• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने ★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता

विकास र समृद्धिको अभियानमा एक भई अगाडि बढौँ : प्रचण्ड



भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताउनुभएको छ ।

आज भक्तपुरमा आयोजित हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता वाकाथुन तथा राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सफाइ अभियानले नयाँ सभ्यताको विकास गरेको बताउनुभयो ।

विकास र समृद्धिको अभियानमा सबै राजनीतिक दल, वर्ग, धर्म, लिङ्ग र समुदाय एकजुट भएको सन्देश हनुमन्ते सफाइ अभियानले दिएको बताउँदै उहाँले नयाँ नेपाल, समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमार्फत नयाँ सभ्यताको इतिहास रच्ने सुनौलो अवसर प्राप्त भएको छ भन्नुभयो । देश बनाउने जिम्मेवारी सबै नागरिकको भएकाले यसमा विभाजित हुन नहुने उहाँको जोड थियो ।

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नदीको सफाइ अभियानले नागरिकलाई स्वच्छ र सुरक्षित जीवनयापन गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले वातावरणमा आएको ह्रास न्यूनीकरण गर्न सरसफाइ अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपाका नेता महेश बस्नेतले सरकारले लिएको विकास र समृद्धिको लक्ष्यलाई भक्तपुरका जनताले अभियानका रुपमा सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । उहाँले ‘सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर’ बनाउने उद्देश्यले आयोजना गरिएको हनुमन्ते सफाइ अभियान अहिले देशकै नमूना अभियानका रुपमा अगाडि बढेको बताउनुभयो ।

हनुमन्ते सफाइ अभियान १०० हप्तासम्म लैजाने बताउँदै नेता बस्नेतले अहिले हनुमन्ते करिडोर निर्माण तीव्र गतिमा भएको बताउँदै दुई वर्षभित्र हनुमन्तेलाई ढलमुक्त र सफा बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले अरनिको राजमार्ग सफाइ अभियानदेखि सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँ टोल सफाइ अभियानसमेत सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाको उपप्रमुख एवं अभियानका उपसंयोजक अञ्जनादेवी मधिकर्मी, अभियन्ता रुद्र पौडेलले अभियानले ल्याएको परिवर्तनबारेमा चर्चा गर्नुभयो ।

आज बिहान राष्ट्रिय धावक बैकुष्ठ मानन्धरको नेतृत्वमा मध्यपुर थिमिदेखि शुरु भएको वाकाथुन सल्लाघारी पुगेर समापन भएसँगै नेकपाका अध्यक्ष दाहाल र काङ्ग्रेसका नेता सिंहले सल्लाघारीमा गाडिएको नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो । समारोहमा राष्ट्रिय धावक मानन्धरलाई सम्मान गरिएको थियो ।