११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

जग्गा प्लटिङमा सक्रिय नेपाली सेना

जग्गा प्लटिङमा सक्रिय नेपाली सेना
अ अ+ अ-

काठमाठौं । सैनिक कल्याणकारी कोषको साढे पाँच अर्ब परिचालन गरेर नेपाली सेनाले विभिन्न नाफामूलक व्यवसाय बढाएको छ ।

पार्टी प्यालेस, पेट्रोलपम्प, सडक निर्माणदेखि सपिङ कम्प्लेक्स र जग्गा प्लटिङ गरेर बेच्ने कारोबारमा समेत सेना सक्रिय छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको तथ्यांकअनुसार गत मंसिर मसान्तसम्म सेनाले कल्याणकारी कोषमार्फत पाँच अर्ब ५७ करोड २४ लाख ३० हजार रुपैयाँ विभिन्न परियोजनामा लगानी गरेको छ ।

यतिखेर सेनाले इचंगुनारायणमा ४२ करोडको जग्गा खरिद गरी धमाधम प्लटिङ गरेर बिक्री–वितरणको अन्तिम तयारी गरिरहेको छ । उसले भक्तपुरको दुवाकोटमा एक सय २२ रोपनी र काठमाडौंको कीर्तिपुरमा दुई सय २६ रोपनी जग्गा खरिद गरी प्लटिङ गरेको छ । त्यस्तै, प्लटिङ गरेर सुनसरीको इटहरीमा ११ सय ८, पोखराको फूलबारीमा ७२, पोखराकै राधाकृष्ण टोलमा एक सय ५१ र चितवनको पिठुवामा दुई सय ८९ घडेरी सेनाले बिक्री गरिसकेको छ ।

प्लटिङ गरेर तयार पारिएका घडेरी बहालवाला, अवकाशप्राप्त तथा लडाइँमा मृत्यु भएका सैनिक परिवारलाई एकमुष्ठ भुक्तानी वा किस्ताबन्दीमा सेनाले बेच्दै आएको छ । किनबेचबाट हुने मुनाफा कोषमा स्वतः जम्मा हुने सेनाको दाबी छ । तर, सेनाले यसरी व्यवसायमा हात फैलाउँदै गएकोमा सेनाकै पूर्वअधिकारीहरूले समेत आश्चर्य व्यक्त गरेका छन् ।

पूर्वरथी शिवराम प्रधान भन्छन्, ‘यो राम्रो देखिएन । सेना यस्ता काम र आर्थिक विवादबाट टाढै बस्नुपर्छ ।’ त्यस्तै, पूर्वउपरथी बिनोज बस्न्यात भन्छन्, ‘मेडिकल कलेज स्थापनादेखि नै नेपाली सेना व्यापारउन्मुख देखिन्छ । संसारमा यस्तो बिरलै हुन्छ ।’

पार्टी प्यालेस, पेट्रोलपम्प, सडक ठेक्का र जग्गा प्लटिङमा अनुभवी सेना अब सपिङ कम्प्लेक्स बनाएर भाडामा दिने तयारीमा

संविधानको धारा २६७ को उपधारा १ मा उल्लेख छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि यस संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेनाको एक संगठन रहनेछ ।’ राष्ट्रिय सुरक्षा प्राथमिक दायित्व भएको सेना एकपछि अर्को नाफामूलक व्यवसायमा सक्रिय भएकाले विवादमा परेको छ ।

सेनाले पाँच अर्बभन्दा बढी लगानी गरेको त्रिचन्द्र मिलिटरी अस्पतालको साततले ‘हेरिटेज बिल्डिङ’ भाडामा लगाउने प्रयोजनका निम्ति प्रक्रिया अगाडि बढाइसकेको छ । त्यस्तै, बुटवलमा रहेको ऐतिहासिक महत्वको टक्सार भत्काएर भाडामा लगाउने प्रयोजनकै लागि व्यापारिक भवन निर्माण गरेको छ । भवनमा साढे ७ करोडभन्दा बढी रुपैयाँ लगानी भइसकेको सैनिक कल्याणकारी कोषको प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौंको भद्रकाली र ललितपुरको लगनखेलमा यसअघि नै सेनाका दुई पेट्रोलपम्प सञ्चालनमा छन् । सेनाले थप दुई पेट्रोलपम्प सञ्चालनका लागि तनहुँको खैरेनीटारमा २ करोड र बुटवलको रामनगरमा साढे २ करोड लगानी गरिसकेको छ ।

पछिल्लो समय पानी व्यवसायमा समेत सेनाले हात हालेको छ । अहिलेसम्म सेनाले सुन्दरीजलमा सञ्चालनको तयारीमा रहेको पानी उद्योगमा करिब ९ करोड लगानी गरिसकेको छ । सेनाले लामो समयदेखि सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिने सैनिक मुख्यालय परिसरमै सशुल्क ‘पार्टी प्यालेस’ चलाइरहेको थियो । २४ भदौदेखि सो स्थानलाई निजी भोजलाई अनुमति दिन छाडिएको छ ।

आफ्नै बैंक स्थापना गर्ने धोको पूरा नभएपछि सेनाले निजी क्षेत्रको बैंकसँगको सहकार्यमा कोषको पैसा ब्याजमा समेत लगाउन थालेको छ । ‘नेपाल इन्भेस्टमेन्ट बैकसँगको सहकार्यमा रोजगारीमूलक व्यवसाय सञ्चालन गरी आय आर्जन अभिवृद्धि गराउने उद्देश्यले सहुलियतपूर्ण ब्याजदरमा सञ्चालन गरिएको लघुवित्त कर्जा तथा विनाशकारी भूकम्पबाट पीडितका लागि सञ्चालन गरिएको सुलभ घर कर्जा कार्यक्रमबाट ०७५ असार मसान्तसम्म ३ अर्ब ७६ करोड ७८ लाख ७७ हजार कर्जा प्रवाह गरिएको छ,’ कोषको प्रतिवेदनमा छ ।

यसबाहेक सेनाले बहालवाला ६ हजार ३ सय ५५ सैनिकलाई ०७४र७५ मा मात्रै ५ प्रतिशत ब्याजदरमा १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै साढे ५ प्रतिशत ब्याजदरमा सवारीसाधन कर्जा पनि उपलब्ध गराउँदै आएको छ ।

यी सबै गरेर सेनाले करिब ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ । ०७५ भदौ २४ मा पदभार सम्हालेसँगै प्रधानसेनापति पूर्णचन्द्र थापाले जारी गरेको ‘प्रधानसेनापति कमान्ड मार्ग निर्देशन, २०७५’ को लक्ष्य नम्बर ७ अनुसार सेनाले निकट भविष्यमै सैनिक सन्ततिलाई चिकित्सा, इन्जिनियरिङ, कृषि तथा वनविज्ञानजस्ता प्राविधिक विषयमा अध्ययन गर्न वाणिज्य बैंकहरूसँग सम्झौता गरी सहुलियत ब्याजमा शैक्षिक कर्जा उपलब्ध गराउने प्रक्रियासमेत सेनाले अघि बढाएको छ ।

मेडिकल कलेज सञ्चालन गरिरहेको सेनाले सरकारी–सैनिक कोटाअन्तर्गत शिक्षा मन्त्रालयका लागि १० र बहालवाला तथा अवकाशप्राप्त सैनिक परिवारका लागि १५ प्रतिशत कोटा छुट्याएको छ । बाँकी ७५ प्रतिशत सशुल्क छ । सशुल्क कोटालाई शतप्रतिशत मानेर ४५–४५ प्रतिशत सैनिक परिवार र सर्वसाधारणलाई छुट्याइएको छ भने १० प्रतिशत विदेशीका लागि व्यवस्था गरिएको छ ।

कोषको प्रतिवेदनअनुसार हाल सेनाको मेडिकल कलेजमा ७ सय ३ जनाले एमबिबिएस अध्ययन गरिरहेका छन् । त्यसैगरी सेनाले नै सञ्चालन गरेको नर्सिङ महाविद्यालयमा ३ सय ४६, कलेज अफ मेडिकल पोलिटेक्निकमा १ सय ४६ जना अध्ययनरत छन् । कोषबाट ०७४र७५ मा मात्रै यी शिक्षण संस्थाहरूमा १ अर्ब १० करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । आम्दानीको हिसाब भने कोषको प्रतिवेदनमा छैन ।

महालेखाको २०७२ को प्रतिवेदनले चिकित्सा शिक्षा र औषधि खरिदमा सेनाले अनियमितता गरेको औँल्याएबाट पनि सेनाले सेवाको आडमा व्यापार गरेको देखिन्छ । ‘नेपाल मेडिकल काउन्सिलले निर्धारण गरेको मापदण्डअनुसार एकजना एमबिबिएस विद्यार्थीका लागि अस्पतालमा ६ बिरामी शय्या हुनुपर्दछ । मापदण्डअनुसार अस्पतालमा रहेको ४९१ शय्याका आधारमा ८२ मात्र विद्यार्थी भर्ना गर्नुपर्नेमा १३० विद्यार्थी भर्ना गरेको देखियो,’ प्रतिवेदनमा छ, ‘सैनिक स्वास्थ्य महानिर्देशनालयले २२ करोड ५१ लाखको औषधि खरिद सम्झौता गर्दा आइटमगत लागत अनुमानभन्दा सम्झौताको रकम १ करोड ५६ लाख बढी देखिएकाले औषधि खरिद कार्य मितव्ययी देखिएन ।’

सैनिक कोषको पैसाले मुलुकका विभिन्न भागमा ८ वटा सैनिक महाविद्यालय सञ्चालनमा छन् । यी महाविद्यालयमा सैनिकतर्फ ५ हजार ४ सय ५१ र गैरसैनिकतर्फ २ हजार ८ सय ८७ जना विद्यार्थी अध्ययनरत छन् । सेनाले यस आर्थिक वर्षमा प्रदेश २ र ५ मा सैनिक आवासीय विद्यालय सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

यतिखेर सेनाले तराई–मधेस द्रुतमार्ग सडक आयोजनासहित ५ वटा सडक परियोजना निर्माण गरिरहेको छ । उद्योगमन्त्री मातृका यादवको पहलमा सेनालाई हेटौँडा कपडा उद्योग चलाउन जिम्मा दिने तयारी भइरहेको छ । सुरुमा सैनिक पोसाकलगायतका लत्ता, कपडा उत्पादन गर्ने गरी उद्योग सञ्चालन गर्न दिने भनिए पनि यसबारे स्पष्ट खाका भने बनिसकेको छैन । आफ्नै बैंक स्थापना गर्ने, विभिन्न जलविद्युत् परियोजनामा लगानी र निर्माणमा सेनाले चासो र सक्रियता बढाइरहेको छ । झन्डै साढे ४३ अर्बको सैनिक कल्याणकारी कोषमार्फत पनि सेनाले लगानीका क्षेत्र विस्तार गर्दै लगिरहेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।