१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–चीन व्यापार वार्ताः दोस्रो वार्ता यही साता वासिङ्टनमा बस्ने सहमति



अ+ अ-

बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनका अधिकारीहरुबीच दोस्रो वार्ता यही साता वासिङ्टनमा बस्ने सहमति भएको छ । वार्तामा अझै पनि केही बुँदामाथि विस्तृत छलफल गर्न बाँकी रहेको कारण पहिलो वार्ता सकेकोकेहि दिनमै पुनः दोस्रो वार्ता बस्न लागिएको हो ।

विश्वकै दुई ठूला अर्थतन्त्र रहेका अमेरिका र चीनले एकअर्का विरुद्ध ३६० अर्ब अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । ‘व्यापार युद्ध’ नाम दिइएको दुई मुलुकबीचको तनाबले विश्वको वित्तीय बजारलाई हल्लाइदिएको छ भने उत्पादन क्षेत्रमा मन्दी आएको छ ।

दुबै मुलुकबीचको व्यापार वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको भन्दै राष्ट्रपति ट्रम्पले मार्च १ तारिखको अन्तिम समयसीमालाई बढाउने सङ्केत गरेका छन् । यसअघि डिसेम्बर १ तारिखदेखि फेब्रुअरी अन्तिमसम्मका तीन महिनाभित्र वार्ता गरी आपसी असमझदारी हटाउने दुबै देशबीच सहमति भएको थियो ।

राष्ट्रपति ट्रम्पले मार्च १ तारिखभित्रै नयाँ व्यापार सम्झौता नभए २०० अर्ब मूल्य बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गर्ने यसअघि घोषणा गरेका थिए । उक्त समयसीमा आइपुग्न करिब दुई साता मात्र बाँकी छ ।

अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्तिको चोरी तथा जबर्जस्ती प्रविधि हस्तान्तरण गरेको आरोप लगाउँदै आएको छ । साथै, चीनको औद्योगिक नीति संरक्षणमुखी रहेको र विदेशी कम्पनीलाई चीनभित्र प्रतिस्पर्धा गर्न तथा बजार विस्तार गर्न कठिन रहेको एवं व्यापार घाटा बढेको अमेरिकी आरोप छ ।