२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज



अ+ अ-

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएर उपचारका लागि काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका ४८ मध्ये ३३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएकामध्ये उद्धार गरी ४८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म ३३ जनालाई डिस्चार्ज गरिएको हो ।

राष्ट्रिय ट्रमा सेन्टरमा अहिले १५ जना घाइतेको उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य छ । भोटेकोशी बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन सम्पर्कविहीनका परिवारका सदस्य आइरहनुभएको उहाँले बताउनुभयो । अस्पताल पुगेका आफन्तले आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्था तथा उपचारबारे जानकारी लिइरहेका छन् । भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका घाइतेको उपचारसँगै पीडित तथा सम्पर्कविहीन व्यक्तिका आफन्तसँग समन्वय र आवश्यक सहयोगका लागि सम्बन्धित निकायले पहल गरिरहेको प्रहरीले जनाएको छ । बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ भने सम्पर्कविहीन व्यक्तिको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ ।