर महासङ्घले बहस थालेको छ जसअनुरुप चितवनमा पत्रकार महिलाहरुको राष्ट्रिय सम्मेलन सम्पन्न गर्यौं,” उहाँले भन्नुुभयो ।

सञ्चारमाध्यममा काम गर्न महिला–मैत्री वातावरण नभएको अधिकाँश महिला पत्रकारको गुनासो छ । “सञ्चार संस्था महिला–मैत्री नहुँदा विवाहित महिला पेशाबाटै पलायन हुनुपर्छ,,” नेपाल पत्रकार महासङ्घ प्रदेश ५ का उपाध्यक्ष दीपा घर्तिले भन्नुभयो – “सञ्चारमा महिलाको सम्मानजनक सहभागिताका लागि समान व्यवहार, उचित पारिश्रमिक र महिला–मैत्री वातावरण चाहिन्छ ।”

भूगोलका हिसाबले दुर्गम क्षेत्र मानिएका जिल्लामा पत्रकारिता गर्ने महिलाको पीडा अन्य क्षेत्रको तुलनामा बढी छ । दुर्गम क्षेत्रमा समाचार सङ्कलनका लागि जानु पर्दा पैदल हिँडेर जानुपर्ने बाध्यता छ । दुई/तीन दिन बास बस्नुपर्दा महिलाले सुरक्षा चुनौतीको सामना गर्नुपर्छ भन्नुहुन्छ नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका उपाध्यक्ष डम्बर आचार्य ।

अन्य क्षेत्रमा जस्तै सञ्चार क्षेत्रको नेतृत्व तहमा महिला भएनन् भनेर महिलाहरुले मात्रै आवाज उठाएर परिवर्तन सम्भव छैन । यो सवालमा सञ्चार क्षेत्रका अगुवाहरु सबैले आवाज उठाउने मात्र हैन सोही अनुरुप व्यवहारमै लागू हुने गरी काम गर्न पनि आवश्यक रहेको पत्रकार महिलाहरु औँल्याउँछन् ।